• २०८१ माघ १० बिहीबार

कालीगण्डकीको तिरैतिर 

जनक तिवारी

जनक तिवारी

सानी, चन्चले र प्यारी नातिनीलाइ भेट्न र देख्न, ‘उडेर जाउँ कि बुढेर जाउँ’ झैं हुन थाल्यो ।  हामीदुवै  बुढा बुढीलाई । आफ्ना बाउ आमासंग बुटवल तिरै रमाउँदै छिन् उनि । तन यता भए नि मन चाँहि उतैतिर हुने ।  ‘साँवा भन्दा ब्याज प्यारो, छोराछोरी भन्दा नाती– नातिना प्यारो ।’ बाउ आमाका लागी आफ्ना छोरा छोरीको भन्दा कम्ता मायाँ हुँदैन रहेछ । नाती नातिनाको । त्यै भएर त होला ? हाम्रा साथी संगतिहरु बेला बेलामा आफ्ना दरसन्तानलाइ भेट्न वा तिनको मुखहेर्न विदेशतिर दगुर्ने गरेको । ‘क्यै, फुँइ लाँउन पर्दैन कसैले पनि ।  भरे, भोली (पछि)सम्म कस्लाइ कहाँ बस्न लेखेको छ ।  यसै भन्न सकिन्न ।’ अस्तिका दिन साथी संगतीहरुका बिचमा भएको एउटा जमघट्का वेला एकजना  हितैषीले अली विरक्तिंंदै ब्यक्त गर्दै थिए यि कुरा ।
उनि थप्दै थिए,‘। ‘हो त, हामी प्रत्येक नेपाली परिवार माथी झुँण्डिइ रहेको हुन्छ, आफ्ना सन्ततीहरुको विदेश जाने भिसाको ‘तरवार’ । नेपाली युवाहरुको बाध्यता, लहड, रहर वा लक जस्ता कुनै एक निहुँ धारण गरेको हुन्छ, त्यस तरवारले । अनि त्यो कुनदिन कुन परिवार माथी खस्छ ? पत्तै हुँदैन । आफ्ना सन्ततीले ‘मेरो त फलाना देश, जाने भिसा लाग्यो है’ भनेर जनाउ दिए, सक्किगो । ’ ति हितैषीका कुरा सुनेर पनि हो कि ? मेरो मनले पनि आजभोली भन्न थालेको छ कि, ‘हेर केटा (बुढै भए पनि) आफ्नी नातिनीलाइ छिटो छिटो भेटिराख् । भोलीको के ठेगान छ ?’
यता, नातिनीकि हजुरआमाबाट पनि अरु वेलामा भन्दा छिट्टै पास भयो बुटवल भ्रमणको प्रस्ताव । मल उदेश्य घुमघाम भन्दा पनि नातीनीलाई भेट्न जाने कुरा थियो नि त । खित्रिमित्रि सरसामानहरु साथैमा लैजान पर्ने हुँदा घरकै सवारी साधन लैजाने कुरा पनि सजिलै टुङ्गीयो । यता मैले भने हरेक पटक झैं यसपटकको यात्रालाइ पनि ‘एक काम, दो पंथ’ जस्तो बनाउने जुक्ति भित्रभित्रै बुनिरहेकै थिएँ । भनाइको मतलब,  नारायणगढ –बुटवलको भत्केको बाटो तिरवाट नगइकन कालीगण्डकी कोरीडोर हुँदै बुटवल पुग्ने । यसो गर्दा ‘अप्ठ्यारो बाटो पनि छलिने र नयाँ ठाउँ तिरवाट हेर्दै–घुम्दै जान पनि पाईने जुक्ति थियो त्यो ।
गत आषाढको पहिलो हप्ता तिर, घरवाट विहान सबेरै निस्कीयौं । गैंडाकोटको कालीगण्डकी चोकवाट उत्तर पस्चिम तर्फ लाग्ने कालीगण्डकी कोरीडोर पक्डेर अगाडी बढ्यौं । हामी यति खेर प्रसिद्ध देवघाटधाम र मौलाकाली मन्दिरलाइ दाहिने पार्दै हिंडीरहेका थियौं । हल्का उकालो र जंगल कटिसकेपछि ढोडेनी बजार(टार) आइपुग्यो । यसलाइ मधेष र पहाडी क्षेत्रलाइ जोड्ने मध्यको एउटा भन्ज्याङ वा प्रवेशद्धार का रुपमा लिंदा पनि हुन्छ । जताततै रातो माटोले भरिएका यस्ता टारहरु देख्दाखेरि ‘मालपाएर चाल पाउन जानियो भने, यिन्को पनि पालो अब फिर्ने छ’ भन्ने लाग्छ मलाइ पनि ।
उत्तर पस्चिमतर्फबाट काली र पुर्वोत्तरबाट त्रिशुली आएर मिसीने (संगम) स्थल देवघाटधामको प्रसिद्धिका बारेमा ब्याख्यै गर्न परेन । हो त्यहि संगम स्थलबाट पस्चिम तर्फ क्रमशः अग्लिंदै आँउछ मौलाकालिका मन्दिर भएको यो डाँडो । यै र यस्तै चुरे तथा अन्य महाभारत श्रृङखलाहरु क्रमशः फैलिैदै र तन्किंदै जान्छन् नवलपुर, पस्चिम नवलपरासीका उत्तरी भेक र पाल्पा जिल्लाका पुर्वी भेकहरु हुँदै अझ पस्चिम तर्फ । अनि यिनै मध्यको एउटा चुरे पर्वत भने दक्षिण तर्फ मोडिन्छ र नवलपुर र प. नवलपरासीको सिमाना (दाउन्ने) बन्दै त्रिवेणीधाममा गएर टुङ्गीन्छ । अहिले हामीले यात्रा गर्दै गरेको कालीगण्डकी