• २०८३ असार ३२, बिहीबार

मेनका पौडेलको ‘मेरा चौरासी वर्ष’ पुस्तक लोकार्पण

काठमाडौँ ।

साहित्यकार अञ्जना पौडेल खनालकी आमा ८७ वर्षीया मेनका पौडेलको ‘मेरा चौरासी वर्ष’ पुस्तक लोकार्पण भएको छ । प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा.डा. शैलेन्दु प्रकाश नेपालले पुस्तकको लोकार्पण गरेका हुन् । उक्त कार्यक्रममा छ संस्थाबाट स्रष्टा मेनकालाई दोसल्ला र अभिनन्दनपत्र प्रदान गर्दै सम्मान अर्पिएको छ । मस्र्याङदी वाङ्मय प्रतिष्ठान, शताब्दी साहित्य प्रतिष्ठान, ठाकुर छाँगा स्मृति प्रतिष्ठान, तीर्थ स्मृति प्रतिष्ठान र एसिया प्यासिफिक स्कुलको सहकार्यमा भानुजयन्तीको अवसर पारेर कार्यक्रम गरिएको हो ।

लोकार्पित पुस्तकमा लमजुङको ऐतिहासिकस्थल दुराडाँडाकी पौडेलको ८४ वर्षसम्म भोगेका भोगाइ समेटिएको छ । कार्यक्रमका अतिथि नेपालले नेपाली भाषा समृद्धि तुल्याउन भानुको भूमिका अतुलनीय रहेको बताए । त्यस्तै प्रा. डा. सर्वराज आचार्यले भानुभक्तले नेपाली भाषाको विकास, विस्तार र लोकप्रियतामा पु¥याएको योगदानको प्रशंसा गरेका थिए । उनले मोतिराम भट्टले भानुभक्तको कृति चिनाएर उल्लेख्य काम गरेको पनि बताए । त्यस्तै मन्तव्यको क्रममा प्रा. डा. भागवत ढकालले भानुभक्तले भाषिक एकीकरण गरेको बताए । मस्र्याङदी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले नेपाली भाषा र साहित्यको इतिहासमा भानुभक्त आचार्यको योगदान कदरयोग्य भएको बताए । कार्यक्रममा सोमनाथ घिमिरे र डा. उत्तम पौडेलले कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए ।

साहित्यकार अञ्जनाले पौडेलले आमाको जीवन भोगाइको पुस्तक पढिदिन आग्रह गर्दै भनिन्, ‘आमाको यो पुस्तक आमाको जीवनी मात्र होइन त्यो समयदेखि यो समयसम्मको ऐतिहासिक दस्तावेज पनि हो। आमाले जसरी लेख्नुभयो, मलाई सुनाउनुभयो, मैले सम्पादन गरिदिएको मात्र हो ।’ कार्यक्रममा ८७ वर्षीया मेनकाले आफ्ना अनुभवको साथ कविताको केही पंक्ति सुनाएकी थिइन् ।

उक्त अवसरमा दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरेर आमाबुबाको नामबाट आउँदो सालबाट भानुजयन्तीका अवसरमा ‘कमल– मेनका प्रतिभा पुरस्कार’ बाट विभिन्न प्रतिभा, गरिब तथा जेहेन्दार विद्यार्थी र कमजोर आर्थिक अवस्था भएका व्यक्तिलाई वितरण गर्ने घोषणा मेनकाका छोराछोरीको तर्फबाट गरिएको छ । उक्त कार्यक्रममा शान्ति शर्मा, विष्णुभक्त अधिकारी, कृष्ण गुरुङ, आशबहादुर तामाङ लगायतले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस्तै एसिया प्यासिफिक स्कूलका विद्यार्थीले भानुभक्तको केही कविता वाचेका थिए ।