हाइकु
![](https://aksharang.com/wp-content/uploads/2024/12/04-DECEMBER-02.jpg)
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्मजयन्ती एवम् सम्मान पुरस्कार समर्पण कार्यक्रम सखी प्रतिष्ठानले देवकोटा सङ्ग्रहालय मैतीदेवीमा भव्य रूपमा सम्पन्न गरेको खबर छ । सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रमका प्रमुख अतिथि सञ्चारकर्मी निर्देशक प्रकाश सायमी रहेका थिए । महाकविको प्रतिमालाई माल्यार्पण गरेर कार्यक्रमको शुरुआत गरिएको थियो । प्रारम्भमा नै अध्यक्ष मन्जिला अनिलले सबै विशिष्ट अतिथिहरूलाई स्वागत गरेकी थिइन् ।
वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारलाई देवकोटा नियात्रा सम्मान २०८१, वरिष्ठ आख्यानकार एवम् गायिका पद्मावती सिंहलाई देवकोटा गीतकार सम्मान २०८१, वरिष्ठ कलाकार एवम् साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठलाई देवकोटा कलाकारिता सम्मान २०८१, साहित्यकार एवम् सूचना आयोगका आयुक्त कमला ओलीलाई बाल साहित्य एवम् समाजसेवा सम्मान २०८१ र डायस्पोरामा सक्रिय भए बापत् विनोद स्पन्दनलाई देवकोटा साहित्य पुरस्कार २०८१ प्रदान गरिएको थियो ।
सम्मानित, पुरस्कृत प्रतिभाहरूलाई टीका लगाएर ,पस्मिनाको सल ओढाएर, फूल माला र रुद्राक्षको माला सहित सम्मानपत्र प्रदान गरिएको थियो । स्पन्दन विदेश भएका हुनाले उनका भाइले पुरस्कार ग्रहण गरेका थिए । कार्यक्रममा महाकविका रचना–गीत कविताहरू पनि प्रस्तुत गरिएका थिए । निवन्धकार, कवि मोमिलाले देवकोटामाथि लेखिएको आफ्नो निबन्ध वाचन गरेकी थिइन् भने शब्दपथका प्रधान सम्पादक, कथाकार, कवि एवम् नाट्यकर्मी किशोर पहाडीले ‘कुन मन्दिरमा जान्छौ यात्री ?’ गीत गाएका थिए । यसैगरी इन्दिरा ढकाल, मथुरा प्रधान, कमला रिसालले महाकविका रचनालाई गाएर श्रद्धा व्यक्त गरेका थिए ।
कवि तथा शब्दपथका प्रबन्ध सम्पादक मुरारि सिग्देलले महाकविको भिखारी कविता वाचन गरेका थिए । कवि रिता खत्री, रेणुका भट्टराईले महाकविबारे रचनावाचन गरेका थिए । माननीय मीना श्रेष्ठले राजनीतिको कोट फुकालेर आफू एउटा कविको रूपमा महाकविलाई श्रद्धा व्यक्त गर्न उभिएको बताएकी थिइन् । नियात्राकार प्रतीक ढकाल, पत्रकार एवम् राजनीतिकर्मी देवप्रकाश त्रिपाठीले महाकविको व्यक्तित्वबारे प्रकाश पारेका थिए । महाकविका छोरा डा. पद्मप्रसाद देवकोटाले अङ्ग्रेजी रचना वाचन गरी आफ्ना पिताको यस्तो कार्यक्रम आयोजन भएकोमा आयोजक सखीलाई धन्यवाद दिएका थिए ।
अनिलनाथ उप्रेतीको स्वर र सङ्गीत रहेको ‘मेरो जीवन कस्तो ?’ गीत पनि सार्वजनिक गरिएको थियो । सखी प्रतिष्ठानकी उपाध्यक्ष गायिका कमला रिसालले देवकोटाको रचनालाई मधुर स्वरबाट गायन गरी उपस्थित पुरस्कृत, सम्मानित सबै अतिथिहरूलाई धन्यवाद दिएकी थिइन् । कार्यक्रममा देवकोटाकी भाञ्जी कमला उप्रेती, अनेसास क्यानडाका संस्थापक सुरेन्द्र उप्रेती, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी, कवि कृष्ण बाउसे, कवि शिव अधिकारी, कवि प्रद्युम्न जोशी, गीतकार सुबासचन्द्र ढुंगेल, गीतकार शिला पन्त, टीकाराम यात्री, कथाकार विक्रमभक्त जोशी, हरिश कल्पित, राज रजक लगायतको बाक्लो उपस्थित रहेको थियो । मिशन अधिकारी, मेधा उप्रेती, सुधिर नाथ उप्रेती, सपना उप्रेती कार्यक्रम सञ्चालन भैरवी भूगोलले गरेकी थिइन् ।