• २०८१ पौष २९ सोमबार

धार

पवित्रा अधिकारी

पवित्रा अधिकारी

सानो त्यो जीर्णघर गृहस्थीको टेको लगाएर धर्तीमा उभिएको पनि वर्षौं बितिसकेको थियो । हुन त त्यो घरले भारी नै के पो बोक्नुपरेको थियो र ?जिउने टाकनटुकनका न्यून सामग्रीहरू अलिकति पुराना भाँडाकुँडा, थोत्रा लुगाफाटा, लम्पटो अनि मरन्च्याँसे तीन ज्यानहरू ।
त्यस घरको बारेमा भन्नुपर्दा उसको बाबुको नाम पाती र आमाको नाम फूल थियो । ती दुईको मिलनबाट नै ऊ बन्यो । उसको नाम बाबुआमाले राखिदिनु नै परेन । छिमेकीहरूको ख्यालठट्टाको शब्दावलीबाट नै नाम जन्मियो- ‘फूलपाती’ ।
आमा फूललाई लाटी भनुँ भने बोल्न सक्थी तर उसको चेतनाको धार भुत्ते थियो । बाउ ज्यादै सोझो भए त्यस्तो कलात्मक हतियार सजिलै कसरी बनाउँदो होला र ? तर बाठो भन्न त पटक्कै सुहाउँदैन थियो । आफ्नो हकको ज्यालासमेत उठाउन हुत्ती नपलाएको त्यो निमुखा प्राणी ठालु समाजको तीव्र धारमा बोधो बन्दै गइरहेको थियो ।
पाती सबैलाई ठालु भन्थ्यो । आफ्नो दैलो नजिकैको मूलबाटोबाट हिँड्ने जोकोहीलाई पनि जदौ, जदौको रट लगाइरहन्थ्यो । आकाशको घामभन्दा आरनको तातोसित बढी परिचित थियो ऊ । दैलोछेउको आरनको आगोले धूवाँ ओकल्थ्यो उसको शरीरले पसिना । पसिना शरीरमा चलमलाउँदै गर्दा धूवाँ भने स्वतन्त्र हुँदै हावासित खेल्न जान्थ्यो तर पिँढीको त्यही एक कुनेटो उसको जीवनको सर्वस्व थियो । त्यो घरको दलानभरि थुप्रिएको ध्वाँसे कालो उसको जीबाको पालादेखि नै हो । पैतृक सम्पत्ति ।
धर्तीमा कति घर बने, कति भत्किए, कतिका छाना फेरियो, कतिका भित्ताका प्वालहरू टालिए । त्यो कुनै कुराको लेखाजोखा थिएन पातीलाई तर वर्षौंअघि उसको घरको छाना फेरिएको त्यो दिन भने कहिल्यै बिर्सिएन उसले । ऊ सानै छँदा उसको बाले त्यो घरको थोत्रो छाना फेरे ।
छाना फेरिएको होइन धर्तीमाथिको आकाश नै फेरिएको थियो त्यो दिन उसका लागि । फेरिएको नयाँ छानामुनि खुसीले त्यो रात निदाउन सकेन ऊ । उसले आफ्नी आमालाई तखातामा बलिरहेको टुकी बत्तीसमेत निभाउन दिएन । उसलाई लाग्यो त्यो बलिरहेको बत्ती पनि ऊ जत्तिकै खुसी छ आज । हावाले हल्लिएको निहुँ पारेर ऊ पनि तखाताबाट ढल्की-ढल्की नयाँ छानोलाई हेरिरहेको छ । ऊसँगै ।
