• २०८१ बैशाख १४ शुक्रबार

घिमिरेका दुई उपन्यास ‘मौन विद्रोह’ र ‘द साइलेन्ट रिबिलियन’ लोकार्पण

राजधानीमा आयोजित एक विशेष कार्यक्रममा घिमिरेद्वारा लिखित दुई उपन्यासको सार्वजनिक गरिएको छ । शिखा बुक्सका पुष्पराज पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, विशेष अतिथि श्यामल, समीक्षकद्वय उदय अधिकारी र राजकुमार बानियाँ अनि लेखक सुभाष घिमिरेलगायतले उपन्यासको लोकार्पण गर्नुभएको थियो ।

’मौन विद्रोह’ एक नेपाली नारीले परम्परागत सामाजिक मान्यतालाई तोडेर आफ्नो जीवन साथी रोजेको विषयमा केन्द्रित रहेको छ । विमोचन समारोहका प्रमुख अतिथि नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरले साहित्य सरस र हृदयस्पर्सी हुने अनुभव आफूले प्रतिरक्षी वकिलको रुपमा बहस गर्दा पनि पटकपटक गरेको उल्लेख गर्नुभएको थियो । हालैको एक चर्चित मुद्दामा आफूले प्रेरणा भन्ने शब्द उल्लेख गर्दा आफ्नो पक्ष भावुक भएको र त्यसको असर फैसलामा समेत देखिएको उहाँले उल्लेख गर्नुभयो । उहाँले साहित्यकार सुभाषको अंग्रेजी र नेपाली दुवै भाषामा समान दखल भएकोले आगामी दिनमा अझ राम्रा कृतिहरू आउने विश्वास व्यक्त गर्नुभयो । समारोहका विशेष अतिथि श्यामलले साहित्यिक कृतिहरू आकारले भन्दा त्यसमा निहित कथ्यले पठनीय हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा समीक्षक उदय अधिकारीले पहिले अनुवाद र संक्षिप्त लेखनमा देखिनुभएका घिमिरेले आख्यान विधामा प्रवेश गरेर उत्कृष्ट कृति नेपाली साहित्यलाई उपहार दिनुभएको बताउनुभयो । उहाँले नेपाली लेखकहरूलाई अङ्ग्रेजीमा लेख्न प्रेरित गर्दै भन्नुभयो, “हामीले लेखेको प्रोजेक्ट रिपोर्ट विश्वभरका अङ्ग्रेजी जान्नेले पढ्न र बुझ्न सक्छन्, हाम्रो अनुवाद बुझ्छन् भने हामीले लेखेको साहित्य नबुझ्ने कुरा हुन सक्दैन । भारतका चर्चित लेखक सलमान रुस्दीले आफ्नो अङ्ग्रेजी लेखन भारतीय शैली, भाषा र स्तर अनुसार हुन्छ भनेर हामीलाई पनि नेपाली शैली र स्तरमा लेख्न प्रेरित गर्नुभएकै छ ।”

अर्का समीक्षक राजकुमार बानियाँले उपन्यास नयाँ शैलीमा आएको उल्लेख गर्नुभयो । उहाँले मौन विद्रोह एक महिला पात्र अनामिकाको बाल्यकालदेखिको मनोभाव र विद्रोहसम्मका कुराहरूलाई आफैले प्रस्तुत गरेको सुन्दर अभिव्यक्तिको सङ्ग्रहको रूपमा लिन सकिने बताउनुभयो । उहाँले भन्नुभयो , “उपन्यास खण्डहरूमा विभाजित छैन र मुख्य पात्र आफैले आफ्नो कथा भनिरहेको छ । महिला दुःखका साहसिक चित्रण छ । यो पढदा रोकिने अवस्था आउँदैन । पाठकलाई आकर्षित गरिरहन्छ । यो नै मौन विद्रोहको सशक्त पक्ष हो ।”

कार्यक्रममा लेखक तथा उपन्यासकार सुभाष घिमिरेले आफूलाई उपन्यासको आकार सानो भयो कि भन्ने द्विविधा भइरहेको उल्लेख गर्दै भन्नुभयो, “मेरो मूल पात्रले भन्न खोजेको कुरा सकियो । त्यस पछि त रोकिनै पर्यो । अरु गन्थन जोड्ने कुरा भएन । मलाई कवि श्यामलको अभिव्यक्तिले ढाडस दिएको छ । आकार हैन कथानक मूल कुरा हो । सन्देश मूल कुरा हो । यसमा विमति जनाउने ठाउँ छैन ।”

उहाँले आफू अध्ययन र कामको सिलसिलामा दुई दशक अमेरिका बसेको उल्लेख गर्दै विदेश बस्ने नेपाली र अझ विदेशमा नै जन्मिएको नयाँ पुस्ताका लागि अङ्ग्रेजीमा किन नलेख्ने भनेर त्यही कथावस्तुलाई ‘द साइलेन्ट रिबिलियन’मा पस्किएको बताउनुभयो ।