• २०८२ फाल्गुन २२, शुक्रबार

उदयपुरको गाईघाटमा ‘तुलसी स्मृति ग्रन्थ’को लोकार्पण

उदयपुर ।

उदयपुरको गाईघाटस्थित रेग्मी निवासमा सोमबार ‘तुलसी स्मृति ग्रन्थ’को लोकार्पण सम्पन्न भएको छ। लोक सेवा आयोगका केन्द्रीय अध्यक्ष माधव प्रसाद रेग्मीले एक कार्यक्रमका बीच ग्रन्थको औपचारिक लोकार्पण गर्नुभएको हो ।

लोकार्पण गर्दै अध्यक्ष रेग्मीले बहुआयामिक व्यक्तित्वका धनी स्व. तुलसीप्रसाद रेग्मी साहित्य मात्र नभई समाजसेवा, पत्रकारिता, राजनीति तथा अन्य विविध क्षेत्रमा सक्रिय र योगदानशील व्यक्तित्व रहेको उल्लेख गर्नुभयो। उहाँले स्व. रेग्मीले समाजप्रति पु¥याएको योगदान कहिल्यै बिर्सन नसकिने बताउँदै जिम्मेवारीलाई अनुशासित र उत्तरदायी ढंगले निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

तुलसी मन प्रतिष्ठानको आयोजनामा सम्पन्न उक्त कार्यक्रम प्रतिष्ठानका अध्यक्ष नगेन्द्रराज रेग्मीको अध्यक्षतामा भएको थियो। सो अवसरमा समाजमा उत्कृष्ट योगदान पु¥याउने छ जना सामाजिक व्यक्तित्वलाई सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिएको थियो ।

कार्यक्रममा त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेत, खोटाङ सामाजिक सेवा मञ्च विराटनगरका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली, शेषराज रेग्मी, रेग्मी समाज कोशी प्रदेशका अध्यक्ष माधव रेग्मी, हर्कनारायण श्रेष्ठ, उदयपुर साहित्य कला प्रतिष्ठानकी सचिव सरिता पौडेल गुरागाईं, महासचिव माधव पोखरेल गोज्याङ्ग्रे तथा नेपाल सरकारका पूर्व प्रशासक गोविन्द रेग्मीले स्व. तुलसीप्रसाद रेग्मीको व्यक्तित्व र योगदानमाथि मन्तव्य राख्नुभएको थियो ।

प्रतिष्ठानका सचिव महेश रेग्मीले सम्मानपत्र वाचन गर्नुभएको थियो भने रश्मिता रेग्मीले अतिथिहरूलाई स्वागत मन्तव्य दिनुभएको थियो। उदयपुर साहित्य कला प्रतिष्ठानका तर्फबाट महासचिव माधव पोखरेल गोज्याङ्ग्रेले स्व. रेग्मीलाई नेपाली भाषा, साहित्य तथा सञ्चार क्षेत्रमा पु¥याउनुभएको विशिष्ट योगदानको कदरस्वरूप प्रदान गरिएको मरणोपरान्त सम्मानपत्र प्रतिष्ठानका अध्यक्ष नगेन्द्रराज रेग्मीलाई हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा त्रियुगा जनता बहुमुखी क्याम्पसका उपप्राध्यापक टीकाप्रसाद पौडेलले ‘तुलसी स्मृति ग्रन्थ’मा समावेश विभिन्न लेखकका लेख–रचनामाथि सरल र रोचक ढंगले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो । स्व. तुलसीप्रसाद रेग्मीको वार्षिक पुण्यतिथिको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा सुनसरी, मोरङ, उदयपुर, झापा, खोटाङ, काठमाडौंलगायत विभिन्न स्थानबाट साहित्यकार, शुभचिन्तक तथा रेग्मी परिवारका आफन्तहरूको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ ।