कविता-मैथिली

उहिलेको काठमाडौँ होस् वा अहिलेको काठमाडौँ, मान्छेलाई त यसले मुर्गा बनाएर छाडिदिन्छ । यति जोताउँछ कि यसबाट तङ्ग्रिन सक्यो भने पाल्छ, नत्र रद्दीको टोकरीमा फालिदिन्छ । यस काठमाडौँले धेरै लखपतिलाई खाकपति र धेरै खाकपतिलाई लखपति बनाइदिएको छ । बनाइ रहन्छ । गौर गरेर हेर्नुभयो भने खाली खुट्टाका हल्लनटाट छापलाई एम्बेस्डर छाप पनि बनाइदिएको छ । एम्बेस्डर छापलाई गोल्डस्टार छापमा झारिदिएको छ । यस काठमाडौँले तिगडम सिकाउँछ बाँच्नलाई । कुर्सीबाट हटाइदिन्छ । अनाहकमा अनायास कुर्सीमा बसाइदिन्छ । योग्यलाई डाँडा कटाइदिन्छ । गाँडागुडीलाई रातो तुल ओछ्याइदिन्छ । यस नेपालका सबैले सिकेकै, भोगेकै कुरा हुन् । जानेकै कुरा हो । सुनेकै कुरा हो । कतै नभएको जात्रा पनि काठमाडौँमै हुन्छ ।
आज यहाँहरूलाई म काठमाडौँले मलाई जोताएको कुरा सुनाउँछु । यद्यपि कुरा मेरो निजी हो । म सप्तरीमा जन्मे, हुर्केको मान्छे हुँ । घोर मधेस मेरो थलो हो । म हुर्कंदै गर्दा काठमाडौँ त्यति सुगम्य थिएन । आममान्छेले काठमाडौँ नगए पनि काम चल्थ्यो । पूर्वपश्चिम राजमार्ग बनेको थिएन । मेरो घर सप्तरीबाट काठमाडौँ जान भारतको मधुवनी हुँदै रक्सौलमा उत्रेर वीरगञ्जबाट बाइरोडको बाटो काठमाडौँ जानुपथ्र्यो । काठमाडौँ जान राम्रै खाजासामलको व्यवस्था गर्नुपथ्र्यो । कि त राजाको चाकरी गर्ने, कि त राजाले पत्याइएका प्रजा-प्रतिनिधि, कि त सरुवा भएर पुगेका कर्मचारीबाहेक आममान्छे काठमाडौँ पुग्दैनथे । काठमाडौँलाई नेपाल भनिन्थ्यो र नेपाल गएर पशुपतिको दर्शन गरी तीर्थ यात्रामा पुण्यलाभ कमाउन काठमाडौँ पुग्थे ।
तर समय बदलियो । काठमाडौँले आफूलाई शक्ति र सुविधा सञ्चय गर्नथाल्यो र दिन यस्तो आयो कि हरेक नेपाली मान्छे काठमाडौँ पुग्नुपर्ने अवस्था सिर्जना भयो । काठमाडौँ नपुगी कसैको केही दैया नचल्ने अवस्था आयो । तर मेरो त्यसवेलाको चेत र आवश्यकतामा काठमाडौँ गएर भाग्य अजमाउने कल्पना पनि थिएन । कल्पनामा नभएको कुराको रहर पनि थिएन । रहर नै नभएपछि आँट हुने कुरा पनि भएन । आँटै नभएपछि आँत दर्बिलो हुने कुरा त झन् परको भै हाल्यो । किनभने म हदैसम्मको प्यासिभ थिएँ । मलाई लाग्थ्यो काठमाडौँमा गरिखाने कल्पना मात्र पनि मेरा लागि अगम्य छ । असम्भव छ । त्यसकारण म बिए पास गरेपछि पनि काठमाडौँमा गएर