समाचार
विराटनगर मोरङको ग्रामथान गाउँपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालय स्थापना गराउन महत्त्वपूर्ण योगदान गर्ने पूर्वशिक्षक सभापति लालदास कर्णको स्मृतिमा ग्रन्थ प्रकाशित भएको छ । परिवारको सहयोगमा उक्त विद्यालयले ‘स्मृतिमा सभापति लालदास कर्ण’ ग्रन्थ प्रकाशनमा ल्याएको हो । यस ग्रन्थमा पञ्चायतकालीन समयमा समेत सभापति लालदासको पहलमा गाउँका दूरदराजमा बस्ने सर्वसाधारणलाई शिक्षा दिलाउन उनले गरेको संघर्ष र प्रयासको कथा समेटिएको छ ।
विराटनगर झोराहाटमा आयोजित कार्यक्रमबीच उक्त ग्रन्थको विमोचन नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे, नेपाली कम्युनिस्ट पार्टीका अमनलाल मोदी, स्थानीय उद्योगी पवनकुमार शारडा, उद्योगी तथा समाजसेवी महेश जाजू, कोसी प्रदेशसभा सदस्य गणेश उप्रेती र प्राध्यापक अमृत आचार्यले संयुक्त रूपमा गरे । ग्रन्थको प्रमुख सम्पादन विद्यालयका पूर्वशिक्षक गायत्रीकुमार चापागाईंले गरेका हुन् । ग्रन्थको सम्पादन समूहमा विवेक कर्ण र शान्ता कर्ण रहेका छन् ।
ग्रन्थका प्रमुख सम्पादकले पञ्चायतकालीन समयमा समेत शिक्षाको उज्यालो छर्ने काम चुनौतीपूर्ण भए पनि लालदासले निकै संघर्ष गरेर पहिले प्राथमिक र त्यसपछि माध्यमिक विद्यालय बनाउन भूमिका खेलेको चर्चा गरे । सभापति लालदासलाई तत्कालीन समयमा इन्द्र शम्सेर राणाले भारतको दरभंगाबाट झोराहाट ल्याएका थिए । सभापति लालदासका छोरा विवेक कर्णले समाजमा योगदान दिए पनि नयाँ पुस्तालाई त्यसबारे थाहा नभएकोले ठूलो अनुसन्धान र आफ्ना बुवासँगै काम गरेका तथा विद्यार्थीहरूसम्म गएर एउटा ऐतिहासिक दस्तावेज तयार भएको बताए । विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद गुरागाईंले विद्यालयलाई योगदान दिने व्यक्तित्वको इतिहास जीवन्त राख्न पाउनु सकारात्मक कार्य भएको सुनाए ।
