हाउडा ओर्लिंदा पाँच बज्यो !
अघिल्लो दिन हामी रक्सौलबाट चढेथ्यौँ- मिथिला एक्सप्रेस । कट्कटे रेलगाडीले भनेजस्तो परिचय दिएन । एक्सप्रेस भने पनि सुरूका पाँच- सात घण्टा त चिप्लेकीरा भने नि हुने खालको थियो । जेहोस्, झिसमिसेमै ओराली दियो हामीलाई ।
अबका तीन दिन कलकत्ते घामपानीमा भिज्नु छ ।
अलिक अघिदेखि नै झोला झ्याम्टा तयार पारेर उभिइसकेथ्यौँ । सँगै गएका साथीहरूले हाते फोनबाट सम्पर्क गरेका गरेकै थिए । हाउडा जंक्सनमा ओलिर्ने बित्तिकै जसबहादुर गुरूङ र विष्णु रेग्मीले अँगालो हाले ।
ती थिए- नेपाल भारत जन मैत्री साँस्कृतिक मञ्चका कर्मठ कार्यकर्ता । एउटा गाडीमा रेग्मी बसे । अर्कोमा गुरूङ । तिनकै अगुवाइमा हामी हाउडाको होहल्ला र घन्चमन्च नाघेर शरद बोस रोड पुग्यौँ ।
बिहानैको कलकत्ता राम्रोसँग उठिसकेको थिएन । सडकमा लगभग बडार कुँडार हुँदै थियो । दूधका भाँडा बोक्नेहरू र स्वस्थ ज्यान बनाउन दगुर्नेहरूको लर्कन देखिरहेथेँ म निकै ।
ठूलो सडकको शाखा गल्ली थियो- एलिगेन्स रोड । त्यसकै दक्षिणी कुनोमा थियो- श्री गेष्ट हाउस । मञ्चले आयोजना गरेको तीन दिने साहित्यिक कार्यक्रमका हामी सहभागी । १५ जनामा केही बसेथे सिक्किम हाउसमा । हामी कुडुलियौँ यहाँ ।
वरिपरि अग्ला नरिवल र सुपारीका सुरिला रूख थिए । हाम्रै तराईको सौन्दर्य र आभाष भइरहेथ्यो कलकत्ताको यो वातावरण ।
हाम्रो हेरविचार र सहयोगका निम्ति मञ्चले पठाएका ओम शर्मा खनाल यीँ भेटिए । अर्घाखाँचीका ती तरूण असाध्यै हार्दिक लागे, सहज लागे र शुभेच्छुक लागे ।
‘सुत्दा छुट्टिउँला, नत्र त सँगै हुन्छु नि !’
बङ्गाली लवज मिसिएको शैलीमा तिनले भने ।
म मुसुक्क हाँसेँ । अरूले नि रमाएर गाला र आँखा चम्काए ।
गर्मीले फूर्ति देखाउन थालिसकेको थियो । घरका सिलिङ पङ्खा एकाबिहानै देखि बेस्सरी घुम्न थालेका देखिन्थे । स्थिर र एकदमै चुपचाप थिए नरिवल र सुपारीका रूखहरू । बिहानै भए पनि चिटचिट पसिनाले मुख भरिन थालिसकेको थियो ।
फागुन ४, २०६९ ।
राति निद्रा कच्पल्टिएको थियो रेलमा । मध्यान्ह १२ बजे रेल छुटे पनि नयाँ वातावरणमा शरीरको मेलमिलाप हुन सकेन । वर्की- फर्कीमै रात बितेथ्यो । ओछ्यान र शरीरको नातो राम्ररी नजोडिँदासम्म निकै सकस हुन्छ- आँखामा ढुक्कको निद्रा ओर्लिन ।
‘सुत्न मन छ तर सुत्न आएको हैन कलकत्तामा !’
खुसुक्क भनेँ ओमलाई ।
उनलाई सबै जिम्मेवारी सुम्पेर विष्णु र जसबहादुर गइसकेथे आफ्ना- आफ्ना कामधाममा । अब सबै बिन्ती बिसाउने, गुनासो गर्ने, माग राख्ने, अनुरोध गर्ने वा धर्ना दिने काम हुन्थ्यो खनालकै साामुन्ने ।
‘खाना खाऊँ अनि निक्र्यौल गरूला नि दाइ !’
