समाचार

दुबईको एउटा होटेलबाट नाइटड्युटी सकेर बिहान डेरामा फर्केपछि शान्तमको मोबाइलमा घन्टी बज्यो– साथी रबिनको रहेछ, जो बिहानको ड्युटीका लागि त्यही होटेलबाट गएको थियो आफ्नो पालोमा ।
फोनमा रबिनले सूचना दिँदै भन्यो– ‘साथी रघुवीरकी श्रीमती त भएभरको सम्पत्ति बोकेर अर्कै केटासँग पोइल गइछ । १०–१२ वर्ष कुवेतमा बसेर कमाएको पैसा बाबु–आमाको नाममा पठाइदिन्थ्यो । घरजग्गा सबै आफ्नै नाउँमा गरेकी रहिछ । रघुवीर पागलजस्तै भएर गाउँमा फर्केका छन रे होस् गर है शान्तम । स्वास्नीमान्छेको के भर स्वास्नीको नाममा धेरै पैसा नपठाऊ । लोग्नेहरूको अनुपस्तिथिमा स्वास्नीहरूको मन बहकिने रहेछ ।’
रबिनको कुरा सुनेपछि शान्तमको मनको पोखरीमा गहिरो चिन्ता र डर भुलुक्क उम्लियो । मानौँ रघुवीरकी श्रीमतीको घटना उसके लागि हुरहुरती बलेको दाउराहरू भएका छन् । बिहान होटेलबाट फर्केर सुत्ने उसको सधैँको दिनचर्या त्यही क्षण टुङ्गियो । पलङमा ऊ मूर्तिझैँ बस्यो– न त ऊ सुत्न नै सक्यो, न त उसले केही सोच्न नै सक्यो । एउटा डरको डल्लो मानौँ उसको घाँटीमै अड्किएको छ । केही दिन अवसादपूर्ण मौनताको जालोमा अडकिए पछि– उसको घाँटीमा अडकिएको डल्लो मनकै भाँडोमा खस्यो । बाहिर निस्कन सकेन । पाँच वर्ष कमाएको पैसा त महिनैपिच्छे उसले श्रीमतीको नाममा पठाइरहेको छ– घर बनाउन नसके पनि आरुबारीतिर चार आनाको जग्गा किनेकी छ– उसैको नाममा । एउटा पाँच वर्षको छोरा बोर्डिङ् स्कुलमा पढ्छ । श्रीमती जूना आफ्नै सानो सिलाइबुनाइको काम गर्छे । अरू उसको कमाइको पैसा बैङ्कमा जम्मा गरेकी छ । तर रघुवीरकी श्रीमतीको मन बिग्रेझैँ जूनाको मन पनि त बिग्रनसक्छ । लोग्ने–स्वास्नी आपसमा विछोडिएर धेरै समय बस्दा जूनाको मन बरालिनसक्छ । आफूले दुःख गरेर कमाएको पैसा, चलअचल सम्पत्ति गुटमुट्याएर पोइल जान के भर भयो र ? मान्छेको मन न हो, कति पात्र, घटनाहरू मनग्य घटेका छन् नि ! कुन बेला उसको मतिमा कालो छायाँले ओगट्छ… के थाहा ? के विश्वास ? समाजमा कस्ता–कस्ता यौनपिपासु लोग्नेमान्छेहरू हुन्छन्– कस्तो–कस्तो बलात्कारका घटनाहरू घट्छन । ऊ नहुँदा यस्ती तरुनी, राम्री जूनामाथि कति पुरुषहरूको वक्र दृष्टि परेको होला र त्यस्ता विषालु यौनासत्त आँखा र मनहरूबाट बच्न सक्ली र जूना ? आजकल बलात्कार गर्ने, भगाउने मनस्थिति भएका पुरुषहरूले वृद्धा स्वास्नीमान्छे त भन्दैनन् भने ती तरुनी जूनालाई आव्रmमण गर्न या भगाउन कति मौका ढुकेका होलान्, कति फकाएका होलान् भोका पुरुषहरू । फेरि विदेशमा बसेर कमाएर पठाएको लोग्नेको तरुनी स्वास्नी–लोभी आँखा नलगाउने कुरै भएन । यस्तै मौकाको फाइदा उठाएर त होला रघुवीरकी श्रीमती पोइल गएकी । कति लल्याइफकाइ ग¥यो होला, कति माया देखायो होला, कति ठाउँमा घुमाउन लग्यो होला, कति सँगै फिल्म हेर्न गए होलान् । त्यसै मन बहकिन्न र स्वास्नीमान्छेको ?
