यो…
अरे यो…
कस्तो यो !
छ भनूँ भने खै के छ ?
मात्र छैनकै विज्ञापनजस्तो
जहाँतहीँ देख्दै छु म
खोक्राखोक्रा तामझाम !
म बाँचेको वर्तमान
विचित्रताको सर्वनाम !
वसन्त रे !
खै फुलेको फूल ?
खै कोइलीको सुमधुर गान ?
न छ, मोहकता उषामा
न मादकता नै छ, निशामा
न उज्यालो सूर्य
न शीतल जून
रूख्खा–सुख्खा क्लान्त प्रकृति
कस्तो कहालिँदो बिरसिलो याम !
म बाँचेको वर्तमान
विचित्रताको सर्वनाम !
आँखै खाने कृत्रिम ढाँचा
अशोभनीय भड्किला आवरण
हातहातमा तीखा छुरा
मुख फलाक्छन् राम ! राम !
म बाँचेको वर्तमान
विचित्रताको सर्वनाम !
पिउन योग्य न पानी छ
न हावा नै छ, सुँघ्न योग्य
हिमाल, पहाड, मधेशको साझा देशमा
मात्र एउटै सङ्कीर्ण जातिको
साम्प्रदायिक साम्राज्य
फर्सीको मुन्टाझैँ फैलिँदै–फैलिँदै छन्
अतिक्रमित भई
पुरातन चिन्तनका अवशेषहरु
वाक्पटु भई निर्लज्ज फलाक्दै छन्
विश्वबन्धुत्वको नारा
नित्य अविराम !
म बाँचेको वर्तमान
विचित्रताको सर्वनाम !
मान्छे !
हाय रे मान्छे !
देउताको बेचबिखन गर्दै
प्रदर्शन गर्दै छन्
नो शक्तिशालीपन
भष्मासुरभन्दा उद्दण्ड
छि ! कस्तो यी मान्छे !
इतिहासमा सायदै भयो होला
आजको जस्तो
यति बिघ्न मान्छेको दुर्नाम !
म बाँचेको वर्तमान
विचित्रताको सर्वनाम !
सासैपिच्छे दुर्गन्ध डकार्दै
गर्ने यिनीहरुको अपवित्र भजनले
आज मन्दिर, मस्जिद
सारा देवस्थलकै
कस्तो यो दुर्नाम
जननेताबाटै जनतामाथि
यो कस्तो छलछाम !
म बाँचेको वर्तमान
विचित्रताको सर्वनाम !
साभार: बसन्त (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)