• २०८२ माघ २८, बुधबार

काव्य महोत्सव, तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौँ ।

पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठानले काव्य महोत्सव, विद्यार्थी तथा स्रष्टा सम्मान गरेको छ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमल, काठमाडौंमा पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठानले काव्य महोत्सव, विद्यार्थी तथा स्रष्टा सम्मान समारोहको आयोजना गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार डा. महेश्वर शर्माको अध्यक्षता, वरिष्ठ साहित्यकार तथा पूर्व मन्त्री नरहरि आचार्यको प्रमुख आतिथ्य र प्रतिष्ठानका संस्थापक संरक्षक साहित्यकार तथा पूर्वमन्त्री त्रिलोचन ढकाल, लघुकथा समाजका अध्यक्ष तथा मधुपर्क मासिकका प्रधानसम्पादक तुलासीहरि कोइराला, प्रतिष्ठानका संस्थापक संरक्षक डिल्लीराज ढकाल, महाकाव्यकार मुकुन्द शर्मा चालिसे, प्रा. डा. भागवत ढकाल, प्रा. डा. शेषकान्त आचार्य लगायतको आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा ध्रुवराज थापा ’पुरुष’ र सुनिता निरौला पौडेलले लघुकथा, एन्जेल निलु, चेतन बस्नेत ’ठूलाघरे’, कृष्णप्रसाद पौडेल ’जस्ताघरे’, राधा कार्की, सागर काफ्ले, प्राडा शेषकान्त अर्याल र भरत बस्नेतले कविता वाचन गरेका थिए । स्रष्टा सम्मान तथा पुरस्कार समर्पणको छैटौं संस्करणमा साहित्यकार तथा शिक्षाविद् पिताम्बर शर्मालाई ३० हजार राशिको पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति सम्मान तथा पुरस्कार र ताम्रपत्र अर्पिएको छ ।

यसै संस्करणदेखि पण्डित आनन्दमणिकि नातिनी डा. सुस्मिता ढकाल र नातिनीज्वाइँ चन्द्रप्रसाद रिजालले २० महिना मात्रै बाँचेको पहिलो छोरा सूचनको स्मृतिमा बालस्वास्थ्यको क्षेत्रमा सेवा, अध्ययनअनुसन्धान या साहित्य रचना गरी अद्वितीय योगदान गर्ने स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता या कृतिकारलाई प्रदान गर्ने गरी स्थापना गरेको १५ हजार रूपैयाँ राशिको ‘सूचन बालस्वास्थ्य सम्मान तथा पुरस्कार’ बैतडीकी अनमी जानकीकुमारी पुजारा साउदलाई कन्धार आधारभूत स्वास्थ्य केन्द्रमा २०८१ श्रावणमा २० बर्से किशोरी आमाबाट जन्मिदै निस्सासिएको अवस्थामा जन्मिएका नवजात शिशु चिकित्सकीय उपकरणको अभावमा मुखबाटै ६ घण्टासम्म कृत्रिम श्वास दिएर जीवनदान गरेकी जानकीकुमारी पुजारा साउदलाई अर्पिएको छ ।