उपत्यका (यसपछि उपत्यका मात्र उल्लेख हुने छ)को दक्षिण तर्फ यसैको समानान्तर रुपमा फैलिएका छन् यिनै चुरे एवं अन्य महाभारत पर्वतमालाहरु । उदाहरणका लागीः मौलाकालिका मन्दिर, मुकुन्दसेन दरबार (भग्नावशेस), वरचुलि, देवचुलि, धौवादी (फलाम खानी), रुद्रपुर, अर्खला, जौवारी, मिथुकरम, नरम, रुचाङ लगायतका स्थानहरु । यसैगरि पाल्पा जिल्ला तिरकाः निस्ती,मित्याल, जुरे, हात्ती, विरकोट, ताहुँ, हुमिन, रिम्घा, झडेवा, गोठादी, रहवास लगायतका पहाडी श्रृङखला र एैतिहासिक ठाउँहरु। तत्कालिन मगराती र त्यपछिका पाल्पाली राज्यहरुका राजा एवं तिन्का सैनिक तथा भारदारहरु पनि यिनै डाँडैडाँडा हुँदै आफ्नो राज्यक्षेत्र भित्र विचरण( आहोर दोहोर) गर्ने गर्दथे भन्ने भनाइ छ । त्यहि जनविश्वासका आधारमा देवघाट देखि पाल्पा सम्म ‘मुकुन्दसेन पदमार्गको अवधारणा पनि अहिले चर्चामा छ । बिशेषतः यि क्षेत्रहरुबाट देख्न पाइने मनोरम हिम श्रृङखला( मनास्लु, अन्नपुर्ण र धवलागिरी लगायत), पहाड र तराइ मधेश तिरका प्राकृतिक सुन्दरताहरुले कस्को मन नलोभ्याउलान् र ? मगर जनजातिहरुको बसोवासको वाहुल्यता रहेका ति क्षेत्रमा उनिहरुका कला संस्कृति एवं खानपानका परिकारहरु पनि सम्झिरहन लायक हुन्छन् ।अहिले धेरै ठाउँहरुमा होमस्टेहरु संचालनमा रहेका पनि छन । प्रकृति एवं पैदल यात्रामा रमाउने पर्यटकहरुका लागी यि ठाउँहरुलाइ सुखद यात्रा गन्तब्यका रुपमा  लिन सकिन्छ ।
यतिन्जेलसम्म हामी ढोडेनीको गडम्दी भनिने स्थानबाट थोरै ओरालो ओर्लेर महेश्वर खोला परपट्टिको भोक्रोफाँट सम्म पुगिसकेका थियौं । अब भने राम्दी(पिलडाँडा) सम्म नै काली गण्डकी (यस पछि काली मात्र भनिने) नदिको दायाँ पट्टिको काखै काख र यिनैले बनाएका ठुल्ठुला टारहरु हुँदै अगाडी बढ्ने छौं । तर यहाँ केहि क्षण कालीले बनाएको साँघुरो गल्छी (खोंच) हुँदै भिरको वाटो हिंड्नु पर्दा, पहाडी बाटो न हो ? त्यसैले ठिकठिकैे पो हो कि ? झैं लाग्न सक्छ । तर जब गैंडाकोट र बुलिङटारको सिमाना (तरंगा खोला, करिब २५ किमी)  कटेर अल्लिपरको थामवेसी पुगिन्छ तब यो उपत्यकाले आफ्नो प्राकृतिक सुन्दर मुहार देखाउन थालिहाल्छ । अब हामी थामवेसी, टाँडीस्वाँरा, मठार हुँदै बुलिङटार (पालिका सदरमुकाम, करिब ५० किमी) पुगिसकेका थियौं ।
हामी वुलिङटारमा केहिवेर रौकियौं । एकसरो रुपमा भए पनि सवारी साधनका टाएरका हावा लगायतका कुराहरु चेक गरें मैंले । यात्राका क्रममा वेलाबखतमा यसो गरिरहँदा सवारी साधन मात्र होइन आफु(सवारी चालक) पनि अलि फ्रेस भइन्छ । भनिन्छ,सम्भावित दुर्घटनाबाट बच्नका लागी यस्तैयस्तै स–साना कुराहरुले पनि महत्व राख्छन् । हामी त्यहाँबाट पनि हिंड्योैं थोरै पर पुगेपछि कोखे आइपुग्यो । यहाँबाट दक्षिण तर्फ जाने फराकिलो  र ग्राभेल सडकवाट कोटथर, पोखरी हुँदै नवलपुर ( महेन्द्रराजमार्ग) को दलदले (करिब २५ किमी) र कावासोती सम्म पुग्न सकिन्छ ।
केहि बेरमै पुगियो कालीले बनाएको शंख अथवा कुम्भाकार आकृतिको घुमाउरी घाटकै निकटमा । कालीबाट फनक्कै बेरिएर बनेको पानको पात आकारको जमिआकृति र त्यस भित्रका गाउँ– बस्ती र हरियालीहरु सांिच्चकै मनमोहक देखिंदा रहेछन्। लक्ष्मी पुजाका समयमा मेला लाग्ने यस स्थानको अझ सुन्दर दृश्य तनहुँको राजाकोट( उम्से) बाट हेर्न सकिने कुरा एक स्थानियले बताउनु भयो । नदी आफु कतै छिरलिएर वा खुम्चिएर, तन्किएर, दबेर, बटारिएर बगेर त होला ? हेर्दा नागवेलि जस्तै  देखिन्छिन् यिनि । त्यसैले नदी तटमा रहेका ठाउँ ठाउँका जमिन पनि अनेक तरहका आकृति र टारहरुमा बदलिएका होलान् ?