ओमले भनेपछि हामीले आफूलाई हलुक्याएर बरालियौँ ।
सडक छेउमा एकजना बूढा बङ्गाली चिया पकाएर बेचिरहेका भेटिए- हामी पस्यौँ त्यतै । विगत चालीस वर्षदेखि उनको काम यत्ति रह्यो- चिया पकाउने । सामुन्नेका फुस्का घर भत्किएर ठूला- ठूला भवन बनिरहेका थिए । उनले चिया पकाएर माटोका गिलासमा चिया थप्दै समयका सिँढी उक्लिरहे । मानिसको जीवन एउटै र एकै शैलीमा कसरी सुलुलु कट्दो रहेछ- उदाहरण थिए यी चाचा ।
उनको एउटा आँखा चैँ आगो फुक्दा र कोइला ठोस्ता- ठोस्ता बिग्रिसकेको रहेछ ।
चिया थियो पञ्चामृत जस्तो मीठो । मैले त थपी- थपी खाएँ । अरू नि थिए चियाका भोगी ।
हामी यताउता घुमिरह्यौँ ।
लामो समय कम्युनिष्टहरूले शासन गरे पनि सभ्यता र विकासमा आफ्नै सुगन्ध रहेछ कलकत्तामा । खासगरी भाषा, साहित्य र सङ्गीतमा शीर्षस्थान छ कलकत्ताको ।
ठूला- ठूला चिन्तक, राजनेता, दार्शनिक, लेखक, कलाकार, अर्थशास्त्रीहरूको जन्मभूमि भनिन्छ कलकत्ताको भूमिलाई । गीत नगाउने ओट, साहित्य नसोच्ने मस्तिष्क र सङ्गीत नबजाउने औंला- यतातिर कल्पनै गरिन्न । कलकत्तालाई लिएर भनिने गरिएको कुरा सम्झिरहेको छु म ।
साँझपख घिमिरे बन्धु देखापरे । चन्द्र र जीवराज । दुबै नै कविताकर्मी । कलकत्ता पुग्ने एउटा सूत्रधार चन्द्र थिए मेरा लागि । मञ्चका प्रमुख नारायण होमागाईंसँग मेलमिलाप गरिदिएथे तिनैले ।
घिमिरेहरूकै अगुवाइमा हामी हुगली नदी तीरमा निकैबेर रमायौँ ।
लगत्तै आइरहेथ्यो सरस्वती पूजा । त्यसको तयारी भव्य भइरहेको थियो कलकत्तामा । जतासुकै सरस्वतीका सुन्दर र कलात्मक मूर्ति देखिन्थे । आँखा छोपिएका ती मूर्तिहरू अहिले नै बोलि हाल्लान् झैँ देखिन्थे । कला, कालीगढी र कौशलताको उत्कृष्ट नमूनाको रूपमा लाग्थे सरस्वतीका माटाको मूर्तिहरू । रङ्गरोगन र सिँगार पटारले चटक्क मिलेका मूर्ति ।
हामी पुरानो कलकत्तामा थियौँ ।
हुगलीको उत्तरी किनारमा उसै गरी फैलिरहेको थियो, अग्लिरहेको थियो । ठूला- ठूला सडक र आलिशान भवनले कलकत्ताको वैभवशाली चमक आँखाले पढ्न नसकिने खालको लाग्थ्यो ।
हामी हुगली तीरको प्रिन्सघाट पुग्यौँ । बाफ रे युवायुवतीको भीडमा छु । के साह्रो घन्चमन्च । सबै जोडाजोडीले छपक्कै ढाकिएको थियो- प्रिन्सघाट । कलकत्ताका युवतीहरू- एक बिछट्टै सुन्दरता र शालीनताले सजिएका देखेँ । ठूला- ठूला आँखा भएका सुडौल र सुशील कन्याहरूमा एउटा बेग्लै खालको मादकतापूर्ण यौवन देखेँ मैले ।
‘के धेरै माछा खानेहरू यस्ता हुन्छन् ?’
