समाचार
काठमाडौँ ।
डायस्पोराका सक्रिय साहित्यकार कृष्ण बजगाईंको ‘डायस्पोरा र सपना’ कवितासङ्ग्रह बजारमा आएको छ । वि. सं. २०४१ सालमा पत्रिकामा कविता प्रकाशित गरेर औपचारिक रूपमा साहित्य लेखनमा सक्रिय बजगाईंका कविता, हाइकु, नियात्रा, कथा, लघुकथा र बालसाहित्यका ३३ साहित्यिक कृति प्रकाशित भएका छन् । यस ‘डायस्पोरा र सपना’ कवितासङ्ग्रहका कवितामा जन्मभूमिप्रतिको मोह, परदेशी जीवनको यथार्थता, एक्लोपना, आशा, सपना र बेलाबखतका निराशाका स्वरहरू मिसिएका छन् ।
डायस्पोरा स्थान मात्र होइन, अवस्था पनि हो – जहाँ शरीर कर्मभूमिमा हुन्छ र मन जन्मभूमिको सम्झनामा बाँचिरहेको हुन्छ । त्यस्तो अवस्थामा सपना जन्मिन्छन् – जन्मभूमि फर्किने सपना, कर्मभूमिमा बसिरहने सपना र घरपरिवारको भविष्य उज्ज्वल बनाउने सपना । यस्तै काव्यिक सपनाहरुको सङ्ग्रह हो डायस्पोरा र सपना । ‘आप्रवासी नेपाली कवितामा अलङ्कारविधान’ विषयमा विद्यावारिधि गरेका डा. पुरण राई मन्तव्यमा लेख्छन्, “कवि कृष्ण बजगाईंको ‘डायस्पोरा र सपना’ डायस्पोरिक कविताहरू मात्र सङ्गृहीत भएको पहिलो कवितासङ्ग्रह हो ।”
लामो समयदेखि विदेशमा बसेर नेपाली भाषा साहित्यको उन्नयनमा क्रियाशील बजगाईं समकालीन साहित्य प्रतिष्ठान बेलायतकको संस्थापक अध्यक्ष हुन् । उनले सन् २००७ देखि ‘समकालीन साहित्य डट कम’ अनलाइन साहित्यिक पत्रिका र सन् २०१७ देखि नेपाली भाषा साहित्यको अनुसन्धानमूलक अन्तर्राष्ट्रिय जर्नल ‘प्रवासन’ सम्पादन गरिरहेका छन् । भुँडीपुराण प्रकाशन काठमाडौंबाट प्रकाशित ‘डायस्पोरा र सपना’ कवितासङ्ग्रको मूल्य १९० रूपैयाँ छ ।