त्यो बाल अनुभूति, त्यो अपूर्वको खुसी उसको छातीमा भरिएको पिरो धूवाँभन्दा पनि कता हो कता भित्र सुन्दर स्थानमा बसेर अझै पनि मुस्कुराइरहेको छ भन्ने भावलाई कहिले पनि उसले बिर्सन सकेको छैन । पातीको जीवनमा त्यस्तो रमाइलो दिन सायदै आएन ।
अरूको फूलपाती उनीहरूको भुन्टे आएको दिन त्यही छानै उचाल्लाझैँ गरेर च्याँ, च्याँ गरेको त्यो दिन भने उसको जीवनमा खुसी थपिएको थियो । पातीले आफ्नो छोरालाई छानो फेरेको र ऊ जन्मेको दिनको रमाइलो कथा भने कहिल्यै भन्न बिर्सिएन ।
पातीको घरमा दुईवटा सुँगुरको पाठो पालिएको थियो । ती सुँगुरका पाठाहरू हिलोमा थुतुनो गाडेर चरिरहेका हुन्थे । हुर्कँदै गरेको भुन्टे ती सुँगुरमाथि पालैसित बस्थ्यो । पुच्छर चलाउँथ्यो । तिनका कान निमठ्थ्यो । त्यो फोहोरी केटोलाई बेश्रद्धाले हेर्दै, सुँगुरलाई जस्तै छोइएला भनेर तर्कि तर्की हिँड्थे समाजका ठालुहरू । त्यो बालकलाई भने त्यसमा नै स्वर्गीय आनन्द आइरहेको हुन्थ्यो ।
धेरै समय आरनमा बसिरहने पातीले आफूले तयार गरेको हँसिया, खुर्पेटो, बन्चरो, कोदालोजस्ता घरेलु हतियार एक- एक गरेर देखाउँदै स्वास्नीलाई अथ्र्याउँथ्यो यो फलानो ठालुकोमा लैजा, त्यो फलानो ठालुकोमा…।
फूल ती हतियारहरूलाई पोको पार्थी र बोक्थी । आफ्नी आमाको पछाडि सहस्र सुखसयल छन् भनेझैँ गरी उनीहरूको प्रिय भुन्टे आमाको पछि लाग्थ्यो ।
ठालुका घरहरूमा पुगेकी फूल कतै पर्खालको आड लिएर त कतै तगारो नजिकै बसेर दबिएको स्वरले लेग्रो तानेर बोल्थी- ‘बज्यै, ए बाज्यै…!’ लाग्थ्यो त्यो करुण ध्वनि  रूझेको भोको बिरालोको गतिहीन म्याउँ थियो ।
भुन्टे आमाको छायाँजत्तिकै भएर नजिक उभिन्थ्यो । आमा आफ्नो अधिकारको ज्यालालाई पनि ठालुको दया मानेर पोल्टो थाप्थी । दैलोभन्दा पर आागनको किनारामा बसेर । आफ्नो भागको ज्याला, पसिनाको अधिकार माग्न पनि हुत्ती नपलाएकी आफ्नी जननीलाई भुन्टे आफ्नै पाराले हेथ्र्यो ।
उनीहरूको ज्याला सजिलै बढ्दैन थियो । तर महङ्गी भने बढिरहेको थियो । ठालुहरूबाट पाएको ज्याला र अन्नपातले छाक टार्न मुस्किल थियो । ठालुका स्वास्नीहरू आफ्नो हतियार लिएपछि अलिकति अन्न उसको पोल्टामा हालिदिन्थे । कतिले ‘ज्याला लिन भोलिपर्सि आइज्’ भनेर रूखो वचनले फर्र्काइदिन्थे । निमुखापनले लादिएकी त्यस आइमाईमा प्रतिवाद गर्ने आँट कहाँ ?