छेउमा हिँडिरहेका जीवराजलाई सोधेँ ।
ती सरल कवि । फिस्स हाँसे ।
लौन कति सुन्दर ! कति हिस्सी तिनको अनुहारमा !! कति सौम्य र रूपौलो ज्यान !!!
सँगै हिँडिरहेका सबैले भनिरहेका सुन्छु ।
हो, बङ्गाली कन्याहरू बिछट्टै राम्रा थिए । असाध्यै सुन्दरी थिए । उल्काका लोभलाग्दा थिए । नारीभित्र थिग्रिएर बसेको सबै सुन्दरताले निखारेपछि बाहिरिएको हो कि यो रूप !
मेरा आँखा धेरै ठाउँमा स्थिर भए ।
हुगली वारिपारिलाई विद्यासागर सेतुले जोडेको रहेछ । हावडा पुल तलको त्यो पुल भव्य, मनोरम र बेजोडको लाग्थ्यो । बिशाल नदी रहेछ हुगली । नदी भनेर के गर्नु ठूलठूला पानीजहाज, डुङ्गा, फेरी वारपार गरिरहेका थिए ।
माछा मार्ने, सामान ओसार्ने जहाजको लर्कोले एउटा बिछट्टै सुन्दरता थियो हुगलीमा ।
विद्यासागर फ्लाइ ओवर हेर्दा हामी छक्क पर्यौं ।
यसकै तीरमा धेरै सिनेमा बनेका, गीत छायाङ्कन गरिएका र नाटकहरूका पूर्वाधार गरिएका थिए रे !
घरीघरी सूचना दिन्थे- चन्द्र र जीवराज ।
यो हुगलीले बङ्गालको खाडी र श्रीलंका नजिकैको समुद्र छुने हुनाले पनि सामुन्द्रिक व्यापारको प्रमुख नाका रहेछ । यै बाटो ठूलाठूला जहाजले मालताल लाने- ल्याउने गर्दा रहेछन् ।
‘यै बाटो गरी अङ्ग्रेजहरू भारत पसेथे !’
जीवराजले भने ।
हामी निकैबेर प्रिन्सघाट वरपर डुलिरह्यौं । गोधूलिको सुन्दरतामा नदीको छाल । छालमा तैरिइरहेका अनेक रूपरङ्गका डुङ्गाहरू । अजङ्ग- अजङ्गका पानीजहाजहरू । मेरो मन झैं पानी भएर मिसिन्छ हुगलीको लहरमा ।
भोक, प्यास सब भेटियो ।
पुरानो सहर हो कलकत्ता । यसका हरेक कुरा प्राचीनतामा नयाँपनले लेपन गरेको लाग्छ । यो कला, संस्कृति र साहित्यले शासन गरेको शहरलाई अङ्ग्रेजहरूले सजिलै हात पार्न र कब्जामा लिन सकेनछन् । निकै धौ- धौ पर्यो रे !
जतासुकै मूर्ति छन् रविन्द्रनाथ ठाकुरका ।
कविलाई कति धेरै आदर र सत्कार गरिएको ? लेखकलाई कति धेरै सम्मान गरिएको ? साहित्य- कलालाई कति धेरै अर्चना गरिएको ?
