कहिलेकहीँ यसो सोच्छु मानिसहरूले आफ्ना छोराछोरी जन्मिएपछि राम्रा-राम्रा नामको खोजीमा किन हप्तौँ समय बिताउँछन् । अरू मानिसका छोराछोरीका नामभन्दा आफ्ना छोराछोरीहरूका नाम बढी राम्रा र वजनदार होऊन् भन्ने उनीहरूको ध्येय हुन्छ । कसैले नामको पेजका पेज लिस्ट बनाउँछन् र त्यस लिस्टबाट कुनचाहिँ नाम छान्ने भन्ने विषयमा तर्कवितर्क गर्छन् । त्यतिखेर बाबुआमा दुवैलाई आफूले त्यत्रो दुःख गरेर राखेको नाम पछि गएर मर्याकमुरुक हुनेछ भन्ने कुनै गुमान हुँदैन । बस नाम छानेर मक्ख पर्छन्, अरूको भन्दा भिन्न नाम राखियो भनी दङ्ग पर्छन् ।
सायद कतिपयलाई थाहा नहुँदो हो वा थाहा भए पनि त्यतातिर ध्यान नगएको हुँदो हो- हाम्रो समाजमा एकलखे (एकार) को ठूलो जगजगी छ । यस एकलखेको प्रयोग आम लेखाइमा हुने त छँदैछ, त्यसबाहेक यसले मानिसका छँदाखाँदाका नाममा जोडिएर त्यसलाई बिगार्ने काममा पनि घुसपैठ गर्ने गरेको छ । हुन त नेपाली भाषामा दुइलखे ‘ऐकार) पनि हुन्छ तर त्यसको प्रयोग नाम बिगार्ने काममा भएको देखिँदैन । मानबहादुरलाई कसैले पनि मानै भन्दैन, माने भन्छन् । त्यस्तै धर्मलाई धर्मै नभनेर धर्मे भनिन्छ । तपाईं आफैँ सोच्नूस् तपाईंले यदि बिर्खबहादुरलाई हेपेर बोलाउनुभयो भने बिर्खमा एकलखे थप्नुहुन्छ कि दुइलखे ? के गर्ने सजिलोका लागि गरिने यस चलाखीले गर्दा व्यक्तिको नामै हास्यास्पद हुनजान्छ र जसको नाम हो ऊ आफूलाई त्यसरी बोलाइँदा अपमानित भएको अनुभूति गर्दछ । अँ, यो एकलखे थप्नको लागि नाम पनि उपयुक्त हुनुपर्ने रहेछ । जुन पायो त्यो नाममा जोडिँदा त्यति प्रभावकारी नहुँदो रहेछ । उदाहरणार्थ, अभिषेक नाम गरेको व्यक्तिलाई अभिषेके भनेर बोलाउँदा कस्तोकस्तो अप्ठेरो भएको जस्तो लाग्छ । त्यस्तै असजिलो धरणीलाई धरणे, हरिलाई हरे, लक्ष्मीलाई लक्ष्मे अनि प्रजापतिलाई प्रजापते भनेर बोलाउँदा हुन्छ । भनाइको तात्पर्य एकलखे थपेर बोलाउन पनि खास- खास नाम नै हुनुपर्ने रहेछ । अनि अर्को कुरा, यो एकलखे थपेर नाम बिगार्ने काम धेरैजसो पुरुषका नामसँग मात्र सम्बन्धित हुँदो रहेछ । आइमाईका नामसँग यसको प्रयोग भएको त्यति देखिँदैन । मैले आजसम्म कतै ज्योतिलाई ज्योते, रीमालाई रीमे, पार्वतीलाई पार्वते, भुवनेश्वरीलाई भुवनेश्वरे, अंशुलाई अंशे, उपासनालाई उपासने र आकृतिलाई आकृते भनेर बोलाएको सुनेको छैन । न पुरुषले कुनै महिलालाई त्यसो भनेर बोलाएको सुनेको छु न कुनै महिलाले महिलालाई । अँ, महिलाले भने कुनैकुनै वेला कुनै पुरुषलाई एकलखे थपेर बोलाएको भने सुनेको छु ।