फूल ओइलाएको अनुहार लगाउँथी र पोको बोकेर अर्को ठालुका घरतिर लुरूलुरू हिँड्थी । भुन्टे उसैगरी आफ्नो सर्वस्व ठानेकी आमाको पछि लाग्थ्यो । जसरी सधैँ लाग्दै आएको थियो ।
अहिले उनीहरू गाउँको सिरान घरमा पुगेका थिए । पिँढीमा बसेर खाइरहेका केटाकेटीहरूलाई भुन्टेले देख्यो । भोकाएको भुन्टे उनीहरूको नजिकै गएर उभियो । अझै उभिएन मात्रै झन्डै टाँसिन पुग्यो । उसको भोको आँखा त्यो खानेकुरामा एकतमास गडिरहेको थियो । घरभित्रबाट निक्लँदै ठालुकी स्वास्नीले आफ्ना खाइरहेका बच्चाहरूको हातबाट एक्कासि रोटी खोसेर आँगनमा मिल्काइदिई । ती रोटी आँगनमा उम्रिएका मसिना घाँसको मुन्टोलाई लतार्दै फ्यात्तफ्यात्त गरेर छरिए । भुतभुताउँदै गरेकी ठालुकी स्वास्नीले बच्चाहरूलाई घिच्याउँदै धारोमा लगेर चुठाई । पलभर भुन्टे जिल्ल परेर टोलायो । त्यसपछि ऊ टोलाएन मात्रै कुदेर गएर त्यो रोटी टिप्यो र कपाकप खान थाल्यो । क्षणभर मात्र ढिला गरेको भए तगारोबाट भित्र छिर्दै गरेको लुत्ते कुकुरले त्यो खाइदिने थियो ।
ठालुका स्वास्नीहरू भन्नेगर्थे- फूलपाती बज्या सारै ज्याद्रो छ । ढेसिँदै आउँछ । बाउ आमाजस्तो पटक्कै हच्किँदैन । आफ्नो दैलोको छेउछाउ आउँदा मात्र पनि उता जा भनेर झटारो हान्थे तर ऊ डराउन छाडेको थियो । भोकभन्दा झटारो तुच्छ थियो उसलाई । त्यतिवेला ऊ ज्याद्रिएर हाँस्थ्यो मात्र । उसको त्यो हाँसोको रातो गिजामा दरिद्रता देखेर घृणा गर्थे उनीहरू ।
घर फर्किएपछि फूलले पातीलाई छोरो भुन्टले गरेको बिगो भन्ने गर्थी तर पाती आफ्नो मरन्च्यासे छोराको मुखमा टुलुटुलु हेथ्र्यो मात्र ।
त्यो घरको कुचुक्क परेको आँगनको एक छेउमा एउटा चाक्लो ढुङ्गा थियो । त्यो ढुङ्गा बाबुबाजेले होइन वर्षौं पहिले प्रकृतिले नै त्यहाँ राखिदिएको थियो । अब अघाएको भुन्टे त्यहीँ गएर खेल्न थाल्यो । ऊ खेल्दाखेल्दै त्यहीँ निदाउँथ्यो पनि ।
फुर्सदका बखत फूल र पाती आफ्नो प्रिय भुन्टेलाई काखमा लिएर त्यही ढुङ्गामा बस्थे र मूलबाटोतिर आवतजावत गर्नेहरूलाई हेरिरहन्थे । मानौँ ती सीमित बटुवाहरू नै व्याप्त विश्वका प्राणी हुन् भनेझैँ गरेर । त्योभन्दा परको जगत सघन अन्धकारको अंशझैँ लुप्त थियो  तिनका लागि ।
हिजो आज मात्र होइन वर्षौंदेखि नै त्यो आरनको भट्टीमा धार पाकिरहेको थियो । आफैँमा कलात्मक त्यस धारका आकृति भने फरक हुन्थे । ती ठालुका घरसंसारमा पुग्थे र तिनै धारले उनीहरूको जीवनको गतिमा तीव्रता बढाउँथ्यो ।
पहिलेझैँ आमाको पछि लाग्न छाडेको फूलपाती आरन नजिकै बसिरहेको थियो । तर ऊ अहिले चकचक गरिरहेको थिएन । केही दिन अघिमात्र ठालुहरूको बगैँचामा फल चोर्न जाँदा खाएको झापड अहिलेसम्म पनि उसको च्यापु छेउमा दुखिरहेको थियो । भर्खरै उसले चोर्न उक्साउने साथीहरूको सङ्गत छाडेको थियो । ऊ बाबुले बनाउँदै गरेको हतियारलाई एकतमास हेरिरहेको थियो ।