घुमी- घुमी हामी वाणिज्य मन्त्रालयको परिसरमा पुग्यौँ । नेपाल सरकारका उच्च कर्मचारी परे घिमिरे दुई कवि । अझ जीवराज दाइ त मेरा पुराना चिनारू । राति तिनकै आतिथ्यता पाइयो । मनभरि अनि पेटभरि । माछा, भात र बङ्गाली परिकारमा निकै रात बिताइयो हुगली छेउमा ।
५ फागुन ।
बिहानै ओमसँग हाम्रो हुल घुम्न हिँडिहाल्यो । कलकत्ता शहरका कुना- कुना घुम्दै समय बिताउँथ्यौँ ।
भिक्टोरिया मेमोरियल हल पुगियो घुम्दै- घुम्दै । विशाल दरबार र बगैंचाले सुसज्जित दरबार बनेको रहेछ रानी भिक्टोरियाको स्मृतिमा । कला, वैभव र शानको प्रतीक थियो- भिक्टोरिया मेमोरियल हल । त्यसकै अघिल्तिर थियो भीमकाय रेस कोर्श । घोडा कुदाउने मैदान । यतिखेर युवायुवती भन्दा पनि बृद्ध बृद्धाहरू योग प्राणायाममा निमग्न देखिन्थे ।
बरू एउटी मुस्लिम किशोरीका हात समातेर माया खन्याइरहेथ्यो- अर्को युवक हल सामु । एउटी बूढी त्यो जोडीभन्दा बीस हात परतिर योग गरिरहेकी थिई ।
भिक्टोरिया मैदानको एउटै हावाले कसैलाई प्रेम फुलाउन ऊर्जा दिइरहेथ्यो- कसैलाई दीर्घायु प्रदान गर्न तागत ।
हामीले चारै कोणबाट निहालेर बाहिरियौँ ।
रूख, बाटा र गाडीका लर्कना आफ्नै खालका थिए । हरेक कुराले मन भरिएर छचल्किन पुग्थ्यो । आँखामा छाउथ्यो पूर्ण तृप्ति ।
डुल्नै आएपछि थकानको हिसाब गर्ने कुरा थिएन । अनि घुम्न र डुल्न मात्र नपाएकोमा बरू पीडा हुन्थ्यो ।
‘भाइ, कवि रविन्द्रनाथ ठाकुरको घर पुग्ने इच्छा थियो !’
बाटोमा चिया सुर्काउँदा मैले ओमलाई भनेँ ।
‘त्यो ठाउँ याँबाट निकै टाढा पर्छ । झन्डै पचास किलोमिटर टाढा- जोडासाकु ।’
उनको अनिच्छामा मेरो क्यै लागेन ।
आफू परियो पाहुना । अर्काको अरनखटनमा खानु पर्ने, हिँड्नु पर्ने, सुत्नु पर्ने अनि पाइला घिसार्नु पर्ने । मन लागी गर्ने भए यो निम्तो मानेर आउनै हुने थिएन मैले ।
त्यसो त प्रसिद्धि कमाएका विवेकानन्द, रामकृष्ण परमहंस, अरविन्द राम, रविशंकर, रविन्द्रनाथ ठाकुर, अमत्र्य सेन, प्रणव मुखर्जीको जन्मथलो यै कलकत्ते परिवेश नै हो । बङ्गाली भूमिकै प्राप्ति हुन् यी दिग्गज र साधकहरू ।
सँगै हिँडेका तन्नेरीको कुरो सुनिरहेको छु-
‘विपासा बसु नि यहीँ जन्मिएकी !’
‘रानी मुखर्जीको घर नि यतै हो !’
‘ऐश्वर्य राय पनि त यतैकी हुन् !’
‘सुस्मिता सेन जन्मिएकी पनि यहीँ तिरै !’
मैले पनि थपेँ- ‘मेरो विचारमा सत्यजित रे पनि यतै जन्मिएका होलान् !’
कुराले बाटो कटाइरहेको छ । ठूला- ठूला घुमाउरा बाटा, बाँकटे पारिएका आकाशे पुल अनि आँखै थाक्ने अग्ला घरका चुली हेर्दै असिन पसिन भइरहेका छौँ हामी ।
घुम्दाघुम्दै काली मन्दिर पुगिएछ- कालीघाट । अघि हेरिएको रविन्द्र सदनले मनमा रविन्द्रनाथ ठाकुरप्रति श्रद्धा उमारि रहेकै थियो । बाटामा गीताञ्जली, गोराबारे कुरा पटक- पटक भइरहेको थियो ।
मैले केटाकेटीमा सुनेको एउटा बङ्गाली गीत सुनाएँ- ‘एक बार विदाइ देऊ माँ घूरे आसी !’