भाग्य खोज्नुको सट्टा खोटाङको दुर्छिममा गएर मास्टरी खान थालेको थिएँ । मेरा लागि यो सहज बाटो थियो । यो बाटो शान्त र आफ्नो पहुँचको थियो । जागिर खान कुनै झन्झट पनि थिएन । त्यसवेलाको सोच र चेतअनुसार जिन्दगी मजाले चल्थ्यो । लाटो देशको गाँडो तन्नेरी भनेझैँ जिन्दगी चल्ने पैसा पनि हुन्थ्यो । मास्टर भनेर नमस्कार पनि पाइन्थ्यो । जे भए पनि मेरो आफ्नो जिन्दगीको जेनिथ पूरा हुन्थ्यो । संसार कहाँ पुगेको छ, के गर्दैछ भन्ने कुराको मतलब पनि थिएन । समुद्र जत्रो भए पनि मेरो कमण्डलुमा एक भरी पानी भए पुग्थ्यो । यस्तै सोच्थ्यो मेरो दिमागले त्यसवेला ।
तर भाग्य भन्नूस् वा दुर्भाग्य, दुर्छिमको मास्टरी मलाई फापेन । राजनीतिक कारण देखाएर मेरो जागिर खोसियो । माविको हेडमास्टरको जागिर खोसिँदाको पीडा असह्य थियो । त्यस्तो पीडा मैले जीवनमा कहिल्यै अनुभूत गरिनँ । सगरमाथाको चुचुरोबाट एकैपल्ट गल्र्याम्म फेदीमा खसेको अनुभूति भएथ्यो मलाई । दुर्छिमबाट मास्टरीको जागिर खोसिएपछि मधेस फर्कंदा रुँदै फर्केका क्षणहरू सम्झन्छु । हुँदोखाँदोको जागिर खोसिएको अवस्थामा बाबुआमाको पीडा मैले अनुभूत गरेकोनै थिएँ । भोगेको थिएँ । त्यो पनि अनाहकमा थियो । मेरो केही कुनै कसुर थिएन । तर मैले न्याय पाउने सम्भावना पनि त थिएन । नेपालमा यसखाले न्याय पाउनु अहिले त सम्भव छैन भने मेरो काल घोर पञ्चायत काल थियो । मेरो जीवन एउटा निश्चितताबाट अनिश्चितताको यात्रामा थियो । गन्तव्यविहीन थियो । चारैपट्टिका बाटाहरू बन्द भएको अनुभूत भएथ्यो । त्यसपछि म काठमाडौँ छिर्न बाध्य थिएँ ।
काठमाडौँमा व्यापार गरेर बस्नु भएका भान्दाइहरू हुनुहुन्थ्यो । खासमा उहाँहरूको अवस्थाको बारेमा पनि केही थाहा थिएन । तर पनि काठमाडौँमा मेरो टेक्ने, समाउने सहारा उहाँहरू नै हुनुहुन्थ्यो । त्यसैले ‘मरता क्या नहीँ करता’ भनेझैँ काठमाडौँ जानु मेरो बाध्यता थियो भने भान्दाइको घरमा बस्नु पनि अपरिहार्य थियो । हेटौँडामा पुगेर विनोद पोखरेलको डेरामा बसेर बाइरोडको बाटोहुँदै काठमाडौँ पसेको थिएँ । किनभने यसवेला सायद मुग्लिन सडक बनेको थिएन कि वा बिग्रिएको थियो कि, सम्झना छैन । तर बाइरोडको घुमाउरो बाटोमा हामी टिस्टुङ, दामन, पालुङहुँदै नौबिसे र त्यसपछि काठमाडौँ पुगेका थियौँ । यस बाटोको सम्झना आउँदा यात्रीले बसभित्र र बाहिर बान्ता गरेको दृश्य दिमागभरि आउँछ । झ्यालबाट बान्ता फाल्न अनुकूल नपर्नेले आफ्नै बर्को झिकेर बान्ता थापेर पोको पारेको आफ्नै आँखाले देखेको थिएँ । तिनताक बसमा प्लास्टिकको थैलो दिने चलन थिएन । खासमा प्लास्टिकको थैलोको चलन नै थिएन ।
