• २०८१ असोज २९ मङ्गलबार

मेरो काठमाडौँ

बसन्त चौधरी

बसन्त चौधरी

काठमाडौँ-
एउटा भव्य अतीतले
सिँगारिएको मौलिक प्राङ्गण
कुशल कलाकारद्वारा गरिएको
एउटा मीठो सपनाको चित्राङ्कन !
हेर्दैैनअघाउने तिलस्मी छाया हो काठमाडौँ !
तर
यसरी फलाक्ने मेरा आफ्नाहरू पनि छन्–
काठमाडौँ कङ्क्रिट हो, प्रदूषण हो
दुर्घटना र भीड होकाठमाडौँ
आततायी सन्त्रास झाँगिएको
क्षितिज जस्तो कहिल्यै नभेटिने
पिउँदै झन्अतृप्ति जाग्ने
अचम्मको प्यास हो काठमाडौँ !
जवाफ स्वरूप ती सारालाई म यत्ति भन्न चाहन्छु–
नियाल,
फेरि–फेरि गहिरिँदै नियाल र
आत्मा साक्षी राखेर मात्र बोल
साँच्चै के हो काठमाडौँ !
चोट हो भने
मलम पनि हो
उहिलेदेखि अहिलेसम्म
पुस्तौँदेखि पुस्तौँसम्म
श्रम र सीपको वाग्मती हो काठमाडौँ
सुस्केराको हुरी हो
अनगिन्ती सगरमाथाको धुरी हो काठमाडौँ !

साभार:वसन्त (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)