‘आमा मलाई एक पटक विदा देऊ, म लडेर यो आँगनमा पुनः आइपुग्छु ।’
यस्तै भावले भरिएको यो गीतलाई सुवासचन्द बोसले आफ्नी आमासँग भनेको प्रसङ्ग गीतमा जोडिएको सुनेको थेँ । मेरो गीतलाई अरू साथीहरूले थपथाप पारी गाउँथे । भारतीय स्वतन्त्र सङ्ग्राममा अग्रणी भूमिका खेलेका बोसको मर्मलाई लिएर पूर्वी नेपालतिर अनेक किस्सा सुन्थ्यौँ हामी । अहिले ठाउँठाउँमा तिनै बोसको शालिक देखिरहेको थिएँ म ।
काली मन्दिर छिर्न हम्मे- हम्मे भो हामीलाई । निकै वरदेखि पण्डाहरूले मोलतोल गर्न थाले । हामीलाई यता तान्ने, उता तान्ने । बाटो छेकेर आफ्नो कब्जामा राख्ने । कम रूपियाँमा दर्शन गराइदिने । अनेक गतिविधि हुन थाले ।
ओमले पण्डाहरूको अनेक चालबाजी र धुत्र्याइँलाई किनार लाउँदै छरितो पाराले बाहिर- बाहिर मन्दिर परिक्रमा गराए । बङ्गाली समाजमा औधी पुजिने कालीको महात्म्य पण्डाहरुले गरिरहेका पो छन् कि ? मलाई यस्तै लाग्यो ।
बाटोमा मान्छेले रिक्सा तानेको देखिन्थ्यो ।
लिखुरे र मरन्च्यासे मान्छेले तानेको रिक्सामा बसेका थिए- बडे- बडे नितम्बिनी र तिनका भुँडेवाल खसम । पसिनाले निथाचूर्ण त्यो रिक्सावालको हालतमा मन साह्रै अमिलियो ।
‘लोकतन्त्रको यो उपहार हो कि भाइ ?’
‘परम्परा हो भनेर बङ्गालीहरूले यो प्रचलन हटाउनै दिएनन् दाइ !’
मलाई उत्तर दिए ओमले ।
हामी चिया खाएर कालीघाट मेट्रो स्टेशन तिर गयौँ ।
‘अनुभव गर्न चुक्नु हुन्न ।’
सबैले जोडबल गरेपछि हामी मेट्रोमा चढ्यौँ । जमिनमुनिबाट हुइँकिने मेट्रोमा पस्यौँ । केही मिनेटमै मैदानमा पुगेछौँ । लाखौं मान्छेले दैनिक यात्रा गर्ने यो मेट्रो निकै भरपर्दो र सुरक्षित मानिँदो रहेछ कलकत्तामा । अलिक भीडभाड भए पनि निकै सभ्य र शिक्षित यात्रुको सङ्ख्या अधिक हुने रहेछ मेट्रोमा ।
दिउँसो भारतीय भाषा परिषद्मा साहित्य सम्मेलनमा गइयो । भाषणमा मन रमाएन । म घरीघरी बाहिरिएर कलकत्ते सुवास लिइरहन्थेँ ।
पार्क स्ट्रिट भएर हामी फर्कियौँ गेष्ट हाउस ।
६ फागुन ।
बिहान साथीहरूसँग बालीगन्जतिर लाग्यौँ । निकै हिँडेपछि पुगियो बिड्ला मन्दिर । ढुङ्गैढुङ्गाले बनाइएको बिड्ला मन्दिरका पूजारी थिए नेपालकै ब्राह्मण । त्यति धेरै पुरानो इतिहास नभए पनि अत्याधुनिक कला र सीपको थोपरथापर मात्रै लाग्यो मलाई बिड्ला मन्दिर ।
अन्तस्करण भित्रैबाट अध्यात्म, पूजापाठ वा आस्तिक भाव उब्जाउने भन्दा पनि पर्यटकीय देउतासँग भेटघाट गराउने परिवेश ठानेँ बिड्ला मन्दिर ।
मन्दिर छेउबाट सयौं वर्ष पुरानो ट्राम गुडिरहेको थियो । बेलायतीहरूले सम्पूर्ण पूर्वाधार बनाइदिएका छन् कलकत्तामा । यो शिशिर कालीन राजधानी पनि हो भारतको । त्यसैले पनि अङ्ग्रेजहरूले यातायातका सबै श्रोत र साधन यहाँ व्यवस्थित गरेका होलान् ।
कलकत्ताका यो छेउ र ऊ छेउ डुलिरहँदा अनेक कुराबाट छोइएँ म । शहरको भव्यतासँग गरीबीको अथाह दृश्य देखिन्थ्यो । ठूला- ठूला भवनमुनि प्लाष्टिकका छाप्राले सडकका पेटी भरिएका थिए ठाउँ- ठाउँमा ।
आलिशान महलका आडैमा काठ र बाक्ला कागजी बारले बनेका झुप्रा देख्दा कम्युनिष्ट ‘समानता’ पनि कार्ल माक्र्ससँग चिहानतिरै अलमल्ल परेको छ कि जस्तो लागिरहन्थ्यो ।
बाटोभरि कलकत्तामा रहेका नेपालीबारे चर्चा चल्यो । शिक्षाभन्दा रोजीरोटीसँग नेपाली यता तानिएका रहेछन् । व्यापार भन्दा जीवन जिउने जागिरसँग जोडिएका रहेछन् नेपाली यतातिर । अनि यिनै सोझा सिधा नेपालीलाई देशभित्रै ठगिएर यता आए पनि अरू टाठाबाठाले पेलमपेल गरेको कुरा नि सुन्न पाइयो निकै पटक ।
‘नेपालमा जति दल छन् तिनका सबै शाखा छन् यहाँ पनि !’