साँझमा भान्दाइको घरमा पुगेको थिएँ । घर पानीपोखरीको जापानी राजदूतावासको अगाडि मूल सडकमै रहेछ । त्यही बसेको थिएँ । अरू उपाय पनि थिएन । चेतना पनि थिएन । आँट पनि थिएन । म त्यस घरमा करिव नौ महिना बसेँ । मलाई काठमाडौँमा यो ठूलो आश्रय थियो । मेरो जीवनको काठमाडौँको जीवनको रेखी यहीँबाट हाल्न थालिएको थियो । खासमा म पुलिस इन्स्पेक्टर बन्न काठमाडौँ छिरेको थिएँ । यसको तानाबाना मिलाउँदामिलाउँदै पुलिस बन्ने मेरो उमेरले डाँडो काटिहालेथ्यो । मैले पुलिस बन्ने प्रक्रिया यस जन्मकै लागि हाप्नु परिहाल्यो । अब अन्यत्र जागिरको मात्र कुरा थियो । जागिरका लागि दिलोज्यान लगाउनु नै थियो । त्यसकारण मेरो जागिरका लागि जमुना भान्जी दिदीले दिलोज्यान दिनुभएको थियो । शिवजी उपाध्याय भिनाजु तिनताक अमेरिकी पिसकोर्सतिर हुनुहुन्थ्यो । उहाँले युएसएडमा टाइपिस्टमा जागिर खोजिदिनु भएछ । अङ्ग्रेजी टाइपिङ् । मैले न्युरोडको पीपलबोटनजिकै इन्स्टिच्युटबाट टाइपिङ्को तालिम लिएको थिएँ । पछि शिवजी भिनाजुकै अफिसमा टाइपिङ्को अभ्यास पनि गरेको थिएँ । कन्फिडेन्स पनि आयो । स्पिड पनि बढ्यो । युएसएडको अफिस कालीमाटीको रविभवनमा गएर स्पिडको ट्रायल पनि दिएको थिएँ । तर आफूले प्य्राक्टिस गरेको हाते टाइपराइटर थियो- ट्वाक्कट्वाक्क । त्यहाँ त इलेक्ट्रिक टाइपराइटर रहेछ । मैले कहिल्यै देखेकै थिइनँ त्यो इलेक्ट्रिक टाइपराइटर । यसो किबोर्ड छोयो पिलित्त चिप्लिहाल्थ्यो । परिणाम म फेल भएँ । यसरी युएसएडमा जाने बाटोमा ब्याडलक भयो ।
त्यहीताका मैले शाखा अधिकृत पदको लोकसेवा पनि दिएको थिएँ । तयारी खासै थिएन । रत्नराज्य कलेजमा सेन्टर थियो जस्तो लाग्छ । परीक्षा हलमा गार्ड बसेकी थिइन् एकजना भर्खरकी नानी । पछि थाहा भयो तिनी नेपाल ल कलेजमा बिएलकी विद्यार्थी रहिछन् । त्यस कोठाभरि भएका परीक्षार्थीहरूले तिनै गाइड नानीलाई जिस्क्याउँदै समय बिताएका थिए । पहिलो दिनको परीक्षा यसरी बिग्रिएको थियो कि फेरि अर्को दिन परीक्षा दिन मन नै लागेको थिएन । उफ !