बितेका केहि दशक अघि सम्म यस उपत्यकाका नदि किनार क्षेत्रमा विशेषतः वोटे, माझी, कुमाल, दराइ एवं दलित जातिहरुको बसोबासको बाहुल्यता  पाइन्थ्यो । यि टार वा समथर क्षेत्रहरुमा अहिले जस्तो नभइ अत्यन्त पातला बस्तीहरु हुन्थे रे । समय र विकासको क्रम संगै हैजा, औलो लगायतका महामारी रोगहरुको रोकथाम वा नियन्त्रण हुँदै जान थाल्यो । अनि बाटाघाटा, सिंचाइ लगायतका सुविधाहरु थपिंदै गए । त्यस पछि मानव बसोवास पनि ह्वात्तै बढ्न थाल्यो । जातिय हिसाबले पनि  मिश्रित र घना खालका बस्तिहरु बस्दै गए । अहिले यो उपत्यका भित्र पर्ने भुभागहरु, बिभिन्न प्रदेश, जिल्ला अन्र्तगत पर्दछन् । जस्तो कि पूर्वबाट पस्चिमतर्फ क्रमशः नवलपुरको उत्तरी र पाल्पाको उत्तर पूर्वि भाग (काली वारी) । र तनहुँको दक्षिण पस्चिम र स्यांजाको दक्षिणी एवं दक्षिण पूर्वि भाग (कालीपारी) का पालिकाहरु । यस प्रसंगमा यिनै क्षेत्रहरुको समग्र रुपलाइ नै  ‘कालिगण्डकी उपत्यका’ भन्न खोजिएको हो । आसपासका अलि ऊँचा ठाउँहरुबाट पनि सहजै देख्न सकिन्छ यस उपत्यकाको मोटामोटी स्वरुप । हामीले पनि यो अवसरलाइ गुम्न दिने कुरै भएन । यो सुन्दर उपत्यकालाई एकसरो नियाल्दा यस्तो लाग्दछ कि, कालीनदीले निक्कै लगन र शिपकासाथ लामो समय लगाएर श्रृजना गरेकी  होलिन् । सदियौं बर्षहरु बिते होलान् तिन्का ।  यस्लाई सुन्दर, समथर र उर्वर बनाउनका खातिर । नाङ्गै आँखाले हेर्दा पनि असाध्यै मनमोहक देखिन्छ यो क्षेत्र । हेरेरै थाकिन्न बरु कल्पनामै डुब्न मन्लाग्छ अलि बेरसम्म ।
‘एउटी आमाले आफ्ना सन्ततीहरुको भलाइका लागी जस्तोसुकै दुःख, कष्टहरुलाई पनि सहजै स्वीकार्न तयार हुन्छिन् नि,  हो त्यस्तै । आफू कतै छिरलिएर वा खुम्चिएर, तन्किएर, दवेर, बटारिएर वा जे जसरी भएपनि यो उपत्यकालाई वात्सल्य दिएकी झैं लाग्छ । अनि दायाँ बायाँ (उत्तर– दक्षिण) तर्फ लमतन्न रुपमा फैलिएका पर्वतमालाहरुलाई यै–उपत्यका)को रखवारी गर्न अह्राएझैं लाग्छ यिनले । र ति पर्वतमालाहरुको कमान्डिङ( नेतृत्व)को जिम्मा चाहिं पुर्वमा नवलपुर र तनहुँका क्रमशः देवचुली र रिसीङ एवं पस्चिममा स्यांजा र पाल्पाका क्रमशः गहैंकोट र ताहुँ जस्ता अग्ला–अग्ला लेकहरुले लिएका । (अनि त्यस क्षेत्रका देवि देउताहरुको भुमिकाका बारेमा हरेकका आ–आफ्नै खालका मूल्य मान्यता र धारणाहरु हुने हुनाले सो को कल्पना गर्ने जिम्मा चाहिं पाठकवृन्दःहरुलाइनै । वास्तबमा आध्यात्मिक वा भौतिकवादी जुनकुनै दृष्टिले हेर्दा पनि जल, थल, वायु, उर्जा र आकाश जस्ता पंच (पाँच) तत्वहरुको समग्र रुप नै पृथ्वी हुन । यिनै तत्वहरुका गतिविधीहरुले नै यो संसार(युनिभर्स) चलेको हुन्छ । यसैलाई त भन्न सकिन्छ पर्यावरणिय परिस्थीती (इकोसिस्टम)। अनि पर्यावरणिय परिस्थीती खल्वलिंदा वा विथोलिंदा त हो, भुकम्प, ज्वालामुखि, चट्याङ,बाढीपहिरो एवं माहामारी जस्ता माहाविपत्तिहरु निम्तिने । ’
यस क्षेत्रका जनजिब्रोहरुवाट सुनिदै आएको एउटा किम्बदन्ति अनुसारः‘हिमालय पर्बतबाट काली र सेती नदिहरु एकसाथ छुट्टिए (वगे) र देवघाटमा भेट्ने वाचा गरे । तत्पस्चात् सेतीले हतारो गर्दै सिधा बाटो रोजिन् । तर कालीले भने आफ्नो बाटोमा पर्ने धेरै चिजबिजहरु बचाउँन र नविगार्न खोज्दा घुमाउरो बाटो हिड्न बाध्य भईछन । त्यै भएर पनि देवघाटमा उनि सेती भन्दा ढिलो पुगिन् ।’ वास्तविकता जे जस्तो भएता पनि यि दुइ नदीहरुमध्ये तुलनात्मकरुपले सेती भन्दा काली अलि पर्यावरण मैत्री हुन् कि झंै लाग्छ ।
