• २०८० असोज ९ मङ्गलबार

रात

कुश्मा भट्ट

कुश्मा भट्ट

दिउँसो भरी आदर्शको
खोक्रो खोल ओढेर बसेकाहरू
जब, सूर्यले पश्चिमतिर आफ्नो बाटो तताउँछ !
तिनीहरू विस्तारै,
त्यो खोल खोक्र्याउँदै जान्छन
रातका अध्याँरा, काला धर्काहरु संगै
आफ्नो परीचय दिन्छन्
र असली रुप धारण गर्छन् !

रातले उज्यालो पन्छाए झैँ
पन्छाऊँछन्, उनीहरूपनि खोक्रो आदर्श र ईमानदारीतालाई
बिर्सिन्छन्, आफ्नो कर्तव्य र नैतिकतालाई !

दिउँसो बोलेका र धारण गरेका
ती नक्कली र खोक्रा रुप माथी
लात मार्छन !

आफ्नो नित्य कर्मतिर लाग्छन्,
भट्टीमा जान्छन्, दुई प्याक तान्छन्
अबोध बालीका र निर्दोष स्त्रीहरूको
ईज्जत र यौवन माथी प्रहार गर्छन्,
आफ्नो प्यास मेटाउँछन् !
र अर्को बाटो मोडिन्छन्

जहाँ, पसिना र मिहेनत
सञ्चित भएको छ,
त्यहिँ आँखा गाड्छन् !
र चोर्छन् !

त्यहीँ रातमा हो, पल्लो घरे काकीको ईज्जत लुटिएको,
त्यहीँ रातमा हो, तल्लोघरे सुन्तली बलात्कृत भएकी,
त्यहीँ रातमा हो, ठुलेघरे काकाको घर लुटिएको,
यो त्यहीँ रात हो,
माथ्लो घरे भाईको हत्या भएको,
हो यो त्यही रात हो, संविधानको हत्या भएको,
सत्ता, सदनको विघटन भएको !

यि सबैकुराहरू घामको राप संगै दिउँसो
उज्यालोमा हुन्थे भने,
अवश्य कानून लाग्थ्यो होला !
तर,
रातका कालो रंग संगै
कानूनले पनि यि यथावत कुराहरू देखेन !
रातको अध्याँरो हो, वा अपराध
छुट्याउन सकेन !
यो रातको स्वतन्त्रता हो,
वा
वाध्यता चिन्न सकेन् !
साच्चै !
यो रात किन यति स्वतन्त्र ?


कुश्मा भट्ट