बिहानी ढल्किसक्दा पनि पाती हातको सिरानी लगाएर मैलो गुन्द्रीमा सुतिरहेको थियो । हिजो अस्तिदेखि नै ऊ बिरामी थियो । मूलबाटोमा उभिएर चुच्चो टोपी लगाएको एउटा ठालु ठूलो स्वरले करायो- ‘डाम्ना, अझै पसारिरहेको रहेछ । रोपाइँ आइसक्यो त्यति कोदालीमा साँध लगाइदेन भनेको त…।’
अत्तालिएको पाती उठ्न खोज्यो तर सकेन त्यहीँबाट ठालुलाई जदौ गर्यो । उसले भन्नै लागेको थियो- ‘हजुर म भोलिसम्ममा साँध लगाइदिन्छु ।’ तर ठालुले उसलाई मान्छे नै होइन भनेझैँ गरेर हेर्यो । अनि गनगनाउँदै त्यहाँबाट हिँड्यो । भुन्टे ढोकाको सँघारमा उभिएर सबै कुरा सुनिरहेको थियो ।
आफ्नो बाबुलाई गरेको तथानाम गालीका शब्द उसको मनभित्र झुसिल्कीराको काँडाझैँ बिझायो । उसले बेश्रद्धाले त्यो जाँदै गरेको ठालुलाई हेर्यो । ऊ फटाफट हिँडिरहेको थियो । हिँड्दा उसका दुवै हात हल्लिरहेका थिए । अब भुन्टे खितिति हाँस्यो । आफ्नो बाबुको जदौसम्म नफर्काउने ती हातलाई उसले सुँगुरको पुच्छरझैँ देख्यो । पाती साँच्चै नै थलियो । आरन अगाडि टुक्रुक्क बसिरहन सकेन । न उसले फलामका टुक्रालाई उचाल्न नै सक्यो । भित्रैदेखि फतक्कै गल्यो ऊ । फूलले सुँगुरका पाठाहरू बेची लोग्नेको उपचारका लागि । फूलपातीले दुःखको रूपलाई बुझ्दैगयो ।
फूलले ठालुहरूसित सहयोग मागी । कतिले भर्सेलीछेउ घैँटोमा थुपारेको अँगार उसको थैलोमा खन्याइदिए । कतिले दुईचार मुठी अन्न दिए । कतिले दुइचार पैसा त, कतिले दिए निरर्थक वचन ।
अहँ पुगेन, चुत्थो जोहोले कठोर दिन कट्दै कटेन । भोकको आगोले फूलपाती ओइलाउन थाल्यो । ऊ पहिलेजस्तो खानको लागि ठालुहरूको घरमा अनेक हर्कत गर्न सक्दैन थियो । अलिकति हुर्किएको थियो ऊ । ठालुहरूको हेपाहा वचन उसलाई पटक्कै मन पर्दैन थियो ।
अब बाबुले चलाउने आरनअगाडि ऊ टुक्रुक्क बस्यो अनि फलाम र आरनको आगोसित खेल्न थाल्यो । त्यो बालक्रीडा थिएन ।
उसले बाबुको काम गर्न थालेको थियो । ऊ साँध लगाएको र नयाँ बनाएको हतियार बोकेर गाउँमा डुल्न जान्थ्यो । लोग्ने बिरामी भएको हुँदा फूल हरपल पातीसँगै हुन्थी । उसले अब बाबुआमा दुवैको कामको जिम्मा लिनुपरेको थियो ।
आरनमा काम गरिरहँदा ‘ए बा तपाईँलाई कस्तो छ ?’  सोधिरहन्थ्यो ऊ ।
पातीले अनुहारमा परेको बाक्लो मुजाले आफ्नो दुःख लुकाउँदै भन्थ्यो- ‘ठीक छ । थकाइ मात्र लागेको छ ।’
ऊ फेरि आरनमा व्यस्त रहन्थ्यो र भुलिन्थ्यो आफ्नै काममा । भर्भर गरिरहेको आरनको आगोले वेलावेलामा उसको अनुहार तामाझैँ चम्किलो देखिन्थ्यो ।
छोराको काम हेरिरहेको पातीले अनुहार हँसिलो पार्न खोज्दै भन्यो- ‘केटा तँ मभन्दा पनि जान्ने भइस् । छिट्टै ।’
‘हो र ?’
