• २०८२ माघ १६, शुक्रबार

साहित्यकार लक्ष्मीदेवी राजभण्डारीका सिर्जनाको विमर्श तथा सिर्जना वाचन

काठमाडौँ ।

पेरोल साहित्य प्रतिष्ठान नेपालले साहित्यकार लक्ष्मीदेवी राजभण्डारीका सिर्जनामाथि विमर्श तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न गरेको छ । साहित्यकार जेलेश्वरी श्रेष्ठको अध्यक्षता र वरिष्ठ समालोचक प्रा. डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा कार्यकम भएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकार तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठ, समालोचकद्वय डा. हरि सिलवाल र केशव सिग्देलको विशेष आतिथ्य रहेको थियो ।

प्रमुख अतिथि त्रिपाठीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए।प्रणव राजभण्डारीले उपस्थित सबैलाई शब्द मार्फत स्वागत गरेका थिए । कार्यक्रममा लक्ष्मीदेवी राजभण्डारीका कृतिबाट विभिन्न साहित्यकारले सिर्जना वाचेका थिए। साहित्यकार ललिता ‘दोषी’ ले ‘गुञ्जिरहोस् अपार’ कवितासंग्रहबाट कविता वाचन गरी कार्यक्रम आरम्भ गरेकी थिइन् । कार्यक्रममा समालोचक डा. हरि सिलवालले उनका नेपाली भाषामा प्रकाशित आठ कवितासंग्रह र एक निबन्धसंग्रहको समीक्षात्मक टिप्पणी गरेका थिए । लक्ष्मीदेवीका सिर्जनामा जीवन दर्शन र आध्यात्मिक चेतना रहेको उनले बताए ।

समालोचक केशव सिग्देलले लक्ष्मीदेवीका अंग्रेजी भाषामा लेखिएका १० कवितामाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । उनले नेपालीमा अनुवादमा अनुवाद गरी कविताको भाव प्रस्तुत गरेका थिए । उनले लक्ष्मीदेवीको साहित्यिक आगमन नेपाली साहित्यका लागि सुखद् भएको उल्लेख गर्दै अंग्रेजी भाषाका कविता अझ सशक्त रहेको बताए । कार्यक्रमबीच अधिकारी विमलले ‘आलाप अनिमिष’ खण्डकाव्यबाट, अञ्जना पौडेलले ‘दीप शिखा’ कवितासंग्रहबाट तथा सञ्जु श्रृया राजभण्डारीले अंग्रेजी भाषाको ‘डटर रोज’ कविता संग्रहबाट सिर्जना वाचेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्राडा वासुदेव त्रिपाठीले नेपाली साहित्यले दार्जिलिङकी स्रष्टा लक्ष्मीदेवी राजभण्डारी पाउनु गौरवको विषय भएको बताए। उनले लक्ष्मीदेवीका सिर्जनामा रविन्द्रनाथ ठाकुर र महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रभाव देखिने उल्लेख गर्दै आध्यात्मिक चेतना र जीवनदर्शनको संयोजनले उनका कविता शक्तिशाली बनेको बताए । साथै, नेपाली समालोचना परम्परालाई पूर्वीय दृष्टिकोणबाट अघि बढाउनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा अतिथि साहित्यकार तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठले लक्ष्मीदेवीलाई अझ गहिरोसँग चिन्न आवश्यक रहेको बताए ।

साहित्यकार लक्ष्मीदेवी राजभण्डारीले लेखकीय मन्तव्य प्रस्तुत गर्दै शुभेच्छुक सबैप्रति आभार व्यक्त गर्दै नेवारी, नेपाली र अङ्ग्रेजी भाषामा लेखिएका कविता वाचेकी थिइन् । कार्यक्रमको समापन गर्दै सभापति जेलेश्वरी श्रेष्ठले लक्ष्मीदेवीको कवित्वले मौन विद्रोह बोलेको उल्लेख गर्दै उनको सिर्जनाबाट आफू प्रभावित भएको बताइन् ।

पेरोल साहित्य प्रतिष्ठानाकी अध्यक्ष तथा झ्याउरे कविता लेखन पुनर्जागरण अभियानकी अभियन्ता साहित्यकार तथा पत्रकार रेणुका भट्टराई ‘मञ्जरी’ ले सञ्चालन गरेको कार्यक्रममा डा. मुकुन्द वाग्ले ‘पथिक’, आल्फि फोहेन फाक्लुप्पा, इन्दिरा दीक्षित, अमर अधिकारी ‘कीर्तिमानी’, महेशराज खरेल, रश्मि रिमाल, चन्द्रमान डंगोल, अरुण पौडेल, मिनु जिरेल, मिसन अधिकारी, वशिष्ठ, वैरागी जेठा, प्रमोद भण्डारी, मञ्जु नेपाल, राधिका श्रेष्ठ, जयन्ती घिसिङ्ग, रुद्र खड्का, जयराम बिडारी, रुवि सत्याल, उत्तमकुमार बज्राचार्य, जीवन लामा, राजकुमार पण्डित, सन्जु श्रृया राजभण्डारी, प्रणव राजभण्डारी, राजेन्द्र श्रेष्ठ, दुर्गाप्रसाद घिमिरे, सन्तोष भुजेल, लालबहादुर भुजेल, नारायणी डंगोल, दिलिपकुमार ठाकुर र रविदत्त दाहाल लगायतको सहभागिता रहेको थियो ।