• २०८१ बैशाख १३ बिहीबार

अनन्त यात्रा यो मेरो

बसन्त चौधरी

बसन्त चौधरी

थाहाजस्ता
अथाहजस्ता
अनिगिन्ती छन् कथाहरू
ती अमूर्त कथाका शृङ्खलाहरू
जिज्ञासावश
मनैमन बोकेर
जुगौँदेखि
म निरन्तर यात्रारत छु ।

अनेकौँपल्ट भत्कियो यो सहर
अनेकौँपल्ट बन्यो यो सहर
गल्छेडाहरू चिर्दै
फराकिलो सडक भयो यो सहर
अनि
यही चौडा सडकको
कापमा च्यापिएर
अनेकौँपल्ट घाइते भयो यो सहर ।

आक्रान्त पीडाले
कहालिएको देखेको छु यो सहर
असह्य वेदनाले
छटपटिएको देखेको छु यो सहर
कैयौँपल्ट भक्कानिँदै
रोएको देखेको छु यो सहर
मेरै आँखा अघि
वसन्तमा फूलहरू हाँसेसरि
स्निग्ध र सुवासित उन्मुक्त हाँसो
हाँसेको देखेको छु यो सहर ।

यो सहरसँग म
यति नजिक छु
लाग्छ-
अभिन्न नै छु
स्नेहिल स्पर्श गरेको छु
आफैँलाई अँगालेसरि ।

वेलावेला भुल्छ मलाई यो सहर
नयाँ नयाँ अनुहारमा
नयाँ नयाँ शृङ्गारमा
रूप फेरीफेरी
बदलिन्छ यो सहर
तर म यसलाई चिन्छु किनभने
म यो सहरको भित्र छु
त्यसैले
यसका हरेक छेपारे रङसँग
त्यसै त्यसै
सशङ्कित हुन्छु ।

यसका आँसु र हाँसोसँग
लहसिँदै
आफूलाई हराउँदै गर्दाको प्राप्ति नै
मेरो म हो ।

यो सहरको विस्तृति
यसको छरपस्टता नै

यही म मा समाहित हुन
समाधिस्थ हुन
जुगौँ जुगदेखि
म निरन्तर यात्रारत छु ।

साभार: वसन्त (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)