समाचार
काठमाडौं ।
नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले ‘योगेश्वर वाङ्मय पुरस्कार २०८२’ रुकुम पश्चिमका स्रष्टा पूर्ण ओलीलाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कार नेपाली कलासाहित्य प्रतिष्ठानका लागि योगेश्वर स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वर कार्कीद्वारा स्रष्टा एवम् समाजसेवी पिता योगेश्वर कार्कीका नाममा स्थापित पुरस्कार हो । प्रत्येक वर्ष प्रदान गरिने यस पुरस्कारकासाथ नगद राशि २५ हजार प्रदान गरिन्छ ।
प्रतिष्ठानका अध्यक्ष, कवि तथा निबन्धकार मोमिलाद्वारा जारी विज्ञप्तिअनुसार प्रतिष्ठानका उपाध्यक्ष तथा पुरस्कार संस्थापक राजेश्वर कार्कीको अध्यक्षतामा बसेको चयन समिति बैठकले साहित्यलाई आत्मसात गर्दै समाजसेवीका रूपमा समेत आफूलाई समर्पित गर्दै आएका ओलीलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । प्रतिष्ठानले अमेरिकी मानवशास्त्री तथा अध्येता स्वर्गीय प्रा.डा. ग्रेगरी जी. मस्कारिनेकको स्मृतिमा स्थापित ‘ग्रेगरी कलासंस्कृति पुरस्कार २०८२’ कला, साहित्य तथा संस्कृतिको उत्थानमा समर्पित सोलखुम्बुुका स्रष्टा मनुहाङ किराँती सोलु (युमन खालिङ)लाई प्रदान गर्ने निर्णय समेत गरेको छ । यस पुरस्कारका साथ नगद राशि २० हजार रुपैयाँ प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।
प्रतिष्ठानले दुवै पुरस्कार काठमाडौंभन्दा बाहिरका स्रष्टालाई प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ स्थापना गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त दुवै पुरस्कार प्रतिष्ठानको आयोजनामा यही चैत २८ गते सोलुखुम्बुमा आयोजन हुने विशेष सिर्जना उत्सवमा प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । यसअघि ‘योगेश्वर वाङ्मय पुरस्कार’ स्रष्टाहरू डा. कृष्णराज डी.सी., अमर गिरी, कृष्णभूषण बल, उषा शेरचन, वनमाली निराकार, मुकुन्द प्रयास, दिलिप शाह, कृष्णराज ओलिया, पद्मराज जोशी, पुरीचन्द्र देवकोटा, डा. मधुसुदन गिरी, डी.बी. टुहुरो, पुष्कर अथक रेग्मी, विमल वैद्य र अमर शाहलाई प्रदान गरिसकिएको छ ।
‘ग्रेगरी कलासंस्कृति पुरस्कार’ यसअघि शेरबहादुर अधिकारी, पूर्ण समीर महतारा, खडानन्द चौलागाईं, मनोहर लामिछाने, नवीन विभास, राजेन्द्रगोपाल सिंह, भरत गुरुङ र मनलाल ओलीलाई प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ ।