म दाजुहरूकै व्यापारको काममा सघाउन थालेँथेँ । बाबुनानीहरूलाई यसो पढाउन पनि थालेँथेँ । बस्न खान छँदैथियो । जीवन चलेकै थियो । त्यसपछि मलाई दाजुहरूले रामराजु नायडु भन्ने मद्रासीको हार्डवेयर दोकानमा लगाइ दिनुभयो । यसवेला मैले द ओरियन्टल फायर एन्ड जेनरल इन्स्युरेन्समा जागिरको लागि फारम पनि भरेको थिएँ । म लिखित तथा अन्तर्वार्तामा पास भएको थिएँ । मेरो पोस्टिङ् भएको थियो विराटनगर । तर मैले यो कुराको सल्लाह दाजुहरूसँग लिएँ । उहाँहरू खासमा मलाई काठमाडौँमै राख्न चाहनुहुन्थ्यो । अनि ‘जागिरबाट के हुन्छ र !’ भन्ने उहाँहरूको विचार थियो । व्यापार गरेर नै आर्थिक स्थिति बलियो हुने कुरा पनि पक्का थियो । तर मेरो भाग्य त्यति सजिलै अघि बढेन । अनावश्यक झमेला झिकेर रामराजु नायडूले मलाई जागिरबाट निकालिदिए । प्राइभेट त्यो पनि एउटा हार्डवेयरको जागिर न थियो त्यो । मलाई निकाल्न कुनै भद्रो हेर्नुपर्ने पनि थिएन । यसरी मेरो जीवन धान्ने त्यान्द्रो र कालान्तरमा धनी हुने आफन्तको सपना तुहिएको थियो ।
त्यसपछि म बेरोजगारी अवस्थामा मेरा दाइ डम्बरबहादुर कटवालको डेरा कुपन्डोलमा पसारा पर्न पुगेको थिएँ । किनभने पाएको इन्स्योरेन्सको जागिर मैले छोडेको थिएँ । फेरि फर्केर भान्दाइकोमा पनि किन हो गइनँ । त्यहाँ बिएड पढ्दैगरेका नारायण धमला, भूप धमला, टङ्क धमलासँग एउटै घरमा बस्न थालेको थिएँ । मैले पनि त्यसबाट प्रभावित भएर फोसामा एमए र एकवर्षे बिएडको तयारी गरेँ । एमए मेरो रहर मात्र थियो । मेरा आइए, बिएका साथीहरूले एमए पास गरेकाले मलाई भित्रभित्रै औडाहा भएको थियो । भतभती पोलेको थियो । थर्ड डिभिजनमै भए पनि एमए पास हुन रहर लागेथ्यो । तर संयोग हाइयर सेकेन्ड डिभिजनमा एमए पास हुने मेरो भाग्य बन्यो । के थाहा हुन्छ र ! पछि मेरो यही ख्यालख्याल डिग्री जीवनको डुङ्गा चलाउने सारथि बन्यो ।
यसैबीच फेरि दाजुहरूले महेशकुमार अग्रवालकोमा काममा लगाइदिनुभयो । यसपछि मेरा जिन्दगीमा व्यापारीको काम आइलाग्यो । काम वाणिज्य विभागबाट व्यापारिक लाइसेन्स बनाउने, भन्सारबाट सामान छुटाउने, कर कार्यालयको काम गर्ने आदि थियो । अफिस कुर्नुपर्ने थिएन । महिनाको तलब रु. ५०० थियो । मेरा साहु महेशकुमार अग्रवाल चर्चित उद्योगपति लूनकरणदास चौधरीका छोरीज्वाइँ थिए । मध्यठमेलमा निकै फराकिलो कम्पाउन्डमा घर थियो । मेरा साहु निकै सरल र सहृदयी स्वभावका थिए । काम गर्ने मान्छेसँग पनि दुर्वाच्य बोल्दैनथिए । मारवाडी साहुले आफ्ना कारिन्दासँग दुर्वाच्य नबोल्नु नै आश्चर्य थियो । त्यसैले महेशकुमार अग्रवालको व्यापारी फर्म आफ्नै जस्तो लाग्थ्यो । महेशकुमार अग्रवाल मेरा जीवनका पहिला मारवाडी थिए, जसकोमा म