फूलपातीले स्याब्बासी महसुस गर्यो । अनि आगोबाट निकालेको बञ्चरोलाई घनले पिट्न थाल्यो र पानीमा च्वाप्प चोप्यो । त्यसबाट उठेको बाक्लो बाफको कुइरो उनीहरूको बीचबाट उडेर कतै गएर बिलायो ।
पातीलाई सन्चो भएन । ऊ हिरिक्क हुनेगरी खोक्थ्यो । फूलपाती खोकीले ग्रस्त बाबुको दुर्दशा हेथ्र्यो र छिटोछिटो आरनमा फलामका टुक्राहरू घुसाथ्र्यो । उनीहरूको गरिबी यति नाजुक थियो कि डाक्टर वैद्यकहाँ जाने कुनै सामथ्र्य नै थिएन । पेटभरि खानु असम्भव जस्तै भइरहेको थियो । तर पनि उनीहरूको प्रिय भुन्टे आफ्नो बाबुआमाको बीचमा बसेर भन्ने गथ्र्यो- ‘एकदिन म पनि ठालुहरूको जस्तै घर बनाउँछु, यो आरनलाई ठूलो कारखाना बनाउँछु ।’
ती दरिद्र  बाबुआमा कल्पनाको कुलीन छोरोलाई अवाक् हेरिरहन्थे । मानौँ ऊ कुनै आश्चर्यको कुरा गरिरहेछ ।
फूलपाती घाम झुल्कनुअघि उठ्थ्यो र साँझ अबेरसम्म काम गरिरहन्थ्यो । उसको हत्केलामा पोलेर उठेका फोकाहरू फलाम पिट्दा फेरिफेरि पनि फुट्थे । खैरा फोका प्याट्ट फुट्दा रातो मासु देखिन्थ्यो । त्यसमा अझै थपिन्थ्यो खरानी र ध्वाँसे कालो । ऊ त्यो दुखेको घाउलाई हेथ्र्यो र चुपलाग्थ्यो । हुनत घाउमा सुन्दरता कहाँनेर हुन्छ र देखाउनु अरूलाई ? बाआमालाई त्यस्तो घाउ पटक्कै नौलो थिएन ।
क्रमशः हतियारमा तीव्र धार लगाइरहँदा उसले आफ्नो दुःखको धारलाई मार्दै गयो । साँञ्चै दुःख भोग्नेहरू ज्याद्रा हुन्छन् । सानातिना दुःखलाई पटक्कै टेर्दैनन् । अहँ, उसले पनि टेरेन । हाँस्न छाडे रूनुपर्छ भनेझैँ ऊ त्यस भित्तामा टाँसेको ऐना हेरेर हरेक दिन मुस्कुराउँथ्यो ।
फुटेको कुर्कुच्चो पसारेर बिरामी लोग्नेको मुखमा भुनभुनाइरहेका झिँगा धपाइरहेकी थिई फूल । फूलपातीले आफूले तयार पारेको हतियार सँगेलेर झोलामा हाल्यो र ठालुका घरतिर हिँड्यो । उसले बाटोमा पुगेर एकपटक पछाडि फर्केर हेर्यो । उसले भन्न खोजेको थियो- ‘आमा कोइलाको आगो मार है !’ मुख वाल्ल पारेर निदाएकी फूलको मुख भने आरनतिर नै फर्किरहेको थियो ।
ऊ स्कुल गएन । कसैले लेखेको किताब पढ्न जानेन तर आगोका ताता र राता अक्षरहरू उसले पढिरह्यो । हतियारमा तीव्र धार लगाइरह्यो । बाबुबाजेले झैँ मूलबाटोमा हिँड्ने ठालुहरूलाई जदौ, जदौको रट भने पटक्कै लगाएन ।
आफ्नो हातेश्रम दुनियाँको महान् व्यवसाय हो भनेझैँ गरेर त्यो केटो आरनमा फलाम घुसारिरहन्थ्यो । धार बनाइरहन्थ्यो । ऊ आफ्नो कामको मूल्य बुझ्दथ्यो र महत्त्व दिन्थ्यो । उसलाई आफ्ना पुर्खाको निमुखापन नराम्रो पक्ष हो भन्ने लाग्थ्यो । ऊभित्र हुर्कंदै गएको दृढ आत्मविश्वासको अन्दाज ठालुहरूले गर्दै थिए । यसर्थ ठालुहरू उसलाई ढेब्रो आँखाले हेर्थे ।
