English Poem
काठमाडौँ ।
साहित्यिक संस्था साहित्यसुधा नेपालले आफ्नो सातौँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा तीन स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा आयोजित कार्यक्रममा प्रा.डा. अञ्जना वस्तीलाई हरिभक्त साहित्यसुधा सम्मान तथा पुरस्कार–२०८२, कवि जगन्नाथ आचार्यलाई केवलपुरे किसान साहित्यसुधा सम्मान तथा पुरस्कार–२०८२ तथा कवि असीम सागरलाई मनीषा साहित्यसुधा सङ्घर्षशील सम्मान तथा पुरस्कार–२०८२ प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार माया ठकुरी तथा साहित्यसुधा नेपालकी अध्यक्ष कल्पना काफ्लेले विशिष्ट अतिथिहरूको उपस्थितिमा सम्मानित व्यक्तित्वहरूलाई दोसल्लासहित जनही १५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सम्मानित स्रष्टाहरूले पुरस्कारले साहित्य सिर्जनामा थप हौसला र प्रेरणा मिलेको बताउँदै साहित्यसुधा नेपालप्रति कृतज्ञता व्यक्त गर्नुभयो । सो अवसरमा कवि जगन्नाथ आचार्यले केवलपुरे किसानका कविता वाचन गर्नुभएको थियो भने असीम सागरले आफ्नी पत्नीप्रति समर्पित कविता प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सम्मानित व्यक्तित्वहरूको जीवनी तथा कृतित्वबारे साहित्यसुधा नेपालका संरक्षक प्रा.डा. देवी नेपाल र संस्थाका सल्लाहकार कलानिधि दाहालले प्रकाश पार्दै नेपाली भाषा र साहित्यको विकासमा उनीहरूको योगदानको चर्चा गर्नुभएको थियो । साथै पुरस्कारका संस्थापक हरिभक्त सिग्देल, केवलपुरे किसानका छोरा कमल पौडेल र साहित्यसुधा नेपालकी परिकल्पनाकार मनीषा प्रसाईंको परिचय समेत प्रस्तुत गरिएको थियो । पुरस्कार स्थापना गरिएका व्यक्तित्वहरूको तर्फबाट आध्यात्मिक कवि हरिभक्त सिग्देलले सम्मान तथा पुरस्कारलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा केवलपुरे किसानकी छोरी गोमा पौडेलले आफ्ना पिताका दुई कविता वाचन गर्नुभयो भने मनीषा प्रसाईंको कविता पनि प्रस्तुत गरिएको थियो ।
विशिष्ट अतिथिहरू अभि सुवेदी र डा. तुलसी भट्टराईले सम्मानित स्रष्टाहरूलाई बधाई दिँदै नेपाली साहित्यमा थप योगदानको अपेक्षा व्यक्त गर्नुभएको थियो । प्रमुख अतिथि माया ठकुरीले साहित्यसुधा नेपालको गतिविधि स्तुत्य रहेको उल्लेख गर्दै संस्थालाई शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमकी सभापति तथा अध्यक्ष कल्पना काफ्लेले साहित्यसुधा नेपालले प्रत्येक वर्ष साहित्य क्षेत्रमा योगदान पु¥याउने स्रष्टालाई सम्मान गर्दै आएको जानकारी दिँदै आगामी दिनमा अझ व्यापक रूपमा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले २०७५ सालमा स्थापना भएको संस्थाले हालसम्म करिब तीन दर्जन कार्यक्रम सम्पन्न गरिसकेको जानकारी पनि दिनुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष गणेश मार्मिकले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । ‘साहित्यको सम्वद्र्धन, हाम्रो अभियान’ भन्ने मूल लक्ष्यका साथ साहित्यसुधा नेपालले आफ्ना साहित्यिक गतिविधि अघि बढाउँदै आएको जनाइएको छ। साथै कार्यक्रममा महिला सहभागिता उल्लेखनीय रहेको चर्चा पनि गरिएको थियो ।