मनलाई शङ्काको घनले धेरैपल्ट हान्दै गएपछि शान्तमले काठमाडौँमा जूनालाई फोन ग¥यो । उसले सोचेको थियो– जूना सिलाइमा व्यस्त होली । धेरैपटक फोन गर्दा पनि जूनाले फोन उठाइन– झन् क्रोध, शङ्का,अविश्वास र डरको आन्दोलन सुरु भयो उसको मनको आँगनमा । किन उठाइन फोन ? कता गई ? मेसिन चलाउन व्यस्त हुनुपर्ने जूना दोकान छोडेर कहाँ कोसँ गई ? छोरीलाई त स्कुल पाठाई होली । मेसिन चलाएको सुन्न पाएको भए त शान्तमको मन ढुक्क हुन्थ्यो होला । अनेक उपशङ्काका सर्पहरूले डस्न लाग्यो उसलाई र उसको विश्वास, सुख र शान्तिलाई । जूना कसैसँग घुम्न गई होली । उसले चिनेका कति केटाहरू छन् । गाउँमै एउटा केटोले उसलाई हुरुक्कै गरेको थियो । हुनसक्छ– त्यो केटा फेरि जूनाको पछि लाग्यो कि ? रघुवीरकी श्रीमती जस्तै…। शान्तमले अगाडि सोच्न पनि उसको मुटुमा कम्पन छुट्यो ।
विवेकको पर्दा खोल्दै एउटा मनले सोच्यो– कतै कामले बाहिर गई होली– एक्लै छे– किनमेल गर्नुपर्यो होला । सबै आफैले गर्नु परेपछि सधैँ डेरामै बस्न त सम्भव हुँदैन । फेरि विदेशमा आएका लोग्नेमान्छेहरूले पनि श्रीमतीहरूलाई धोखा दिएका, सम्बन्ध–विच्छेद गरेका, अर्की श्रीमती लिएर आएका घटनाहरू कति सुनिन्छन् कति । शान्तम पनि त कहिलेकाहीँ आफ्नै नेपाली केटीसाथी लिएर घुम्न गएको छ– मन लागेको बेला शारीरिक सन्तुष्टि पनि त लिएको छ । यो कुरा जूनाले थाहा पाइ भने उसलाई कस्तो आघात पर्ला । बिचरी जूनामाथि यति ठूलो पाप चिताउनु के न्यायसङ्गत हो ! फेरि समाज त सारे पक्षपाति छ । यो पितृसत्तात्मक समाजले एउटी स्वास्नीमान्छे लोग्नेलाई विनाकारण त छोडेर जान सक्तिनँ । कसैलाई मन पराएर वा लोग्नेको प्रताडनाको सिकार भएर दोस्रो बिहे गर्छे भने समाजमा स्वास्नीमान्छे बदनाम हुन्छे, अपहेलित र तिरस्कृत हुन्छे, अनेकौ लाच्छना लगाइन्छ । जीवनभर सबैको आँखा र मनबाट ऊप्रतिको सम्मान सबै तिरोहित हुन्छ । उसको यो गल्ती या आफूखुसी गरेको निर्णय जो समाजले, परम्पराले स्वीकृति दिएको हुदैन । अक्षम्य अपराध ठहरिन्छ । तर त्यही लोग्नेमान्छेहरू आफ्ना तीन–चारवटी श्रीमतीहरूलाई लिएर सानसँग गर्वोन्मत छाती फर्काएर समाजमा हिँडेको पनि देखिन्छ । शान्तमले सोच्यो बिचरा स्वास्नीमान्छेको जिन्दगी कस्तो सियोको टुप्पोजस्तो ! लोग्नेको एउटा सानो शङ्काले स्वास्नीको सारा त्याग, माया, समर्पण, असल गुणहरूको कुनै मूल्य र मान्यता भएन र स्वास्नीमान्छेप्रति यो घोर अन्याय र भेदभाव भएन र ? आज शान्तमको अशान्त मनले, उसको स्वास्नीप्रतिको अविश्वासको कालो छायाँले उसकै सुखको राज्य भत्काइदियो– मात्र अर्काको जीवन घटना सुनेर– आफ्नै जीवनको सुन्दर लयको श्रृङ्खला चुँडिनथाल्यो ।