पानीको छेलोफेलो र कृषि:
जिवहरुको उत्पत्ति र विकासमा पानी(जल) को ठुलो महत्व छ । मानव सभ्यताको विकास पनि पानीसंगै जोडिएको हुन्छ । पानी विना माछा त के ? सबै जिवहरुको अस्तित्व नै संकटमा पर्छ । हाम्रो यो यात्रामा पनि पानीको छेलोफेलो खुबै देख्न पाइयो । विशेषतः यो उपत्यकाबाट दक्षिण तर्फका पर्वतमालाहरुका उत्तरी पाखा( मोहोडा)हरुबाट आएका कैयौं खोला, नाला, झरना एवं खोल्सीहरु काली नदीमा मिसिन्छन्। कालीको विशाल पानीका बारेमा त चर्चै गर्न परेन । जे होस् यि सबैले बनाएका पानीका स्वरुप र कलकल आवाजहरु देख्दा÷सुन्दा  जो कोहिको पनि मन लोभिन्छ । लेक देखि बेसीका फाँट(टार)हरु सम्मै हरियाली नै हरियाली देख्न पाइन्छ यात्रै भरि । यिनै र यस्तै यस्तै वातावरणले गर्दा यात्रालाइ लंब्याएर केहि क्षण मात्र होइन केहि दिन सम्म यतै यतै रमाइरहुँ, झैं लाग्न थाल्छ जो कोहिलाइ पनि । जताततै प्रसस्तै पानी भएरै त होला यहाँका धेरैजसो स्थान वा चिजहरुको नामका पछाडी ‘डी’ अक्षर जोडिनुको कारण पनि ? स्थानिय भाषा (मगर) मा ‘डी’ भन्नाले पानी । त्यहि भएर पनि हृन सक्छ जस्तोः हर्दि, केलादी, गडम्दी,मैदी, रोग्दी, पैदी, हुग्दी, असेर्दी, राम्दी यस्तै यस्तै । (‘डी’ अक्षर प्रयोग हुँदै जाँदा कालान्तरमा ‘दी’ भन्न थालिएको भन्ने  स्थानीय केहि मगर अगुवाहरुको सुझावका आधारमा लेखकको अनुमान)।
यो क्षेत्रका पहाडी भेकमा भेंडा, बाख्रा एवं अदुवा, मकै, कोदो, मास, गहत र बेसी एवं काँठ क्षेत्रमा लिचि,कटहर,आँप आदि जस्ता उत्पादनहरुले निक्कै प्रसिद्धि पाँउथे उहिले उहिले । अदुवा र यसवाट बनेको सुठोले त भारतिय बजारहरुमा समेत निक्कै चर्चा पाँउथ्यो । सिजनमा अदुवा, सुठो, घिउ एवं अन्य पहाडी उत्पादनका भारी लिएर जाने र बिक्रि गर्ने । अनि फर्कंदा बिक्रि गरेर आएको पैसाले बर्षैभरिका लागी आफुलाइ चाँहिने नुनतेल एवं अन्य अत्यावसिय सरसामानहरु लिएर आउँने चलन थियो । उहिले उहिलेका हिंउदे सिजनमा गाउँले उत्पादनले भरिएका डोकामा भारी वोकेका ढाक्रेहरुका दर्जनांै हुलहरु देख्न पाइन्थ्यो बुटवल, त्रिवेणी, नवलपुर, नारायणगढ लगायतका बजारहरुमा ।
तर अहिले ति कुराहरु एकादेशका कथा झैं हुन थाले जस्तो लाग्छ। मानौं अहिले त्यो वेलाको ठिक उल्टो भयो भन्दा पनि हुन्छ । अहिले दिनहुँजसो दर्जनांै जिप, ट्रकहरु गाउँलाई चाहिने खाद्यान्न एवं अन्य सामाग्रीहरु लिएर गाउँतर्फ पस्छन्  र फर्कंदा रित्तै वा वैदेशिक रोजगारीका लागी विदेश जाने युवा वा अन्य मानिसहरु (फेला परेमा) लिएर फर्कने न हो ? हाम्रा गाउँघर तिर पैला पैला खेतिवाट मनगें उत्पादन हुन्थ्यो तर त्यस्ले उचित मुल्य र बजार पाउन गाह्रो थियो । अहिले बिक्रीका लागी उत्पादनको त कुरै नगरौं आफैलाइ खानका लागी पनि बजारकै भरपर्नु पर्ने अवस्था आइ परेको छ । यता यात्राका क्रममा हामीले उपत्यकाका केहि स्थानहरुका जमिनहरुपनि  बाँझै रहन थालेको अवस्था देख्यौं र सोधखोज गर्दाखेरि पनि त्यस्तै अवस्था हो भन्ने पायौं । यि कुराहरु गरिरहँदा यात्रा वर्णनको स्वादमा रमाइ रहेका प्रिय पाठक वर्गलाइ नमिंठो पनि लाग्न सक्छ । तर सत्य कुरा चैं यहि नै हो ।