चारैतिरबाट हेर्दा यो एकलखे थपेर नाम बिगार्ने काम पुरुषवर्गकै बपौती हो भन्ने ठहर हुन्छ । जे होस्, नेपाली समाजमा एकलखे थपेर नाम बिगार्ने कलामा कुनै ह्रास आएको छैन र भविष्यमा पनि आउने लक्षण देखिँदैन । यो हाम्रो संस्कृतिको एउटा अभिन्न अङ्ग बनि नै रहनेछ ।
यो त भयो मेरो आफ्नै देशका नाम बिगार्ने कथा । मैले विगत सत्ताइस वर्षदेखि बसोबास गर्दैआएको मुलुक अमेरिका अचम्म र उदेकका थरहरूको कारण प्रसिद्ध छ । यहाँ नाममा एकलखे थप्दै व्यक्तिलाई हेपेर बोलाउने चलन छैन । अङ्ग्रेजी भाषामा एकलखे, दुइलखे, आकार- इकार आदि प्रावधान नभएकाले हाम्रो देशमाजस्तो नाम बिगारिँदैन । अँ, कुनै व्यक्तिको नामलाई छोट्याएर त्यसलाई मायालु भाका भने दिने गरिन्छ, जस्तै- माइकेललाई माइकी वा माइक, रिचर्डलाई डिक, विलियमलाई विल वा बिल, सुजनलाई सुजी, एन्थोनीलाई टोनी, प्याट्रिकलाई प्याट आदि । यसरी बोलाइने नामहरूको उच्चारणमा हेपाइको अंश अलिकति पनि हुँदैन ।
अमेरिकीहरूको मूल नाम राख्ने काममा कुनै तलमाथि हुँदैन । उनीहरूको पहिलो नाम विशुद्ध एङ्लो- स्याक्सन मूलबाट झिकिएको हुन्छ । अँ, फेमिली नेम अर्थात्सर नेम अर्थात् लास्ट नेम अर्थात् थर भने कुनै ठोस आधारको भरमा नभएर हचुवा किसिमले, लहडबाट वशीभूत भएर राखिएको हुन्छ । हुनसक्छ यी थरहरू अमेरिकीहरू स्वयंका लागि स्वाभाविक लागून् तर एसिया, विशेषतः दक्षिण एसियाका मुलुकहरूमा बस्ने अङ्ग्रेजीको ज्ञान भएका मानिसहरूका लागि भने हाँसउठ्दा लाग्नसक्छन् ।
यस्तो हाँसउठ्दो थरसँगको मेरो पहिलो जम्काभेट म अमेरिका आउनुभन्दा पहिले नै काठमाडौँ छँदै भएको थियो । सन् १९९० तिर म नेपालस्थित अमेरिकी राजदूतावास अन्तर्गत राजनीतिक विभागमा काम गर्थें । त्यसवेला मेरा हाकिम एक प्रथम सचिव थिए । काम सुरु गरेको पहिलो दिन उनले मसँग हात मिलाउँदै भने, ‘हेलो, आइ एम टड ग्रीनट्री’ । त्यो सुनेर मेरो मुखबाट झन्नैझन्नै खित्का फुस्किसकेको थियो तर त्यसमाथि तत्काल नियन्त्रण गरिहालेँ । अङ्ग्रेजी लेख्न, पढ्न र बुझ्नसक्ने भइसकेपछि हामी नेपालीहरू कुनै अङ्ग्रेजी शब्द वा पदावली सुन्नेबित्तिकै त्यसको नेपालीमा उल्था गर्न थालिहाल्छौँ । मैले पनि त्यसै गरेँ । मनमनै नेपालीमा रूपान्तर गर्दै सोचेँ- अब यही हरियो रूखको छहारीमुन्तिर बसेर काम गर्नुपर्ने भयो ।
