समाचार
वासिङ्टन डीसी ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गतको डीसी मेट्रो च्याप्टरले साहित्यकार पारिजातलाई स्मरण गर्दै स्थापना दिवस मनाएको छ । जुममार्फत आयोजित कार्यक्रममा कवितावाचन, नृत्य, गीतापाठ, बाँसुरी धुन तथा स्रष्टा सम्मानलगायत विविध प्रस्तुति समावेश गरिएको थियो । अनेसासका करिब ८२ च्याप्टरमध्ये डीसी मेट्रो च्याप्टरलाई अग्रणी च्याप्टरका रूपमा लिने गरिन्छ ।
कार्यक्रममा संस्थापक अध्यक्ष मोहन सिटौला प्रमुख अतिथि रहनुभएको थियो भने पदम विश्वकर्मा, सर्वज्ञ वाग्ले, श्रवण मुकारुङ र गोवर्धन पूजा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । प्रमुख अतिथि सिटौलाले डीसी च्याप्टरले भाषा, साहित्य, कला र विभिन्न पुस्तालाई समेट्दै प्रेरणादायी कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्नुभयो। अन्य वक्ताहरूले पनि च्याप्टरले अनेसासको उद्देश्यअनुसार प्रभावकारी भूमिका खेलेको धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा रोहिणी शर्मालाई सम्मान गरिएको थियो भने बाल स्रष्टाहरूलाई प्रशंसापत्र तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै बालिका दिव्या नेपाल, आरोही रेग्मी लगायतले सांगीतिक तथा नृत्य प्रस्तुति दिनुभएको थियो । डीसी मेट्रो च्याप्टरका अध्यक्ष नीलकण्ठ सुवेदीको अध्यक्षता र महासचिव जगन्नाथ पौडेलको सहजीकरणमा सम्पन्न कार्यक्रमको अन्त्यमा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गरिएको थियो ।