टारैटार र घाटैघाटका श्रृङखलाहरुः
प्रागऐतिहासिक कालदेखि नै काली नदी धार्मिक, सांस्कृतिक, आर्थिक एवं राजनितिक जिवन पद्धति संग जोडीएकी भन्ने विश्वास  छ ।  आफु अगाडी बढ्ने निकास(बाटो) क्रममा यिनले चालेका कदम, बिताएका समय र खाएका हण्डरहरुका बारेमा  हामीले अहिले गरिने कल्पना बहुत फितलो हुन पनि सक्छन् । कालीको महत्व बढ्नुको अर्को कारण भनेको यिनको दुबै किनारमा रहेका दर्जनौं ऐतिहासिक घाट, मठमन्दिर वा तिर्थस्थलहरुले गर्दा पनि हो । सामान्य अर्थमा बुफ्दा बढि मात्रामा मान्छेहरुको ओहोर दोहोर हुँने नदीको दायाँ–वायाँ किनार (तट) नै घाट हो ।  काली नदीका वार–पार र आसपासका क्षेत्रहरुमा सदियौँ देखि नै मानव वस्तीहरु रहेका हुनु पर्दछ । साथै पहाड–मधेश, पुर्व देखि पश्चिम ओहोर दोहोर गर्ने मुलबाटाहरुका बिचमै पर्थे नदीका यि घाटहरु । काली विशाल नदि भएकाले मान्छेहरुलाई वारपार गर्ने सहजताका लागी डुङ्गा वा त्यस्तै चिजको प्रयोग हुँन थाले होलान् । आवत जावतमा सहजता बढे पछि सामाजिक, सांस्कृतिक, आर्थिक, राजनैतिक लगायतका मानवीय गतिविधीहरु प्नि बढ्दै जानु स्वाभाविकै हुँने भो । त्यै भएर यस्ता घाटहरु संग मानिसका जन्म देखि मृत्यु पर्यन्त सम्मका कृयाकलाप एवं बिश्वासहरु बढ्दै जान थालेको हुनु पदर्छ । एकैछिन कल्पना गरौं त, यि घाटहरुमा यै सेरोफेरोमा बसोवास गर्दै आएका मानिसहरु र तिनका पुर्वजहरुका जन्म देखि मृत्यु सम्मका कति संस्कार कार्यहरु जोडिए होलान् ?  कति जनाको अत्यष्टि (दाहसंस्कार) यिनै घाटहरुमा गरियो होला ? हाम्रा यिनै मौलिक परम्परा र मुल्य मान्यताहरुले गर्दा त हो, मानिसहरुका विचमा भावनात्मक सम्वन्ध जोडिदै जाने ।यात्राका क्रममा हामी पनि केलादी, र हुँगी जस्ता घाटहरुमा गएर आ–आफ्ना विगतका दिन र पूर्वजहरुलाइ पनि सम्झंीयौं । त्यहाँ पुग्दा हामीलाइ पनि एकछिन भावविभोर हुने अवस्था आयो ।
त्यसैले मान्छेहरुका  विभिन्न आवस्यकता, विस्वास एवं मुल्यमान्यताहरुले गर्दा यस्ता घाटहरुमा जमघट र ओहोर दोहोर बढ्रदै गए । अनि विभिन्न चाडपर्व वा उत्सवहरुमा त्यहाँ मेला, जात्रा, जाने चलन पनि चल्न थाल्यो । जस्तो: अहिले पनि विभिन्न घाटहरुमा मकर सक्रांन्ति, असारे र कार्तिके  ठुलिएकादशी, जनै पुर्णिमा,कृष्णाष्टमी, तिज, मंसिर पुर्णिमा, माघे संक्रान्ति, चैते दशैँ लगायतका चाडपर्वहरुमा बिभिन्न प्रकारका मेला / जात्राहरु लाग्ने गर्दछन् ।अनि मानविय मुल्यमान्यता र आवश्यकताले गर्दा यिनै घाट र यिनका वरिपरी बिभिन्न धमार्वलम्बिहरुका मठ–मन्दिर, आश्रम,पाटीपौवाहरु बन्दै वा थपिैदै पनि गए । यस क्षेत्रका प्रसिद्ध घाटहरुमा पुर्व बाट पश्चिमतर्फ क्रमशः देवघाट, कोटाघाट, बक्रम, सुर्य, वलिमराङ, जलदेवी, गर्गती र घुमाउरी छन् । त्यसैगरि दोभान, वाली, खैरेनी, पुट्टार,केलादी, राम,गौरी, खोरिया, आँधी, सम्पास, हुँगी, असेर्दी (उत्तर वाहिनी) र राम्दीघाटहरुलाई लिन सकिन्छ ।
पुरानाहरुको ठाउँ नयाँले लिन थाले:
