कविता
काठमाडौँ ।
पत्रकार विराट अनुपमले लेखेको पुस्तक ’पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक भएको छ । उक्त पुस्तक मंगलबार काठमाडौंमा सार्वजनिक भएको हो । पुस्तकमा नेपालको इतिहासमा भएको पहिलो संसदीय निर्वाचनसम्बन्धी विस्तृत विवरण समेटिएको छ । फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुन गइरहेका बेला पत्रकार विराट अनुपमले भने नेपालको पहिलो संसदीय निर्वाचनका विवरण समेटिएको पुस्तक ल्याएका हुन् ।
आगामी निर्वाचनमा युवा पुस्ताले सक्रिय भएर सहभागिता जनाइरहेको बेला नेपालको इतिहासमा भएको पहिलो संसदीय निर्वाचनको पुस्तक ल्याएको उनले बताए । ’नेपालको राजनीतिसँग मतलब छैन भन्ने नयाँ पुस्ता यतिबेला राजनीतिक बहस र छलफल गरिरहेको छ । यो पुस्तकले युवा पुस्तालाई मुलुक कसरी लोकतन्त्रमा प्रवेश गरेको थियो भन्ने ज्ञान दिने विश्वास छ । पहिलो पटक मतदान गर्न लागिरहेको युवा पुस्तालाई देशमा भएको पहिलो चुनाव कस्तो थियो भनेर पनि यो पुस्तकले जानकारी दिनेछ,’ लेखक विराट अनुपमले भने ।
प्राध्यापक तथा लेखक जगत नेपालले विराट अनुपमको पहिलो संसदीय निर्वाचनबारेको पुस्तक नेपालको पहिलो आमनिर्वाचनको अभिलेखीकरण भएको बताए । नेपालको इतिहास र लोकतान्त्रिक पद्धतिमा रुचि राख्नेहरूका लागि उक्त पुस्तक सहयोगी हुने नेपालको भनाइ थियो ।