ऊ आराम गर्न बिर्सन्थ्यो तर बखतभन्दा पहिले नै काम फत्ते गथ्र्यो । उसलाई ठालुका हेपाहा वचनसँग वितृष्णा थियो ।
आफूले तयार गरेको झोला बोकेर ऊ ठालुगाउँतिर हिँड्यो जसरी हिँड्थी आमा, जसरी हिँड्थ्यो बाबु अझै जसरी हिँडे पुर्खा ।
ठालुको आँगनमा मान्छेहरूको शान्तिमय भीड थियो । रङ्गीन मालाधारी एउटा मान्छे अग्लो आसनमा बसेका थिए । छेवैमा धूपबाट उठेको सुगन्धित धूवाँ हावामा आकृति बनाउँदै हल्लिरहेको थियो । फूलपातीले ढुङ्गाको पर्खालबाट मुन्टो उचालेर त्यस ठाउँमा हेर्यो र केही बेर हेरिरह्यो । ती पण्डित बा थिए । उनी भन्दै थिए- ‘जस्ताको सङ्गत गर्यो त्यस्तै हुइन्छ….।’ उसले रूचिपूर्वक त्यो कुरा सुन्यो ।
हरपल फूल पातीसँगै हुन्थी । थोत्रिएको गुन्द्रीबाट परालका काला त्यान्द्रा छुट्टिँदैगएको हुँदा बिरामी पातीको अर्धनग्न ज्यानलाई पिँढीको माटोले सजिलै छुन्थ्यो । जीर्ण भित्तामा अडेस लागेकी फूल लोग्नेको मुखवरपरको झिँगा धपाउँदैगर्दा धेरैजसो उँघिरहेकी हुन्थी ।
त्यस दैलोमा कुचो लगाइएको छैन सायद आवश्यक पनि छैन । एकैछिनमा उस्तै फोहोर छरिनु छ । फूल उमेरकी हुँदा कहिलेकाहीँ यसो फर्याकफुरक गर्थी । अब त उसलाई फोहोर पनि फोहोरजस्तै लाग्दैन । लोग्नेजस्तै एकोहोरो थकाइ लाग्न थालेको छ उसलाई पनि ।
सिकारू फूलपातीले निकै जोस चलाएर हतियार बनाउने र पुराना भुत्ते हतियार अर्जाप्ने काम ग¥यो । उसलाई आफ्नो बाबुको लागि औषधी किन्नु थियो । घर चलाउनु थियो । उसको उमेरलाई भने खै कसले पो हो चलाइरहेको थियो । अब ऊ ठिट्यौलो देखिन थालेको थियो ।
फेरि झोला बोकेर ऊ ठालुका गाउँतिर उक्लियो । उसलाई पण्डित बाको कुराले निकै छोएको थियो- ‘जे गर्यो त्यही हुइन्छ, जस्ताको सङ्गत गर्यो उस्तै बनिन्छ ।’
ऊ को हो ? र कस्तो बन्दै छ ? मनमनै गम्यो अनि हिँड्दाहिँड्दै टक्क अडियो । किनभने उसको मनभित्रको प्रश्न बोझिलो बन्दै गइरहेको थियो ।
आफूले बोकिरहेको हतियारको धारलाई निकाल्यो र नियालेर हेर्यो । त्यतिवेला उसलाई लाग्यो म यही धारँ हुँ । ऊ गमक्क पर्यो ।
बाटोमा जाँदैगर्दा दाउरा चिरिरहेको ठालुको आँगनअघि उभिएको थियो ऊ । आफूले बनाएको बन्चरोले चरप- चरप पारेर दाउरा चिरिरहेको थियो ठालु । खै किन हो त्यस दृश्यमा उसको आँखा गड्यो । त्यतिवेला उसलाई आफू ‘धार होइन, धारले छ्याक्क छ्याक्क पारेको चिर्पट हुँ’ भन्ने लाग्यो । अहँ त्यस धारको प्रहारलाई चुपचाप सहने चिर्पट उसलाई पटक्कै मन परेन । ऊ मुन्टो बटारेर त्यहाँबाट हिँड्यो ।