ओम भनिरहेका थिए ।
‘अनि बाहुनदेखि दलितसम्मका सङ्गठन खुलेका छन् त नेपालमा ।’
‘यीँ पनि खुलिसके नि !’
ओमले खरर्र बताए ।
‘जाँ गए नि नेपालीको ढर्रा उही रहेछ !’
उनले यसो पनि भनिछाडे ।
बिहान जिउ तन्काउन हिँडेका हामी मध्य दिनमा फर्कियौंँ । बाटामा बङ्गाली सिनेमा, राजनीति र समाजका अरू दृश्य निकै देख्न पाइयो ।
बाबुलाल यादवलाई सबै साथीहरूले चाचाजी भन्न थालि सकेका थिए । हरेक बिहान वा साँझ उनकोमा चिया पिउने बानी नै भयो हाम्रो । आज पनि हामी फेरि चिया खान गयौँ ।
‘अनि भाइ ड्राइपोर्ट काँ छ त कलकत्तामा ?’
‘दाइ कलकत्ताको ड्राइपोर्ट हल्दियामा सरेको छ । त्यै भएर याँको बन्दरगाह अहिले सब चौपट छ ।’
‘किन नि ?’
‘कलकत्ता पोर्ट उता सरेपछि यहाँको आर्थिक कारोबार पनि सुक्यो । बैंक, कारोबार, व्यापार सब ठप्प छ । खास गरी आयात निर्यात हुने बाटै फरक पर्यो अब !’
‘कसरी त्यस्तो भयो ?’
‘हुगली त समुद्रको डेल्टा हो । अब यो डेल्टाको पानी सतह कम हुन थाल्यो । हरेक वर्ष आउने बाढी र बगेर आउने माटोले हुगलीको पानी प्रभावित हुन थाल्यो । अनि जहाज आउन समस्या पर्यो । माल बोक्ने जहाज नआएपछि शहरको के मतलब ?’
ओमले व्याख्या गरे ।
दिउँसो एलिगेन्स रोडमा थकाइ मारेपछि इस्कोन मन्दिर जाने सोचमा थिएँ म । तर साथीहरु बटारिएर कोही कता- कोही कता भए ।
‘तिमेरू आफ्नै सुरमा हिँड्छौ भने म पनि माछाभात खाएर पसारिन्छु ।’ मैले सुनाएँ । भयो पनि त्यस्तै ।
भात थपिरहेकी ठूलठूला आँखा गरेकी स्वप्न बेनर्जीलाई सोधेँ- ‘यी माछा कहाँका हुन् ?’
‘जिउँदो हो माछा भने बङ्गालकै, मरेको हो भने आन्ध्र प्रदेशको । अब तपाईं कस्तो किनेर खाने ? जिम्मा आफ्नै !’ नयाँ कुरा थाहा पाइयो ।
सिटी मार्ट घुम्न गइयो । हुमायु प्लेसको त्यो सस्तो पसलमा केही लुगाफाटो पनि किनियो । भारू छैन । नेपाली नोट खल्तीभरि । रिनपानले थोरैथोरै सामान किनियो । अम्बा किन्न र खान मन थियो । झमझमी झरीमा यताउता डुल्दै समय बित्यो ।
राति थिएटर रोड वरपर खुबै घुम्यौँ । सेन्ट जेभियर्समा भएको नाचगानले नेपालभित्रै भएको भान दिलायो ।
राति सुत्दा बाह्र बजेथ्यो । गर्मी निकै बढेथ्यो । एक झर पानी पर्यो । त्यै पानीको दर्काइमा म सुतेँ ।
७ फागुन ।
६ बज्दा हामी घुम्न हिँड्यौँ ।
‘आज चैँ पोखरी र बगैंचा मात्र हेर्ने है त !’
