सपनाहरू हराउँछन्
सपनासँग आँखा पनि हराउँछन्
हिजो–आज
सपना र आँखा बोक्ने
मन पनि हराएको छ
थाहा छैन किन
एकतमाससँग
अराजक सहरजस्तै
म आफैँ हराएको छु
अलमलिएको छु
आफ्नै सपनाको भीडमा
थाहा छैन मलाई
समयको आरनमा
बिग्रेको सपना कसरी जोड्ने
हराएका आँखा कसरी खोज्ने
र
बेपत्ता मनलाई कसरी
आकार दिने
नयाँ बनाउनु त झन् कसरी !
भएकाहरू हराएपछि
आफ्नो कसलाई मान्नु
आफ्नाहरू हराइरहेका छन्
हिजो–आज
आफ्नासँगै आफ्नोपन पनि हराउँछ
आफ्ना र आफन्त बोक्ने
सम्बन्ध पनि हराएको छ
थाहा छैन किन
स्वार्थैस्वार्थमा सम्बन्ध बाँधिन्छन् र
अठ्याउँछन् घाँटी
टुट्नुभन्दा पहिले
म आफैँ निसास्सिएको छु
तड्पिएको छु
र मरेर आउँछन् रहरहरू
उठ्न मान्दैनन् सपनाहरू
किन–किन एकनाससँग बग्ने नदीजस्तै
एक्लोपन राम्रो लाग्छ
हराएका सपनासँगै
म आफैँ हराएको राम्रो लाग्छ
नभेटिने सपनाहरूको खोजीमा !!
साभार: तिमीविनाको म (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)