• २०८१ मंसिर २९ शनिवार

स्वस्तिका स्मृति लघुकथा सम्मान घोषणा

काठमाडौं ।

लघुकथा प्रतिष्ठान, नेपालले हरेक वर्ष ‘स्वस्तिका स्मृति लघुकथा सम्मान’ प्रदान गर्ने निणर्य गरेको छ । फुटकर रुपमा संख्यात्मक र गुणात्मक लघुकथा लेखी लघुकथाको उन्नयनमा उत्कृष्ट कार्य गर्ने एक जना नवोदित महिला सर्जकलाई वर्षेनी उक्त सम्मान प्रदान गरिने प्रतिष्ठानका व्यवस्थापक मनोहर पोखरेलले बताउनुभयो ।

यस कार्यबाट लघुकथाको संस्थागत र विधागत समुन्नति हुने जनाउँदै प्रतिष्ठानकी संस्थापक लक्ष्मी रिजालले लघुकथा लेखनमा महिला सक्रियता बढ्ने विश्वास राख्नुभएको छ । उहाँले हरेक वर्ष बैशाख १६ गते लघुकथाकर्मी स्वस्तिका सिम्खडाको जन्मोत्सवको अवसर पारेर सम्मान प्रदान गरिने जानकारीे दिनुभयो । उहाँले चाँडै अक्षयकोशको स्थापना गर्ने र यस सम्मानलाई संस्थागत गति दिने समेत जनाउनुभयो ।

लघुकथाकर्मी स्वस्तिका सिम्खडाको स्मृतिमा उक्त पुरस्कार घोषणा गरिएको हो । स्वस्तिकाको देहवसान २०८० साउन २० गते भएको थियो । उहाँको जन्म भने २०६१ बैशाख १६ गते भएको हो । उहाँ जुझारु लघुकथा लेखक हुनुहुन्थ्यो । लघुकथा प्रतिष्ठान, नेपालको नियमित वाचन तथा विश्लेषण कार्यक्रममा दर्जनौँ श्रृङ्खला उहाँले सञ्चालन गर्नुभएको थियो । बि. एड. प्रथम वर्षमा समेत अध्ययनरत् स्वस्तिका ‘गर्दै र सिक्दै’ सिद्धान्तको पक्षधर हुनुहुन्थ्यो । घोडा चढ्दा लडियो भने सिकिन्छ र आँट भरिन्छ भन्दै उहाँ थप्नुहुन्थ्यो– लड्ने डरले घोडा चढिएन भने काँतर भएको अनुभूतिले आफैँलाई भित्रभित्रै जलाउँछ र गलाउँछ ।

उहाँ सौम्य समाजको अनुहार ढाक्ने कालो पर्दा च्यात्न लघुकथा मार्फत् सहज हुने बताउनुहुन्थ्यो । पुरानो लेखन तौरतरिका र शैलीलाई सम्मान गर्दै आजका लघुकथाकर्मीको निजत्व झल्कने शैली हुनुपर्छ भन्नुहुन्थ्यो । लघुकथा वाचनमा समेत शब्दशब्दमा, वाक्यवाक्यमा प्रस्तोताले ध्यान पुर्याउनुपर्ने ठान्नुहुन्थ्यो । साहित्यमा र बोलाउने दुबैतिर उहाँको नाम स्वस्तिका सिम्खडा रहेको भए पनि नागरिकता र प्रमाणपत्रमा उहाँको नाम सोस्तिका सिम्खडा थियो । सिलाइबुनाइ, पाककला र होटल म्यानेजमेन्टमा तालिम प्राप्त उहाँ मान्छे धनको हैन मनको धनी हुनुपर्छ भन्नुहुन्थ्यो ।

वाचन कलाका सम्बन्धमा उहाँको कथन थियो– लघुकथामा पात्रले कुन परिवेश र मनस्थितिमा कस्ता कुरा अभिव्यक्त गरिरहेको छ भन्ने कुरा प्रस्तोताको वाणीले त्यसलाई सम्बोधन गर्न सक्नुपर्छ । नव रसको आभास प्रस्तोताको वाणीमा आउनुपर्छ । स्रोताको ध्यानलाई प्रस्तोताको वाणीले खिच्नुपर्छ । प्रस्तोता वाणीमा त्यो जादु घुस्नुपर्छ जसको एकैछिन श्रवणले पनि कार्यक्रमको अन्तसम्म स्रोतालाई अड्याइरहने बनाउनुपर्छ । आफ्नो कला, गला र स्वर स्रोताले खोजीखोजी नियाल्ने बनाउन सकियो भने मात्र सफल प्रस्तोता कहलिन सकिन्छ ।

लघुकथाकर्मी स्वस्तिका सिम्खडाका दुई दर्जन अधिक लघुकथा फुटकर रुपमा प्रकाशित र प्रसारित छन् । उहाँको असामयिक निधनले सम्पूर्ण लघुकथा जगत् मर्माहत रहेको बताउँदै प्रतिष्ठानका अर्का व्यवस्थापक नन्दलाल आचार्य भन्नुहुन्छ– लघुकथाकर्मी स्वस्तिका सिम्खडाको मृतात्माले शान्ति पाओस्, सम्पूर्ण लघुकथाकर्मीको तर्फबाट सहकर्मीलाई एकमुस्ट रुपमा हार्दिक श्रद्धाञ्जली !!!