• २०८२ माघ ६, मंगलवार

अर्जुन भएर उठ

एस. आर. ढकाल

एस. आर. ढकाल

सुरूवात नपर्ख
आरम्भ तिम्रै पाइलाहरूबाट छ
नपर्ख अब विलम्ब हुनेछ
सबै तिर भत्किसक्यो
सबैतिर ढलिसक्यो
सबै बगिरहेछ ।

नपर्ख
तिम्रै पाइलाहरूले टेक्नु पर्छ
तिम्रै बाहुहरूले छेक्नु पर्छ
अब त सबै सकियो
ज्ञान सकियो विवेक सकियो
मानवता क्वाँ क्वाँ रोइरहेछ
यही गतिलाई रोकेनौ भने
समाप्त हुनेछन निष्ठा र लज्जाका पर्खालहरू
कहीँ पनि छैन कृत्यहरूमा उफ ! गर्ने सम्वेदनाहरू
पुल बनी सक्दा ढल्छ
बाटो बनी सक्दा बग्छ
रोग लागी सक्दा विरामी मर्छ

अब रोक
झुटका लस्करै वयानहरूलाई
नबजाउ ताली
परिवर्तन तिमीबाटै आरम्भ गर
न्याय गनायो र ऊ लज्जित छ आफैँ सँग
कमिशन, लुट, सेटिङ, पैसाले सबै गनायो

उठ !
अब तिमी बाटै आशागर्छ सुधारले
यो समाजले
हे युवा ! आरम्भ गर
समय पर्खेर बसेको छ
चौतारीमा तिम्रो आगमनको
मेचीबाट कालीबाट माटो माटो भएर
कण कण जोडेर उठ
उठ अब रगत पखाल्नु छ
भ्रष्टाचारको अजिङ्गरले निलिसक्यो
दासत्व उन्मुक्तिको ज्वाला लिएर
बिउँझ देशले तिम्रो काँध खोज्दैछ
विकराल अन्यायको कालो आंधी
नैतिकताका बिम्बहरू भएर
बढारि देउ यी कलुषित भ्रष्टाचारका शृङ्खलाहरू
पुरिदेउ
जता टेक्दा पनि भासिने दलदलहरू
अति भो अब धान्दैन धर्तीले
गाण्डिब भएर आउ
किल्ला अभिमन्यु भएको छ
दुशासनहरू द्रोणाचार्य वध गरेर
उन्मुक्ति देउ यो माटोलाई

हे युवा !
तिमी महानायक हौ
गनायो धर्ती, हल्लियो हिमाल
उठ अब उठ भिमसँग
अर्जुन भएर उठ ।

भ्रष्टाचार विरूद्धको युद्ध कविता


एस.आर. ढकाल
[email protected]