ओमले गेष्ट हाउसमुनि भेला भएका सबैलाई भने ।
‘ठीक छ । जाँ लाने हो लानुस् ।’
चाचाकोमा चिया खाएर हामी पूर्व लाग्यौँ । ठूलो र फराकिलो सडकको माझमा फूल का बिरूवा थिए झपक्कै फुलेका । झ्याम्म रूख, बिरूवा थिए ।
शहरको सम्पन्नतामा प्रकृतिले अँगालेको लाग्थ्यो । ढलिरहेका पुराना घर देखिन्थे । त्यै घरका आडमा बसेका गरीब र पराश्रित अनुहारले कोइलाको आगोमा कराई बसाएका जताततै देखिन्थे ।
मलाई कोइलाको गन्ध मनपर्छ खुबै । अझ त्यसमा पकाएको चिया, रोटी वा पापड निकै मनपर्छ । मन थाम्न नसकी एक ठाउँमा त किनिछाडेँ । खल्तीमा कोचेर स- साना टुक्रा पार्दै, खाँदै पाइला सार्थें । साथीहरूले गिज्याउलान् कि भन्ने डर छ त्यत्तिकै ।
‘एका बिहानै रोटी खाने हन्तकाली’ साथीहरुले भनिहाले म मरेतुल्य हुन्न त !
बाटोमा शहीद पार्क आयो ।
त्यसअघि पारितिर पोखरी आएको थियो ।
बाटोभरि शालिक निकै देखिन्थे । धेरै त रविन्द्रनाथ ठाकुरकै थिए । अनि बाटो र गल्लीका नाम पनि हामीले सुनिरहेकै जस्तै, जानिरहेकै जस्तै, थाहा पाइरहेकै जस्तै ।
धेरै टाढाको थियो- कलकत्ता । कता- कता, कहाँ- कहाँ र कति- कति टाढाको थियो कलकत्ता । तैपनि मैले निकै अघिदेखि जानेसुनेको नजिकको लागिरहेथ्यो कलकत्ता ।
अहिले त यसको नामै फेरिएथ्यो- ‘कोलकाता !’
तैपनि मेरो मुख, मन र मस्तिष्कमा टाँस्सिएको त्यही नाम छ- कलकत्ता । गाउँमा मान्छेहरू भन्थे- कलकत्ता, बम्बै र दिल्ली । यै टाढाको कलकत्ता सुन्दा- सुन्दा कति नजिक र आत्मीय भएर वरै बसेको रहेछ ।
त्यही भएर पर नलागेको हो कि ! टाढा नमानेको हो कि हृदयले ।
हिँडिरहँदा पनि एउटा भिन्नै आनन्द । वरपरको वातावरण पढ्न, छाम्न र निहाल्न पाइने । आँखा र मनको समान- समान यात्रा हुने ।
झन्डै एक घन्टा लाग्यो- लेक गार्डेन पुग्न ।
‘दुई घन्टामा नि यो बन छिचोलिन सकिन्न ।’
ओम बोलिरहेका छन् ।
पार्कभित्र छिर्यौँ हामी । विभिन्न शारीरिक अभ्यास गर्नेहरूको जमातै थियो । कुद्ने, ध्यान गर्नेहरूको लर्को थियो । योग र प्राणायाम गर्नेहरूले चौरै ढाकेका थिए । बाक्लो बनमा विश्राम गर्ने र अभ्यास गर्ने अनेक ठाउँ निर्माण गरिएका थिए ।
‘यी बङ्गालीहरू आराम र ऐशका सौखिन हुन्छन् ।’
‘प्रमाण के छ ?’
‘इतिहासदेखि अहिलेसम्म त्यै देखिन्छ ।’
‘जस्तै ?’
