समाचार
काठमाडौँ ।
अपाङ्गता भएका व्यक्तिप्रति समाजको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित प्रदान गरिने एसीबी पुरस्कार–२०८२ तीन फरक विधामा प्रदान गरिएको छ । माघ ८ गते बुढानिलकण्ठ नगरपालिकास्थित लाबोरेटरि माध्यमिक विद्यालयको परिसरमा आयोजित पुरस्कार वितरण समारोहमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम डंगोलको प्रमुख आतिथ्यमा पुरस्कार प्रदान गरिएको हो ।
एसीबी नमुना शिक्षक पुरस्कार लाबोरेटरि माध्यमिक विद्यालयका शिक्षक क्षेत्रबहादुर बुढाथोकीलाई प्रदान गरिएको छ। समावेशी शिक्षण पद्धति, अपाङ्गताप्रतिको सकारात्मक सोच र सामाजिक व्यवहारका आधारमा उहाँलाई छनोट गरिएको हो । यसैगरी अपाङ्गता नभएका विद्यार्थीले अपाङ्गता भएका सहपाठीप्रति देखाएको सहकार्य, सहयोग र मित्रताको मूल्याङ्कन गर्दै सोही विद्यालय कक्षा ८ मा अध्ययनरत प्रसिखा भट्टराईलाई एसीबी हातेमालो पुरस्कार प्रदान गरिएको छ ।
पत्रकारिताका माध्यमबाट अपाङ्गता भएका व्यक्तिप्रति सकारात्मक सोच प्रवद्र्धन, खोज तथा समावेशी समाज निर्माणमा योगदान पु¥याएको भन्दै नेपाल टेलिभिजनकी पत्रकार आरती चटौतलाई एसीबी प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । पुरस्कार ग्रहण गर्दै सम्मानित व्यक्तित्वहरूले यस सम्मानले आफूहरूलाई समावेशी समाज निर्माणका लागि अझ जिम्मेवार भएर काम गर्न प्रेरणा दिएको प्रतिक्रिया व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्राचार्य लाक्पा सेर्पा, एसीबी पुरस्कार समितिका संयोजक होमनाथ आचार्यलगायतले समावेशी शिक्षा र समानताको पक्षमा मन्तव्य राख्नुभएको थियो । डा. कमल लामिछानेद्वारा २०७७ सालमा स्थापना गरिएको एसीबी पुरस्कार अपाङ्गताप्रति समाजमा विद्यमान नकारात्मक र विभेदपूर्ण सोच परिवर्तन गर्दै समानता, सहअस्तित्व र सहकार्यको संस्कृति विकास गर्ने उद्देश्यले हरेक वर्ष प्रदान गरिँदै आएको छ ।
