काठमाडौं ।
विगत ६० वर्षभन्दा अघिदेखि साहित्यिक पत्रकारितामा सक्रिय अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेलाई उनको ८४औँ जन्मोत्सवको अवसर पारेर नेपाल स्रष्टा समाज, भैरव पुरस्कार गुठीसहित करिब ५ वटा संस्थाले सार्वजनिक रूपमा अभिनन्दन गरेको छ ।
सोमबार प्रज्ञा प्रतिष्ठानमा समाजको आयोजन तथा गुठीको सह आयोजनमा सम्पन्न बृहत् समारोहमा घिमिरलाई कलात्मक ताम्रपत्रसहित अभिनन्दन गरियो । कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. अभि सुवेदी लगायतका अग्रज व्यक्तित्वले घिमिरेलाई अभिनन्दन गरे । उक्त अवसरमा घिमिरे पत्नी सुष्मिता घिमिरेको पनि उपस्थिति थियो ।
सोही अवसरमा अभिनन्दनग्रन्थ ‘रोचक रचना’ पनि सार्वजनिक गरियो । ‘रचना’ बितेको ६३ वर्षदेखि घिमिरेको सम्पादनमा प्रकाशित हुँदै आइरहेको साहित्यिक द्वैमासिक पत्रिका हो । प्रा. डा. सुवेदीले साहित्यको अथक साधना गर्ने व्यक्तिलाई समाजले सार्वजनिक रूपमा सम्मान गर्ने रहेछ भन्ने यस समारोहले देखाएको बताए । प्रा. डा. गोविन्दराज भट्टराईले रचना पत्रिकासँगका केही स्मृतिको चर्चा गर्दै शुभकामना दिए ।अभिनन्दित व्यक्तित्व घिमिरेले रहरै रहरले थालेको रचना साहित्यिक पत्रिका आज इतिहास बनेकोमा खुसी व्यक्त गरे ।