• २०८२ माघ १५, बिहीबार

विष्णु विवेकको ‘घाटगाउँ’ विमोचित

काठमाडौँ ।

पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ । सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, संघर्ष र सपनाको गन्तव्य पछ्याउन प्रेरित गर्ने उक्त नियात्रा तथा स्मृतिसंग्रह काठमाडौँको चियासागरमा सार्वजनिक गरिएको हो ।

पत्रकार तथा लेखक विवेकले आफ्ना साथी तथा पूर्व सहकर्मीहरूसँगै ‘घाटगाउँ’ कृति सार्वजनिक गर्नुभएको हो । सुर्खेतको चौकुने गाउँपालिका–९,घाटगाउँमा जन्मिएको विवेकले अध्ययन र संघर्षका क्रममा अमेरिकासम्मको यात्रा तय गरेपछि आफ्नै मातृभूमिको नाममा पुस्तक लेख्नुभएको हो । भेरी र कर्णाली नदीको संगमस्थल घाटगाउँ पर्यटकीय दृष्टिले समेत सुन्दर गाउँका रूपमा चिनिन्छ ।

पाँचपोखरी प्रकाशन गृहबाट प्रकाशित ‘घाटगाउँ’ पुस्तकमा लेखकले आफ्नो स्कुले जीवन, उच्च शिक्षा अध्ययनका क्रममा भोगेका संघर्ष, रेडियो तथा अनलाइन पत्रकारिताका उतार–चढावसँगै पछिल्लो समय पर्यटन अभियानमा संलग्न हुँदा भोगेका चुनौतीपूर्ण अनुभवहरू समेटनुभएको छ ।
पुस्तक बिक्रीबाट प्राप्त सम्पूर्ण रकम आफ्नै गाउँको सरस्वती माध्यमिक विद्यालयमा पुस्तकालय निर्माणका लागि खर्च गरिने विवेकले बताउनुभयो । यसका लागि विद्यालयमा समेत ‘घाटगाउँ’ पुस्तक सार्वजनिक गरिएको उहाँको भनाइ छ ।

विमोचन कार्यक्रममा बोल्दै विवेकले भन्नुभयो, “सुर्खेतदेखि अमेरिकासम्म पुग्दाको यथार्थ सपना र संघर्षको भोगाइ इमान्दार रूपमा पुस्तकमा लेखेको छु। आफ्नो सपनालाई माया गर्ने हरेक पाठकलाई यो पुस्तकको अनुभूति आफ्नै जस्तो लाग्ने विश्वास छ । त्यसैले पुस्तक बिक्रीबाट आएको सम्पूर्ण रकम घाटगाउँकै सरस्वती माध्यमिक विद्यालयमा पुस्तकालय निर्माणका लागि खर्च गर्नेछु ।”

चियापसलमा विद्यार्थी र युवावस्थामा देखेका सपना र तिनलाई पछ्याउँदै गरेको संघर्ष चियापसलमा भेटिने हरेक युवाको साझा अनुभूति भएको उल्लेख गर्दै उहाँले चियापसलमै पुस्तक विमोचन गरिएको बताउनुभयो । “एक कप चिया पिउँदै देखिएको सपना, त्यसका लागि गरिएको संघर्ष र सपना पूरा भएपछि पनि साथीहरूसँग चिया पिउँदाको आनन्द बेग्लै हुन्छ,”उहाँले भन्नुभयो, “काठमाडौँका हरेक चियापसलमा देखिने युवामध्ये म पनि एउटा हुँ । त्यसैले चियापसलमै पुस्तक सार्वजनिक गर्ने जमर्को गरेको हुँ ।”