तर केहि शताब्दी यता पुराना स्थान (घाट एवं बजार),हरुकोे महत्व घट्दै गएको वा तिनको स्थान नयाँले लिन थालेको जस्तो देखिन्छ । यस्तै अनुभुती भयो, यात्राका क्रममा पनि । जस्तोः हाल आएर देवघाट देखि राम्दीसम्म दर्जनौंका संख्यामा झोलुङ्गे र पक्की खालका पुल र पहुँच मार्गहरु बनिरहेका छन्। यसैगरी स्थानिय पालिकाहरुको अग्रसरतामा अन्य भौतिक विकास पनि भैराखेका छन् । यस्तै सरसुविधाहरुले गर्दा मानविय चेतनामा अझ अभिवृद्धि भै उनिहरुका आवश्यकता र मुल्य मान्यताहरुमा पनि परिवर्तन आइरहेका छन्। तर विकासले गरेका परिवर्तनहरुलाई सकारात्मक वा नकारात्मक दुवै किसिमले लिन सकिन्छ । यस कुरामा दिगो विकासको अवधारणाले बढि महत्व राख्दछ। जस्तोः स्थानिय वोटे, माझी,दराई, कुमाल, मगर, दलित जाति एवं, कुटिर उद्यमी र कृषकहरुका पेशामा प्रत्यक्ष रुपमा असर पर्न गएको गुनासो पनि / सुन्न पाइयो यात्राका क्रममा । त्यसैले अहिले कालीगण्डकीको पाकृतिक बहावको संरक्षण, संवर्धनमा चर्चा एवं वहसहरु हुंन थालेका पनि छन् । यस बिषयमा सम्वन्धित सरोकारवालाहरुको समयमै ध्यान जान जरुरी देखिन्छ ।
केहि क्षणमै पुगियो डेढगाउँटार । खेतिपाती र बसोबासका लागि निक्कै अब्बलका रुपमा नाम चलेको छ यो फराकिलो टारको । यो ठाउँको अर्को विशेषता भनेको धेरै जिल्लाका मान्छेहरु ओहोर दोहोर गर्ने नाका( चौवाटो)ले गर्दा पनि हो । ‘गण्डकी प्रदेश,  र चितवन, नवलपुर भारतिय बोर्डर तिरका मात्र होइन पाल्पा, गुल्मी, अर्घाखाँची तिरका मान्छेहरु पनि हिंडडुल गर्ने गर्दछन् पैला पैला र अहिले पनि । अहिेले कोरीडोर र यसै संग जोडिएका भिमाद– खैरेनीटार (करिब २१ किमी) बुलिङटार देखी दलदले अनि स्याङजा र तनहँु जिल्लाहरुलाई जोड्ने अनेकौं पहुँच मार्गहरुले गर्दा यो ठाउँको महत्व झनै बढेको छ ।
जसामरिक महत्व बोकेको हुन्छ बाटोले । कालीनदीका सन्दर्भकै कुरा गर्ने हो भने पनि यि कुरा सत्य हुन् । अब यै उपत्यका र यस्लाइ जोड्ने पुराना एवं अहिलेका बाटाहरुका बारेमा अलिकता कुरा गरौं। यि बाटाहरु राजा रजौटाहरुले राज्य बिस्तार र अन्य कामका क्रममा तथा रैतीहरुले दुःख जिलो गर्न पनि प्रयोग भएका थिए होलान् ।भनिन्छ, नुन, सुन र उन लगायतका चिजहरुको ब्यापारमा पनि उत्तर चिन र दक्षिण भारत, अनि पूर्व  पश्चिम सम्मै पुग्न सघाउँथे यि बाटाहरुले । त्यो समय भन्दा अलि पछिल्लो समय तिर पहाडवाट मधेष तर्फको बसाइ सराइमा पनि यिनै बाटा प्रयोग भए । वन्दिपुर, खाल्टे, कोटा हुदै देवघाट – चितवन । खैरहनीटार, भिमाद, डेढगाउँ, वुलिङटार, नवलपुर । त्यसैगरि वाग्लुङ, पर्वत, वालिङ, रामपुर, मीत्तेल  आरुङ्गखोला हुँदै त्रिवेणी बजार । गल्याङ्ग, राम्दी, आरेभञ्ज्याङ, बुटवल। त्यसैगरि अर्धाखाँची,  रिडी,रामपुर, देवघाट । यि त केहि उदाहरणहरु मात्र हुन् । खासमा  गोरेटा, घोंडेटा, मुल बाटाहरु थिए त्यो बेलाका । भनिन्छ, त्यो बेलाका बटुवा, ढाक्रेहरुका यात्राका भोगाईका प्रकृतीहरु भने बेग्लै खालका थिए। वास्तविकता त नुन तेलको कुर्कुच्चै भारी, खाली खुट्टाको हिँडाइ, तरर पसिना, सातु–सामलको गांस र ओडारको वासको भोगाई भोग्नेहरु लाइ मात्र थाह हुने भो । तिनै बाउ–बाजेले