यस्तै हाँसउठ्दा थरसम्बन्धी कुरा गर्दा मेरी श्रीमतीका अनुभव पनि सरसरीरूपमा चर्चा गर्नु प्रासङ्गिक होला । उनले काम गरेका केही ठाउँहरूमा मिस्टर विक्ली (साप्ताहिक) मिसेज हनीकट (मह काट्) र मिसेज सुजन रोच (साङ्ला कीरा) हुनेगर्थे । उनको एउटा साथी पनि छिन् जसको नाम एलेन ग्रीन (हरियो) छ ।
अमेरिकाको हालसम्मको बसाइमा मैले कतिपय नामहरू देखेको, पढेको र ती नाम भएका व्यक्तिहरूलाई भेटेको पनि छु । यस्ता भेटहरूमा जहिले पनि आफ्नो मातृसंस्कृतिले थाहा नपाईकनै हस्तक्षेप गर्ने गरेको पाउँछु । यस्ता नाम सुन्दा तत्काल नेपालीमा अनुवाद स्वतःस्फूर्तरूपमा हुँदोरहेछ र मस्तिष्कले त्यो अनुवाद मनन गरेपछि मुस्कान बनाउन मद्दत गर्ने स्नायुहरूलाई चलायमान हुने आदेश दिँदोरहेछ ।
अमेरिका आएपछि कसैले पनि यहाँ प्रयोग हुने सामान्य वा असामान्य दुवै थरीका नाम भएका व्यक्तिहरूसँग सम्पर्कमा आउनुपर्ने हुन्छ । पछि अकस्मात सुन्नुपर्दा धक्का नलागोस् भन्ने हेतुले यस्ता हजारौँ हाँसउठ्दा नामहरू मध्येबाट केही यहाँ उल्लेख गर्न चाहन्छु ।
यदि तपाईंलाई पश्चिम भन्ने अर्थ बुझाउने नाम मन पर्छ भने यहाँ कान्ये वेस्ट (र्याप गायक) छ । उत्तर दिशा मन पर्छ भने रबर्ट नर्थ छ । दुवैको सम्मिश्रण चाहिन्छ भने नर्थवेस्ट (कान्ये वेस्ट र किम कार्डासियानकी छोरी) छँदैछिन् ।
एकपलट स्थानीय फक्स- ११ न्युज टिभी च्यानलमा एउटा व्यक्तिको फोटो देखाउँदै नाम राख्ने ठाउँमा (क्यास रेजिस्टर) भनेर देखाइएको थियो । श्रीमान क्यास रेजिस्टर (पसलमा राख्ने जस्तो मेसिन) माथि कुनै अभियोग लागेको रहेछ र ऊ त्यस अभियोगबाट बरी भएकोले त्यसैको समाचार देखाइएको रहेछ ।
सायद स्टुवार्ट ट्राउट (एकप्रकारको माछा) भन्ने व्यक्तिलाई माछा खुबै मनपर्ने होला, त्यसैले उसले आफ्नो थर ट्राउट राख्यो । अर्कोतिर नट (पेस्ता, ओखर, बदाम, काजु, आदि) नभई नहुने भएकाले एक व्यक्ति रोजर नट कहलिए । त्यस्तै डिक भन्ने सज्जनले सधैँ स्वर्गकै मात्र कल्पना गरिबस्ने हुनाले आफ्नो थर नै प्याराडाइज राखेर डिक प्याराडाइज बने । एवं रीतले एकजना महिलाले थाहै नपाई हो वा थाहा पाएर पनि अन्जान बनेर हो आफ्नो नामपछाडि ‘हूकर’ थपेर उनी डेस्टिनी हूकर भइन् । बोलचालको अमेरिकी अङ्ग्रेजीमा हूकर भन्ने विशेषण त्यस्ता महिलाका लागि प्रयोग गरिन्छ जो वेश्यावृत्तिमा लागेका हुन्छन् । यस्ता अन्य कैयौँ नाम छन्, जुन गैर-अङ्ग्रेजीभाषी मुलुकबाट आउनेहरूका लागि मनोरञ्जक र कुनै हास्यास्पद सुनिन आउँछन् । ती सबै नामका बारेमा विस्तारमा यहाँ वर्णन गर्न सम्भव नहुने भएकाले तल यस्ता केही नामको एउटा स्यानो टिपोट मात्र प्रस्तुत गर्न चाहन्छु-
