समाचार

विराटनगर । कवि ज्योति जङ्गलद्वारा लिखित ‘आधा शिर उचालेर’ कवितासङ्ग्रह माथि विमर्श गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले बिहीबार विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजना गरेको विमर्श कार्यक्रममा कवि साहित्यकारहरुले कवितासङ्ग्रह माथि आफ्ना विचार प्रस्तुत गरेका थिए ।अग्रज साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, पत्रकार अनन्तराज न्यौपाने, कवि शुभलक्ष्मी लम्सालले कवितासङ्ग्रह पठनीय भएको बताएका थिए ।
कवि रमेश सायनले सहजीकरण गरेको कार्यक्रममा प्राज्ञ विवश पोखरेलले सङ्ग्रहमा ग्रामीण जनजीवनकाभाव र विम्बलाई कलात्मक रुपमा प्रस्तुत गरिएको बताए । कवि शुभलक्ष्मी लम्सालले सङ्ग्रहमा नारीविद्रोहलाई सुन्दररुपमा प्रस्तुत गरिएको उल्लेख गरिन् । पत्रकार न्यौपानेले नयाँ विम्ब र प्रतीकको प्रयोगले कवितासङ्ग्रह सुन्दर भएको बताए ।
कवि रमेशचन्द्र अधिकारीले सञ्चालन गरेको कार्यक्रममा कवि राधिका गुरागाईं, सविता गौतम दाहाल, दीपक शम्चु र दीपा दाहालले सङ्ग्रहभित्रका कवितावाचन गरेका थिए ।
कवि जङ्गलले पुरुषको तुलनामा महिलाहरु अहिले पनि स्वतन्त्र नभएकाले यो कविता सङ्ग्रहको नाम आधा शिर उचालेर नाम राखिएको बताइन् ।सङ्ग्रहमा विभिन्न विषय वस्तुमा आधारित ४३ कविता समावेश छन् ।कवि जङ्गलका यस अघि ‘पहाडको मन’, ‘मुक्त समय’ कवितासङ्ग्रह, ‘अक्षरमा तिमी’ गजलसङ्ग्रह र ‘छाया’ कथासङ्ग्रह प्रकाशित छन् ।