कविता

गर्छिन् पुकार आमा रोई कराई जोडले
होइन मेरो भन्छिन् सन्तान थरीथरीका ।
कोही धनी असाध्य, कोही गरीब माग्ने,
सक्दिनँ देख्न भन्छिन् सन्तान थरीथरीका ।
नाङ्गो छ आङ कहीँ, कहीँ पोसाक मखमल,
सक्दिनँ हेर्नु भन्छिन् सन्तान थरीथरीका ।
सुनको थाल काहीँ, काहीँ छ पातखाली,
सक्दिनँ सुन्न भन्छिन् सन्तान थरीथरीका ।
भन्छन् महल कसैका, काहीँ छ चुथ्रो झुप्रो
सक्दिनँ सहन भन्छिन् सन्तान थरीथरीका ।
म.वी.वि. शाह