• २०८२ फाल्गुन २२, शुक्रबार

राप्ती साहित्य परिषद्ले गरेको बालकविता प्रतियोगितामा अंशु पौडेल प्रथम

काठमाडौँ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा ‘निमादेवी खनाल स्मृति बालप्रतिभा पुरस्कार’ का लागि घोराहीमा बालकविता प्रतियोगिता भएको छ । घोराहीस्थित गोर्खा इन्टरनेसनल पब्लिक सेकेण्डरी स्कुलमा आयोजित उक्त प्रतियोगितामा १० विद्यालयका १४ वर्षमुनिका २८ विद्यार्थी सहभागी थिए ।

प्रतियोगितामा सिद्धार्थ एकेडेमीकी अंशु पौडेल प्रथम, ज्योतिपुञ्ज बोर्डिङ स्कुलकी प्रेशा खनाल द्वितीय, गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलकी प्रिन्सा पोखरेल तृतीय र जनज्योति विद्यामन्दिरकी रुवि अधिकारी सान्त्वना भएकी छन् ।

राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता, राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार तथा पुरस्कार संस्थापक संस्थापक पुरुषोत्तम खनालको प्रमुख आतिथ्य तथा गोर्खा इन्टरनेसनलका प्रिन्सिपल मानसिङ घर्ती विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

संस्थाका सचिव घनश्याम केसी र अध्ययन मञ्च दाङका अध्यक्ष सूर्य बिसीले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक सुरेशकुमार पाण्डेले शब्दमार्फत उपस्थित जनलाई स्वागत गरेका थिए । कार्यक्रममा वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगी, देवेन्द्र रिजाल र विना रोका निर्णायक रूपमा रहेका थिए ।