धेरै बेरसम्म भट्किएपछि, धेरै बेरसम्म पापको पोका मनमा पारेपछि, जीवनको फूल होइन, काँडाहरू खोजेपछि, शान्तमले आफूभित्र टाँसिएको धूलो टकटक्याउँदै सोच्यो– हत्तेरी जूनामाथि कस्तो अविश्वास गरे हुँला ! कस्तोकस्तो घिनलाग्दो सोचे हुँला । उसको विश्वासको ताला किन तोड्न खोजेँ हुँला । ऊ त इमानदार, सोझी, मेहनती र समझदार स्वास्नी हो, हमेसा उसले मेरो उन्नति चाहन्छे– जीवन कसरी सुन्दर ढङ्गले बिताऊँ भनेर सोच्छे सल्लाह गर्छे । म विदेश आउँदा आफ्नो माइतीले दिएको गहना पनि बिक्री गरेर हातमा पैसा हालिदिएकी थिई । आफ्नो र छोरीको पीर नगर्नु भनेरै कति आश्वासन दिएकी थिई उसले । मैले कमाएर पठाएको पैसाको हिसाब उसले राम्ररी राखेकी छ । सधैँ फोनमा मेरो स्वास्थ्यको बारे सोध्छे । सधैँ मेरो प्रगतिको कामना गर्छे । त्यति गुनिली, सोझी र इमानदार श्रीमतीमाथि पाप चिताउनु त जिउँदै नरकमा जानु होइन र ! फेरि ऊ स्वयम् कमाइदार छे । आत्मनिर्भर छे । कहिल्यै उसले नराम्रो व्यवहार गरेको, मुख लगाएको थाहा छैन । सहरमा आएर सिलाइबुनाइको काम गरेर जग्गा लिनसक्नु के जूना हिम्मती होइनन् ? शान्तमले सोच्यो आफ्नो उग्रतालाई मत्थर बनाउँदै– यस्तो सुख र विश्वासको जिन्दगीमा किन दुःख खोजिरहेँ ? किन उसले आफू हिँडिरहेको शान्त बाटोमा ढुङ्गाहरू फालिरहेछ– आफ्नो फैलिएको उज्यालोलाई सङ्कुचन गर्दै अँध्यारो पारिरहेछ ?
मनको त्यो शङ्काको ढोका कहाँ बन्द हुनु ? ढोकाका दुवै खापाहरू खुल्दैरहे जोडजोडले । फेरि बटारिन थाल्यो उसको पुरुष अहं । फेरि टाँसिन थाल्यो उसको मनभरि स्वास्नीप्रतिको अविश्वासको धूलो ।
उसले फोन गरिरह्यो, गरिरह्यो तर पनि फोन उठेन । क्रुद्घ भएर– पागलझैँ भएर– घरि मोबाइल पलङमा फाल्ने, घरि जोडले समात्ने, घरि आफैँ मुरमुरिने, घरि आफ्नो बोलीबाट श्रीमतीप्रति अश्लील गाली निस्किरहने…। जूनालाई कहिल्यै अपशब्द प्रयोग नगरेको निकृष्ट शब्दहरू कोठाको भित्तै छेडिएला जस्तो गरेर निस्किन थाले… फुँडी र…वाइफाले…। ज्ति अपशब्द निकालेर आफ्नो रिस पोखे पनि ऊ शान्त हुन सकेन । फेरि फोन ग-यो… बल्ल हस्याङफस्याङ गर्दै फोन उठाई जूनाले ।
सम्पूर्ण रिसको आवेग खन्यायो शान्तमले थरथर काम्दै, मानौ मोबाइलबाटै उसले जूनामाथि कठोर बम खसाल्दैछ ।
‘यतिबेलासम्म कहाँ गएको थिइस् ? के सुनिनस् मोबाइलको आवाज ?’ उसको आवाज अझै चर्किंदैगयो–उसको वाणीबाट उसको मनको अविश्वास र लाञ्छानाका शब्दहरू भएर निस्कन खोजे– ‘तँ को नाठोसँग घुम्न गइस् ? म नभएको बेला आफ्नो नाठो बनाएको होली । मैले कमाएर पठाएको सबै सम्पत्ति कुम्ल्याएर नाठोसँग भाग्ने साँठगाँठ त गर्न लागेकी छैनस् ? के भर भयो एक्लै बसेकी तरुनी स्वास्नीको ?’