जोन लङ्गबटम
अलिभर लूजर
डग क्यामेरा
एन्जेलिना बट
ह्वेट फार्ट
बि. जे. वर्दी
बेन डोभर (सुन्दाखेरि बेन्ड ओभर)
क्रिस स्याकराइडर
स्पीड वीड (दुवै नाम लागु पदार्थ हुन्)
बड लाइट (बियरको एकप्रकार)
भनेसा टोबाक्कोजूस
उपर्युक्त बाहेक अन्य कतिपय नामहरू यस्ता पनि भेटिएका छन्, जसको उल्लेख गर्दा श्लीलताको मर्यादा भङ्ग हुनजाने भएकाले गरिएन ।
अमेरिकीहरू अप्ठ्यारा विदेशी नामहरूबाट तर्सिन्छन् किनभने उनीहरूबाट त्यस्ता नामको सही उच्चारण हुन सक्दैन । त्यसैले उनीहरूले त्यस्ता नामलाई अङ्ग्रेजीकरण गरिदिन्छन् । कुनै स्टोर वा ग्यास स्टेसनमा काम गर्ने कतिपय नेपालीहरूका नाम बदलिएका छन् । जस्तै- हरिलाई ह्यारी, सरस्वतीलाई सारा, आलोकलाई आल अनि रणबहादुरलाई रन आदि । कतिलाई त पूरै अङ्ग्रेजी नाम नै राखिदिन्छन् । मलाई स्वयं मेरा छिमेकीहरूले ‘माइक’ नाम दिएका छन् । मैले कैयौँपटक मेरो नाम सही उच्चारणसहित सिकाउन कोसिस गरेँ तर उनीहरूले सक्दै सकेनन् । कहिले शेराड भन्थे त कहिले शरोड । त्यस्तो पाराले मनै भरङ्ग हुने गरी बोलाइनुभन्दा त बरू माइक नै ठीक छ भन्ने विचार गरी उनीहरूको अनुरोध बमोजिम मैले आफूलाई माइक भन्न दिएँ । हामी नेपाली मात्र होइन, पाकिस्तानीहरू पनि यस्तो नाम रखाइको सिकार भएका छन् । मेरो एक चिनेको अमेरिकीको ज्वेलरी पसलमा केही पाकिस्तानी तथा भारतीय युवाहरू काम गर्छन्, जसमध्ये प्रायः सबैको नाम अङ्ग्रेजीकरण गरिएको छ, उदाहरणार्थ बिनोदको बेन, राजनको जॉन, करीमको केभिन, आदिमको एजे, फिरोजको ह्यारी, रोशनको रश अनि सईदको सिड ।
जे होस्, यसरी नाम बदनाम हुने क्रम चलि नै रहेको छ । यस प्रसङ्गमा शेक्सपियरले आफ्नो नाटक ‘रोमियो एन्ड जुलिएट’ मा व्यक्त गरेको निम्न विचारसहित आफ्नो नामको बारेमा पनि विचार्दे गर्नुहोला भनी यस लेखको बिट यहीँ मार्दछु-
‘नाममा के राखेको छ र ? गुलाफ त गुलाफै हो । गुलाफको नाम अर्कै राख्नेबित्तिकै के त्यसको सुवास भिन्न हुन्छ र ??’
(हाल मेरिल्यान्ड, अमेरिका निवासी निरौला स्थापित आख्यानकार, पत्रकार हुन् )
[email protected]