दुईचार कान्ला उक्लिएपछि उसले हुर्कंदैगरेको रूखको पोथ्रालाई कसैले काटिरहेको देख्यो । उसलाई त्यो पटक्कै मन परेन । लाग्यो आफैँ काटिइरहेछ ।
ऊ अहिले छहारीदार गोरेटो हुँदै हिँडिरहेको थियो । गोरेटो सुनसान र ओसिलो थियो । पहिले ऊ आमासित कैयौँपल्ट त्यस गोरेटोमा हिँडेको थियो । अहिले भने ऊ एक्लै हिँडिरहेको थियो । उसले बोकेका झोला ठाउँठाउँमा टालिएको र चेनसमेत उध्रिएको हुँदा उसको आविष्कारले त्यहाँबाट सहजै बाहिर चिहाउँथ्यो । ऊ ती हतियारको जतन गर्दै झोलालाई तानतुन पार्दै कहिले पिठ्यँुमा त कहिले काँधमा झुन्ड्याउँथ्यो ।
छहारीबाट छिरेका घामका उज्याला बुट्टाहरूलाई कुल्चँदै ऊ अघि बढिरहेको थियो । केही पर पुगेपछि छातीमा खैरो टाटो भएको सेतो बिरालो लचक्कलचक्क कम्मर हल्लाउँदै सुस्तरी उसको छेउमा आएर ऊसँगै हिँड्नथाल्यो । त्यसले पुच्छर ठाडो पा¥यो र उसको अनुहारतिर हेरेर एकचोटि म्याउँको आवाज निकाल्यो । त्यति नजिक आएर ऊसँग कोही बोल्दैन थियो । त्यसमा पनि अझै उसको पिडुँला छोएर कराएको त्यस बिरालाले ध्वनि श्रुतिमधुर भएर छहारीदार गोरेटोभरि छरियो । ऊ त्यो बिरालोतिर हेरेर मुस्कुरायो । सँगै हिँडेको बिरालो केही बेर ऊसँगै हिँडेपछि नजिकैको झाडीतिर अलप भयो । ऊ भने त्यस गोरेटोमा अझै हिँडिरहेको थियो ।
उसले गहुँगो झोला झुन्ड्याइएको काँध फेर्यो । थाकेको त्यही हातले मुखभरिको पसिना पुछ्यो । उसलाई गर्मीले गर्दा तिर्खा लागिरहेको थियो तर पानी भने ऊ आफ्नै घर पुगेर खान्थ्यो । बाटोमा पर्ने ठालुका घरमा पानी मागी खाएमा छोएको भाँडो माझेर आँगनको छेउमा सुकाउनुपर्दाको छटपटीउसलाई तिर्खाभन्दा पनि अप्रिय लाग्थ्यो । ऊ फूल र पातीझैँ ठालुका सामु आफ्नो निमुखापनलाई सर्वस्व मान्न सक्दैनथियो । ठालुहरू पनि आफूजस्तै मान्छे हुन् भन्ने ठान्थ्यो ।
ऊ जुन बाटो हिँडिरहेको थियो त्यहाँबाट देब्रेपट्टिको बाक्लो हरियो बुट्यान भएको ठाउँतिरबाट ऐया ! ऐया !! को आवाज आइरहेको थियो । त्यो आवाजमा आइमाईको स्वर थियो । अघि बढ्न छाडेर उसले बुट्यानको बाक्लो घाँसतिर आँखा घुमाएर हेर्यो ।
ठालुकी स्वास्नीको हात धारिलो खुर्पेटोले काटेको रहेछ । ऊ ऐया ! ऐया !! को दुखाइ आलापिरहेकी मात्र थिइ, फूल र पातीको घरतिर हेरेर धारेहात लगाउँदै सराप्दै पनि थिई । डाम्नाले कति धारिलो पारेछ ।