तर एकाएक ऊभित्र बाहिर निस्कन उफ्रिरहेका ती अश्लील र कलङ्कित शब्दहरू मनभित्रै थचारिए । उसको आँखाअगाडि जूनाको त्यो सोझी र मायालु अनुहार । जसको रापले ती जल्दै गरेका शब्दहरू चिसिएर गए ।
शान्तमको त्यस्तो कहिल्यै नसुनेको चर्को न चर्को बोली सुनेर जूना एकछिन त स्तब्ध भई– केही साच्नै सकिन ।
बिस्तारै भनी– ‘किन त्यस्तो आवाज निकाल्नु भएको ? सिलाइबुनाइको सामान सकिएकाले बजार गएकी नि ! त्यो भीडभाडमा मैले मोबाइलको आवाज नै सुनिनँ ।’
शान्तमको मनभित्रको ज्वार पो शान्त भएको थियो तर हराएको, विलाएको त थिएन नि ।
‘मलाई मेसिन चलाएको आवाज सुनाऊ ।’
‘किन सुनाउने ? म भर्खर आएकी छु ।’
‘तिमी डेरामा हुनु नहुनुको प्रमाण चाहियो ।’
‘ए प्रमाण चाहियो तपाईलाई ? के मेरो चरित्रको प्रमाण खोजेको ? लौ सुन्नूस् आवाज ! मेसिनको आवाज मात्र सुन्नूस अबदेखि ’! मेरो आवाज सुन्न पाउनु हुनेछैन ।’
जूनाको लाटो र सोझो रिस पटाका पटकिएझैँ पड्कियो । शान्तमको फोन आउँदा मेसिनको आवाज मात्र सुनाइरही, कतिपल्ट शान्तमले हेलो… हेला जूना भन्दा पनि उसको मनको आकाश खुलेन– ‘प्रमाण’ शब्दले उसको विश्वास र मायाको आकाश च्यातिएको थियो । उसको चित्त दुखेको थियो गहिरोसँग । मानौँ, कसैले केही नभएको सग्लो कपडा च्यातेको झैँ, उसै गरेर उसको मन पनि फाटेको थियो लोग्नेसँग । आफ्नो चरित्र र इमानदारीमाथि लोग्नेले अनयास प्रश्न गर्दा जूनाले आफूलाई सम्हाल्न सकेकी थिइन ।
हप्तौँसम्म उसले शान्तमको मोबाइलमा मेसिनको आवाज सुनाइरही । उसलाई लाग्यो– लोग्नेलाई उसको बोलिमा होइन, मेसिनको आवाजमा विश्वास रहेछ । सुनिरहोस् मेसिनको आवाज मात्र ।
धेरै दिनसम्म जूना नबोलेपछि छटपटीले औडाहा भएर शान्तमले जूनासँग माफी माग्दै भन्यो– ‘भो…भो जूना मलाई माफ गर ! अब मलाई मेसिनको आवाज नसुनाऊ । बोल जूना बोल ! नरिसाऊ !!’
जूनालाई बोल्न मन लागेन– पटक्कै मन लागेन । ‘प्रमाण’ शब्दको गोली जुन उसको मुटुको केन्द्रमा लागेको थियो, त्यो अझै निस्कन सकेको थिएन ।
मेसिनको आवाज भने सुनाइरही खट्ट्… खट्ट्… ख ट् ट् ।