दुःखजिलो गरेरै त हुर्काएका  हुन् हामीलाई । अहिले हामी हिंडी रहेको कालीगण्डकी कोरिडोर जस्ता मोटरगाडी गुड्ने खालका फराकिला र चिल्लाबाटाहरु त धेरै पछि बन्न थालेका पो हुन् नेपालमा । जे होस्, यस्ता कुराको हेक्का राख्न चैं बिर्सनु हुँदैन हामीले । गैंडाकोट देखि कोरलानाका सम्म पुग्नका लागी कालीगण्डकी कोरिडोरको बिशेष महत्व त छँदै छ । यसका अलावा यो कोडिोर संग विभिन्न ठाउँहरुमा जोडींदै जाने (पहुँच) सयकडौं बाटाहरुले पनि विकासमा त्यत्तिकै महत्व राख्दछन । त्यसैले पनि यो कोरिडोरले देशबिकासमा अत्यन्त सामरिक महत्व राख्दै छ ।
अब भने डेढगाउँ देखि रामपुर सम्म –करिब, २८ कि.मी.)को यात्रामा छौं हामी । खुकुरीकै आकारमा देखिन्छ, खुकुरीटार । त्यसपछिका थोत्रेनी, हडाहा, भलायटार, पारी पट्टीको पुट्टार लगायतका स्थानहरु र ति वरीपरीका अनेकौं प्राकृतिक दृश्यहरु झनै लोभलाग्दा छन् । कालीले आफु बग्ने क्रममा ठाउँ ठाउँका जमीनमा बनाएका अनेक प्रकारका आकृतिहरु त यात्रा भरिनै देख्न पाइन्छन् । अनि खान वस्नका लागी खुल्दै गरेका होटल तथा रेष्टुरेन्टहरुले ठाउँ ठाउँमा स्वागत गरिरहेका हुन्छन् ।
यतिवेला हामी प्रसिद्ध रामपुर टारमा आइ पुगेका थियौं । अथवा परापूर्व कालमा भगवान रामले धेरै मनपराएर वास बसेको ठाउँ पनि भनिन्छ यसलाइ । रामपुर, पूर्वी पाल्पा र यस वरपरका क्षेत्रको प्रमुख बजार पनि भएकाले यहाँका मानव निर्मीत संरचनाहरु पनि हेर्न र देख्न लायकै छन् । अनि प्रकृतिसंग रमाउनेहरुका लागी पनि प्रशस्त मात्रामा त्यस्ता ठाउँहरु पनि रहेछन् यो नगर भित्र । केलादी, राम, गौरी, खोरिया, ज्याग्दी आँधी जस्ता सदियौं देखि नै विशेष महत्व राख्दै आएका घाटहरु पर्दछन्, यो र पारिपट्टी( स्यांङजा) को चापाकोट गरि दुइ नगरपालिका सिमा क्षेत्रका नदी (काली) तटिय क्षेत्रहरुमा । रामपुर नगरपालिका र यस आसपासका क्षेत्र भित्र अन्य पर्यटकिय ठाउँहरु पनि छन्।  सिताकुण्ड, तालपोखरा, राम्चे र खैरेनी सामुदायिक वन क्षेत्र, रम्भादेवि मन्दिर, बाघको मुख आदि केहि उदाहरणहरु हुन् । त्यसै गरी पारीपट्टि चापाकोट तर्फ शिव, उत्तर गंगा, मणिमुकुन्द लगायतका मन्दिरहरु भएको पाइयो ।अनि राधा दामोदर लगायतका मन्दिरहरु रहेको केलादीधाम(घाट)को त आध्यात्मिक हिसाबले ऐतिहासिक कालदेखि नै धेरै महत्व रही आएको पाइन्छ । यहाँ निक्कै पहिला देखिनै अखण्ड भजन किर्तन हुँदै आइरहेको छ । एकैक्षण हामी पनि त्यस कार्यक्रममा सहभागी भयौं । अनि धर्म–कर्ममा रमाउन चाहने  जेष्ठनागरिकहरुका लागी आवासिय आश्रमहरु पनि रहेका छन् त्यस इलाकामा । चापाकोट तर्फका दामाचौंर, पन्टार, सुन्तलिटार बजार, आँधिघाट लगायतका समथर सुन्दर स्थलहरु पनि अवलोकन गर्न भ्यायौं हामीले । यसैबिच रामपुर नगर क्षेत्रमा काली नदीको किनारै किनार पैदल मार्ग बनाउने कुराले धार्मिक तथा पर्यटन विकासमा थप टेवा पुग्ने देखिन्छ ।
साथै यस उपत्यका क्षेत्रमा रहेका बिभिन्न मठमन्दिर एवं गुफाहरु मध्ये जलदेवि, देवचुलि (बुलिङटार), अकला(डेढगाउँ), नर्मदेश्वर महादेव (रामपुर), रक्भादेवि(ताँहु), बालसिद्ध (रामपुर), बराह मन्दिर ( हेक्लाङ्ग), उत्तरवाहीनी (असेर्दी ),सिद्धबाबा( राम्दी)आदिलाई लिन सकिन्छ ।
