समाचार
काठमाडौँ ।
नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेशले मुक्तक दिवसको अवसर पारेर चार साहित्यकारलाई पुरस्कार अर्पिएको छ । २०८२ सालमा प्रदान गर्ने गरी घोषणा गरेका पुरस्कारहरू नेपाली साहित्यको विविध विधा र क्षेत्रमा महत्त्वपूर्ण योगदान कार्यक्रमका प्रमुख अतिथि प्राडा टङ्कप्रसाद न्यौपाने, विशेष अतिथि प्राज्ञ विवश पोखरेल, वरिष्ठ साहित्यकारहरू बलराम पोखरेल, प्राध्यापक कविराज न्यौपाने, सरला चापागाई, प्राज्ञ गंगा सुवेदी, पुरस्कार दाताहरू र आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेल लगायतका अग्रज स्रष्टाहरूले संयुक्त रूपमा उक्त पुरस्कारहरू अर्पिएका हुन् ।
प्रतिष्ठानले यस वर्ष नरनाथ–नन्दकुमारी पोखरेल स्मृति पुरस्कार (रू १५ हजार) नेपाली साहित्य, समालोचना, अनुवाद र प्राज्ञिक क्षेत्रका अत्यन्त प्रभावशाली र बहुआयामिक व्यक्तित्व प्राडा गोविन्दराज भट्टराईलाई र नन्दलाल दाहाल स्मृति साहित्य पुरस्कार (रु.१५ हजार) नेपाली कविता, समालोचना, वालसाहित्य र अनुसन्धानको क्षेत्रमा निरन्तर क्रियाशील रहेर नेपाली साहित्यको श्रीवृद्धि र प्रवद्र्धनमा योगदान गरेकी साहित्यकार प्राज्ञ डा. कौशिला रिसाललाई अर्पण गरेको छ ।
छमनादेवी रामप्रसाद पोखरेल स्मृति पुरस्कार (रु.११ हजार) पाँच दशकभन्दा लामो समयदेखि लेखन, सम्पादन र कुशल संस्थागत नेतृत्वमार्फत नेपाली वाङ्मयको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु भएका वरिष्ठ साहित्यकार मधु पोखरेललाई र माधव-नर्मदा पोखरेल स्मृति साहित्य पुरस्कार (रु. ११ हजार) नेपाली मुक्तक साहित्यका एक समर्पित र विशिष्ट साधक शिव अधिकारी (इलामे जेठो) लाई प्रदान गरेको छ ।
कार्यक्रममा सशक्त कविहरू विन्दु दाहाल मुकदर्शक, नानुमैया दाहाल, गोपाल निर्भिक र लक्ष्मी पोखरेलले पुरस्कृत स्रष्टा एवम् द्रष्टाहरूको व्यक्तित्व र कृतित्वबारे समीक्षात्मक ढङ्गले संक्षेपमा चर्चा गरेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. टङ्कप्रसाद न्यौपानेले नेपाली साहित्यको उन्नयन र विकासमा यस प्रकृतिका कार्यक्रमहरूले दरिलो खम्बाको रूपमा काम गर्ने बताए ।
सचिव मदन भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रममा कोशी प्रदेशका स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो । त्यस्तै आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेलले नेपाली मुक्तकको अनुसन्धानात्मक विकासका लागि अन्य साहित्यक विधाहरूसँगसँगै समान तहमा मुक्तकको अध्ययन चिन्तन मनन र गहन छलफल हुनुपर्दछ भन्ने तर्क प्रस्तुत गरे ।