त्यस आइमाईको काटिएको औँलाबाट तपतप रगत चुहिरहेको थियो । त्यो रगत भुइँमा पसारिरहेको खुर्पेटोको धारमा परिरहेको थियो । त्यो देखेर फूलपाती खितितित् हाँस्यो । त्यस खुर्पेटोमा धार उसले नै लगाएको थियो । त्यतिवेला उसले आफ्नो निधारको एक छेउमा छाम्यो जहाँ धर्सोजस्तो खाल्डो परेको थियो । त्यो खाल्डो उसले जन्मँदै ल्याएको होइन । जीवनभर पुरिने पनि छैन । त्यस खाल्टोमा परेको घाउ अहिलेलाई भने बिसेक भएको थियो तर उसको बालमनमा परेको घाउ भने सञ्चो भएको थिएन । सायद हुँदैन पनि । उसको आँखालाई छलेर लागेको त्यो खत त्यही ठालुकी स्वास्नीको झटारोको चोट थियो । जुन चोट भरिएको गाग्रो छोइदिँदा केही वर्षअघि उसले पाएको थियो ।
अब ऊ त्यो छहारीदार गोरेटो छाडेर खेतको आली हुँदै हिँडिरहेको थियो । उसलाई एकप्रकारको आत्मसन्तोष भएझैँ भयो । अब आफू त्यही खुर्पेटोको धार हुँ भन्ने भावलाई उसको अव्यक्त मनले दोहोर्याईरहेको थियो ।
गाउँ डुलेर घर फर्कंदैगर्दा उसको हातमा अर्को पोको पनि थपियो । ज्यालाको कोइला, अर्जाप्नुपर्ने भुत्ते हतियारसँगै सानो अन्नको पोको ।
चउरको मुखको मन्दिर छेवैमा पुगेको ऊ एकाएक रोकियो । उसले देख्यो त्यहाँ बलिको बोको जुन भर्खरै मन्छिएको थियो । वरिपरि तिनै ठालुहरू थिए । कोही रमिता हेर्दै, कोही बोकाको खुट्टा समाउँदै । एउटा ठालुले हतियार बोकाको घाँटीमाथि उज्याउने तयारी गर्दैथियो । बोको डरले तुरूकतुरूक पारेर आफ्नो पुच्छर भिजाउँदै थियो । अनि एउटा भयातुर स्वरमा म्याँ, म्याँको आवाज निकालिरहेको थियो । त्यो आवाज ठालुहरूको टाङ्मुनिबाट निक्लेर फूलपातीको छेउसम्म आइपुग्यो ।
फूलपातीले टाढैबाट ठालुहरूको बीचमा पर्नगएको खाली ठाउँबाट त्यस बोकोलाई चिहाएर हेर्यो । त्यो बोको निरीह देखिएको थियो । ठालुहरूले हप्काउँदा आफ्नो बाबुले बनाएको अनुहारजस्तै । त्यो डरपोक म्याँ, म्याँको ध्वनि आफ्नी आमाले ठालुको दैलोमा पुग्दा निकालेको आवाजजस्तै ।
मार हान्न अघिसरेको एउटा ठालुले बोकाको गर्दनमा खुकुरी प्रहार गर्यो तर एकैचोटिमा छिनाल्न नसकेपछि उसले फेरि प्रहार गर्न त्यो खुकुरी उज्यायो । घाइते बोको कराउन पनि नसकेर छटपटायो । त्यसको गर्दनबाट भुलभुल रगत बग्नथाल्यो । त्यो रगत थोपा- थोपा हुँदै धारो लागिरहेको थियो । अब फूलपातीले खुकुरीको धारलाई वितृष्णाले हेर्यो ।
उसको आँखा भरियो । आँसुको मोटा थोपा परेलामा चढ्यो अनि आँसुको भारले परेला लत्रियो । उसले मात्र निरीह बनेको त्यस बोकाको गर्दनमा एकोहोरो हेरिरह्यो । यतिवेला उसको मनबाट होइन अन्तर्आत्माबाट आगोको रापिलो लप्का छुटेर उसको आँखाको आरनमा धपधपी बलिरहेको थियो ।


(अधिकारी चर्चित साहित्यकार हुन् ।)
[email protected]