‘अनेक छन् अनेक ।’
‘शौखकै कारणले अङ्ग्रेजसँग यिनले हार्नु पर्यो । खानमा यी कति सौखिन छन् भने- भनेजस्तो भएन भने यी भोकै बस्छन् । तर खोजेको पाएपछि मात्र खान्छन् ।’
ओमसँग पोखरी छेउ बसी- बसी सुनिरहेको छु ।
दक्षिणपट्टिको ठूलो पोखरी माझमा छ- मस्जिद । मान्छेहरू कोही त्यता पनि गइरहेका छन् । तिनको छायाँ पोखरीमा तरङ्गित छ तलमाथि- माथितल ।
म लेक गार्डेनलाई फन्को मार्ने धुनमा छु । तर साथीहरूको चाहना त्यो छैन । पोखरीपारि गएको घुमाउरो बाटो भएर मूल सडक निस्कन । नयाँ ठाउँ टेकेको आनन्दीमा पुगिन्थ्यो नि । तर पाँच पाइला हिँडेपिच्छे स्वाँस्वाँ गर्ने साथीहरू पनि छन् ।
अनि पो बेस्वाद भो ।
कलकत्ता डुलिरहँदा मैले केटाकेटीमा सुनेका कुरा भेटिनँ । असाध्यै ट्राफिक जाम हुने शहर । बङ्गाली जत्ति सबै काला हुन्छन् । यी दुवै कुरा यतिखेर मिलिरहेका छैनन् कत्ति पनि ।
सफा, सिनित्त र सुकिला देखिएका छन् बङ्गालीहरू । अनि चौडा र फराकिला सडकमा गाडीको लर्कन देखिन्छ शान्त ।
कुन दिन हो बिर्सें । एक मध्यान्ह टेक्सीवालाले भनेकोथ्यो- ‘तपाईंहरू मलाई जाँ मन लाग्छ त्याँ रोक्न कर नगर्नुस् । पुलिसले फेरि केस लगाउँछ ।’
‘पुलिस र केस !’
सँगैको साथीले हाँसेर उडाएथ्यो ।
‘तपाईंले झुक्किएर अर्कै भन्या त होइन । मेरो विचारमा क्यास होला !’
साथीले भनेथ्यो ।
‘होइन- होइन केस नै हो !’
ड्राइभरको अड्डी थियो ।
शायद यस्तै अडान लिएरै होला- तीसौं वर्ष पुरानो एकदलीय कम्युनिष्ट सत्ता ममता बनर्जीले ढलाउन सकिन् । उनको नारा मलाई मन परेको थियो– माटो, इतिहास र आमा ।
मैले कलकत्ता डुलुञ्जेल यी राजनीतिक नारालाई आफ्नै खालले मनन गरिरहेँ ।
साथीहरू बजारतिर गएर झोला- झोला बोकेर आउँदै भन्थे- कटनको कुर्ता । प्योर लेदरको ज्याकेट । तर मलाई यी कुराले उति साह्रो तानेनन् ।
हुगली किनारको यो प्राचीन शहरको मर्म अर्कै छ । गङ्गा तीरको यो पुरानो सभ्यताको गर्व बेग्लै छ ।
केटाकेटीमा काठे बाकसमा हेरेको र सुनेको कुरा सम्झिरहेको छु- ‘देख्नेवाला देखो, हावडा पुल देखो !’
अघिल्लो दिन हाम्रा कविलाई ढोग्ने र स्नेह गर्ने फुलरा अनि कथा मुखोपाध्यायको सुन्दरताले आत्तिएर भनेथेँ- ‘मत्स्यगन्धा भनेका यिनै हुन् !’
ठीक तीन दिन पछिको मध्यान्ह । अर्थात् ८ गते । हाउडा जंक्सन । त्यही हो-हल्ला उही भीडभाड । त्यही मिथिला एक्सप्रेस । फरक यत्ति छ आएका हामी फर्किरहेका छौँ । अनि ओमका आँखामा आँसु छ बर्बरी ।
रविन्द्रनाथ, तिम्रो जोडासाकु आउँला फेरि पनि !
(युवराज नयाँघरे चर्चित निबन्धकार हुनुहुन्छ ।)