• २०८२ चैत्र ९, सोमबार

‘वानीरा पुरस्कार’ भावुक, शाक्य र गिरीलाई प्रदान गरिने

काठमाडौं ।

वानीरा फाउन्डेसनले नेपाली भाषासाहित्यको सिर्जनामा साढे सात दशकअघिदेखि साधनारत कवि तथा गीतकार माधव खनाल ‘भावुक’लाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको जनाएको छ । यस्तै, बितेको चार दशकअघिदेखि कम्प्युटरमा नेपाली लिपिको निर्माणका साथै पछिल्लो समय कृत्रिम बौद्धिकतामा आधारित मौलिक यन्त्रमानव (रोबोट)को आविष्कार समेत गरी अन्तर्राष्ट्रियजगत्मा नेपालको गौरव बढाएबापत कम्प्युटरविज्ञ मुनि शाक्यलाई ‘वानीरा शंकर पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ ।

यी दुवै पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए । फाउन्डेसनले आख्यान, कविता र हास्यव्यंग्य लेखनमा समर्पित स्रष्टा चितवनका धनराज गिरीलाई ५० हजार रुपैयाँ नगद राशिसहित ‘वानीरा पुरस्कार’ प्रदान गर्ने समेत जनाएको छ । फाउन्डेसनले काठमाडौं महानगरपालिका-३० को विकासमा समर्पित सरोज ढकाललाई ‘वानीरा सेवा सम्मान’ प्रदान गर्ने पनि जनाएको छ ।