• २०८२ फाल्गुन २७, बुधबार

परशु–कल्पना स्रष्टा सम्मान किरण खरेललाई अर्पण गरिने

काठमाडौं  ।

यस वर्षको परशु कल्पना स्रष्टा सम्मान गीतकार किरण खरेललाई अर्पण गरिने भएको छ । नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याएका उनलाई रु.एक लाख एक सय ११ रुपैयाँ नगदराशि सहितको उक्त सम्मान अर्पण गर्न लागिएको हो । नेपाली सङ्गीतलाई आधुनिक धारमा डोर्याउने खरेल विगत छ दशकभन्दा बढी समयदेखि गीत लेखनीमा सक्रिय छन् । उनले नेपाली चलचित्र माइतीघरको लागि लेखेको वसन्त नै बस्न खोज्छ यहाँ धेरै चर्चित र सदाबहार गीत बनेको छ । त्यसयता करिब सात सय जति गीतहरू खरेलले लेखेका छन् ।

उनी कुशल कार्यक्रम सञ्चालक तथा रेडियो प्रस्तोता समेत हुन् । के हो तिम्रो नाउँ ?, मेरी परु, मेरी प्रियतमा, ए दुरका सितरा लगायतका गीतिसङ्ग्रह प्रकाशित भैसकेका छन् यसका साथै थुप्रै नेपाली चलचित्रका लागि उनले गीत दिएका छन् । यसका साथै थुप्रै म्यूजिक भिडियो समेत स्वराङ्कन भएका छन् । नेपाली गीति परम्परालाई आधुनिक धारमा ल्याउने श्रेय पनि खरेललाई छ ।

नेपाली साहित्यका विशिष्ट साधक स्व. परशु प्रधान तथा उनकी धर्मपत्नि कल्पना प्रधानको नाममा उनीहरुका सन्ततीहरुले वि. सं. २०८० सालमा परशु कल्पना स्रष्टा सम्मानको स्थापना गरेको नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले बताए । उनका अनुसार उक्त सम्मान आगामी चैत ७ गते राजधानीमा विशेष कार्यक्रम आयोजना गरि समर्पण गरिनेछ ।