लघुकथा
काठमाडौं ।
कवि दीपक चौलागाईंको पहिलो कविताकृति ‘हतारमा छन् यात्रीहरू’ सार्वजनिक गरिएको छ। मंगलबार (माघ २७) काठमाडौंमा आयोजित कार्यक्रममा कवित श्रवण मुकारुङलगायतले कृति सार्वजनिक गरे । मुकारुङले कविता लेखन कर्म मृत्युलाई पनि जित्ने कर्म भएको उल्लेख गर्दै एउटा सर्जकको सार्थक सिर्जनाले तिनलाई मृत्युपर्यन्त जीवित राख्ने बताए । उनले चौलागाईंले पाठकलाई पहिलो कृति नै राम्रो सुम्पेको बताउँदै ज्ञानले कुनै पनि सिर्जनालाई शक्ति र उचाइ दिने उल्लेख गरे ।
कवि मणि लोहनीले कवितामाथि पाठकीय टिप्पणी राख्दै क्वान्टम सिद्धान्तमाथि उभिएर कृतिकारले कविता लेखेको बताए । उनले कृतिभित्र विज्ञान कविता भए पनि पाठकले बुझ्न सक्ने कविताहरू रहेको उल्लेख गरे ।
अर्का कवि शकुन्तला जोशीले चौलागाईंका कविता सरल भाषामा काव्यिक बिम्बसहित आएको बताइन् ।
साहित्यकार श्रीओम श्रेष्ठ रोदनले साहित्यमा लाग्नु भनेको यज्ञमा होमिनु रहेको भन्दै आजको समयमा हरेक मानिस हतारमा भएको चर्चा गरे । कवि चौलागाईंले आफूले क्वान्टम सिद्धान्तलाई कवितामा प्रयोग गर्ने सानो प्रयास गरेको बताए । सुनकोसी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा चूडाप्रसाद चौलागाईं, कवि छविरमण सिलवालले बोलेका थिए । यस्तै, कवि डा. अनन्त अधिकारीले कृतिभित्रका कविता वाचन गरे ।
