... र शलभ
काठमाडौँ ।
फिल्म ‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमबीच शुक्रबार गीत सार्वजनिक गरिएको हो। गीतमा दीपिका बयाम्बु मगर र खेम सेन्चुरीको स्वर रहेको छ। खेम सेन्चुरीकै संगीत रहेको गीत रमेश बिजीले लेखेका हुन् । यसअघि गायिका दीपिकाले गाएको ‘कश्मिरे पछ्यौरी दार्जलिङको रेल’ गीत दर्शकमाझ निकै लोकप्रिय बनेको थियो ‘मायालाई के दिउँ म बैना’ गीतको भिडिओमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ तथा डेब्यु कलाकार विशाल देवकोटा फिचर्ड छन्। प्रदीप लामाको कोरियोग्राफी रहेको गीत बर्दियाको राजापुरमा छायांकन गरिएको हो ।
यो फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी र सरस्वती अधिकारी लगायतको अभिनय छ। यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दै छन ।
निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन्। कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् । षट्कोण आर्टसले निर्माण रहेको फिल्मको प्रदर्शन आगामी २०८३ वैशाख १८ गतेलाई तय गरिएको छ ।