माथी पनि भनियो कि, केहि दशक भन्दा पहिले सम्म यो उपत्यका भित्रका टार तथा नदी तटिय क्षेत्रहरुमा कुमाल, माझी, दराइ  जस्ता आदिवासीहरुको मात्र वसोवास थियो । बिकासको क्रमसंगै औलो, हैजा जस्ता महामारी रोगहरु नियन्त्रण, बाटो घाटो, सिंचाई एवं अन्य भौतिक सरसुविधाहरु थपिंंदै गए । त्यस पछि अन्य जातजातिहरुको पनि बसोवासको आकर्षक थलो बन्दै गए यि टार वा क्षेत्रहरु । द्धन्दकाल पछि त ह्वात्तै बढे यता तिरका बस्तीहरु । केहि बर्ष पहिला सम्म आरेभञ्ज्याङ देखि मात्र थिेयो रामपुरलाई जोड्ने पक्की सडक । तर अहिले यो कोरिडोर संग जोडिने( लिंक) शाखा सडकहरु त कति भएछन् कति । यहाँ देखि चापाकोट हुंदै गल्याङ, वालिङ( करिव, ३० किमी), पुर्वि स्याङजा र पश्चिम तनहुँका बिभिन्न क्षेत्रहरुमा पुग्नका लागी धेरै पक्की सडकहरु बनिसकेको अबस्था रहेछ । त्यसैगरि रामपुर, ढुङगानावेसी, दमार हुँदै आरमखोला, चोरमारा( नवलपुर) पुग्नका लागी पनि सडकको सहजता भैसकेको अवस्था छ ।
यस्तो लाग्न थालिसक्यो कि, यो उपत्यकाको वर्णन गरीसध्यै नै छैन । के के भन्न ु? र के छुटाउँनु ?? यस्तै यस्तै रमणिय र चाखलाग्दा कुराहरुले गर्दा यात्राको त्यो दिनमा यो मनले रामपुरलाइ बिदा गर्नै मानेन । र हामी त्यहि बस्यौं । भोली पल्टको यात्रामा पनि हेक्लाङ, हुँगी र असेर्दीका उर्बर फाँटहरु, गाउँ बस्तीका हरियाली पाखा पखेराहरु संग जम्काभेट गर्दै रमाइलो मान्दै अगाडी बढ्यौं । अनि टाढैबाट भए पनि पारी पट्टि (स्याङ्जा जिल्लामा पर्ने)का चापाकोट, केंवरे, आँधीघाट, पैदी, रोग्दी, गेंझा, जिम्मा, गल्याङ, मालुंङगा (उत्तर वाहिनी क्षेत्र) आदि क्षेत्रहरु संग एकसरै भएपनि आँखा जुधाईयो । हामीलाइ वाल्यकाल देखि नै पाइला नाप्न सिकाएका ति चिरपरिचित् पाखा पखेराहरुलाई देख्दा एकक्षण भावविभोर नहुने कुरै भएन । सुरुमा यिनै गाउँ ठाउँ हरुले त हो हामीलाई जिउने आधार, ब्यबहार र संस्कारहरु दिएका । यस क्षेत्रको चिरपरिचित र अग्लो पहाड गह्रौंकोट र इस्टदेवी कालीकालाइ हृदय देखि नै नमन ग¥यौं । आखिर, मान्छे जहाँरहे र जे भएपनि, उसका लागी आफु जन्मे–हुर्केको ठाउँ नै संसारको सवै भन्दा प्यारो ठाउँ हुँदो रहेछ ।
र, अन्तमा:
यति लामोे(करिब, १३१ किमी) बाटो हिंडेको पनि पत्तै भएन । पिपलडाँडा आउँनै आँट्यो । बुटवल तिर जाने क्रममा यो कोरिडोरकोे अन्तिम विन्दु । अब हाम्रो कालीगण्डकी संगको सामिप्यता छुट्ने भो, छुट्ने कुराले मन पिरोलियो । गाडीलाई सडककै एक छेउमा साइड लगाएँ । र नजिकैको अलि ढिस्को परेको ठाँउमा गएर थचक्क बसें म। अनि राम्दीघाट हुदै पÒर्वको त्यहि उपत्यका तर्फ सलल जाँदै गरेकी तिनै कालीतर्फ नजर डुलाएँ । त्यतैवाट आएको एक झोक्का चिसो हावाले मलाई पनि स्पर्स गरेर अन्यत्रै भाग्यो । मनमनै सोचें, आफ्ना सन्ततिहरुका लागी एउटी आमाले झैं, सबै र संधैका लागि कति धेरै वात्सल्य दिइरहन सकेकि हुन है ? यि कालीले ! समय घर्किसकेको थियो । अब बुटवल तर्फ लाग्नुको विकल्प थिएन । त्यहाँबाट आरेभञ्ज्याङ्ग, वर्तुङ्ग हुँदै बुटवल नपुगिन्जेल सम्म यात्रा परिदृश्यका यिनै रिलहरु दोहोरिइ नै रहे, मेरो यो मन मस्तिस्कमा ।

जनक तिवारी

गैंडाकोट, नवलपुर