समाचार
धनकुटा ।
धनकुटाको पाख्रिबासमा शनिबार तीन जिल्लाका कवि सहभागी बृहत साहित्यिक भेला सम्पन्न भएको छ । पाख्रिबास साहित्य कला समाजको आयोजनामा भएको बृहत् साहित्यिक भेलामा धनकुटा, भोजपुर र तेह्रथुमका ३८ कविले कविता वाचन गरेका हुन् ।
‘राम्चेमा कविता वाचन’ नाम दिइएको उक्त भेलामा सहभागी कविहरूले समय सान्दर्भिक राजनीतिक घटनाक्रमदेखि सामाजिक, सांस्कृतिक, प्रेम, वियोग तथा जीवन दर्शनका भावमा रचिएका कविता वाचन गरेका थिए ।उक्त अवसरमा धनकुटा, तेह्रथुम र भोजपुरका कवि सहभागी रहेको आयोजक पाख्रिबास साहित्य कला समाजका सचिव ध्रुव एलेक्सले जानकारी दिए ।
धनकुटाका रोशन परियार, उत्तम तुम्सा लिम्बू, केजी सुब्बा, आरसी अधिकारी, अनन्त अनुराग, भीम राई, ओमप्रकाश निरौलाले रचना वाचन गरे । यस्तै, सञ्जय सयल, सन्तोष सुवेदी, गोपाल बराइली, ध्रुव एलेक्स, द्वारिका रिजाल, डीआर फुयल, रेखा क्षेत्री, इन्दु केसी, चकेन्द्र राई, प्रज्ज्वल पुरकार तथा तारा काफ्ले लगायतले पनि सिर्जना वाचन गरेका थिए । उक्त अवसरमा तेह्रथुमका दिनेश थापा, रोशन यात्री तथा भोजपुरका मणि राई लगायतले सिर्जना प्रस्तुत गरेका थिए ।
गत चैत ७ गते आयोजना गरिने भनिएको कार्यक्रम उक्त समयमा वर्षा र हावाहुरीका कारण स्थगित गरिएको थियो । जिल्लामा हरेक शुक्रवार ‘चियासँग कविता’ लगायतका साहित्यिक जमघट नियमित हुँदै आएको छ ।