काम गर्थें । महेशकुमार अग्रवालकी श्रीमतीले मलाई निकै माया गर्नुहुन्थ्यो । ‘भाइ’ भन्नु हुन्थ्यो । म ‘दिदी’ भन्थेँ । एउटा घटना खुब याद आइरहन्छ अझै । लक्ष्मीपूजाको दिन थियो । अफिसका स्टाफलाई खाना खान दिदीले बोलाउनुभएको थियो । खाना खाइसकेपछि दिदीले रातभरि तास खेल्ने कार्यक्रम बनाउनुभएको थियो । तिनताक म तास खेल्नचाहिँ जान्दथेँ तर खेल्दिनँ थिएँ । खासमा तास खेल्ने पैसा कहाँ पाउनु र ! तर दिदीले सबै स्टाफलाई पैसा दिएर तास खेलाउनुभयो । हारे दिदी हार्ने, मारे आफूले मार्ने गरी रातभरि तास खेलेका थियौँ । महेशकुमार अग्रवालकोमा उहाँका साला जेठानअहिलेको सर्वश्रेष्ठ धनी विनोद चौधरी, साहित्यकार वसन्त चौधरीको चर्चा खुब हुन्थ्यो । अरुण भर्खर बाहिरबाट पढेर आएका कुरा हुन्थे । मजाको कुरा त के भने वसन्त चौधरीले कविता लेखेकोमा उनका पछाडि व्यापारी समुदायमा अलिकति खिसिट्युरी हुन्थ्यो । मलाई पनि लाग्थ्यो ‘पैसा खेलाउने मारवाडी, अनि विचरो साहित्य’ । तिनताक म साहित्य मन पराउँथेँ । तर लेख्दिनँ थिएँ । अहिले सम्झँदैछु कि यस उमेरमा आएर म पनि साहित्यको पाटीमा बास बस्न आइपुगेको छु । त्यसैवेला वसन्त चौधरीसँग सम्पर्क र दोहोरो चिनाजानी भएको भए पनि हुन्थ्यो नि जस्तो लाग्छ मलाई । साहित्यलेखनमा मलाई पनि थप ऊर्जा मिल्थ्यो होलाजस्तो लाग्छ । हुन त मैले एकोहोरो त चिन्थेँ नि !चिनेकै पनि छु । तर त्यसको के अर्थ हुन्छ/हुन्थ्यो र जिन्दगीमा ! उहाँहरू मेरा साहुका पनि धनी ससुराली हुनुहुन्थ्यो । म थिएँ सामान्य कारिन्दा । त्यति वेला सम्बन्धको करिस्मा हुने कुरा पनि थिएन । तर ढुक्क छु, जो बित्यो, बित्यो । बगेर गएको खोला कहाँ फर्कन्छ र ! विगत सम्झेर कल्पिनुको पनि के काम हुन्छ र ! तर काम नभए पनि विगतले मजाचाहिँ दिँदोरहेछ भन्ने ठानेको छु अहिले ।
एउटा अर्को घटना सम्झन्छु । म महेशकुमार अग्रवालको अफिसमा काम गरिरहेकै बखत एकजना कुनै मारवाडी त्यहाँ आएका थिए । उनी त्यहाँ आइरहन्थे । मसँग चिनजान भएको थियो । अहिले नाम बिर्सेंं । उनी सायद मेरो आनिबानी, सोझोपन आदिले प्रभावित भएका थिए कि कुन्नि, मलाई एकदिन भनेका थिए- यत्रो पढेको मान्छे, के एउटा व्यापारिक फर्ममा काम गरिरहेको ! म लगानी गरिदिन्छु, एउटा बोर्डिङ् स्कुल खोलेर बस । आधा तिम्रो, आधा मेरो ।’ तर म त भँगेराको मुटु भएको बाहुन चरी, मसँग त्यत्रो हुति कहाँ थियो र ! त्यत्रो व्यापार पर्गेल्ने शक्ति कहाँ थियो र ! बाहुनको छोरो आफूले जानेको, देखेको र सुनेको कुरा भनेको एउटा स्थायी खालको जागिर थियो । त्यो भन्दा पर्तिर कुनै आँट र हुति हुने कुरा पनि भएन । भाग्य वा दुर्भाग्य मेरा नसिबमा धनी हुन लेखेकै रहेनछ । भाग्य यस मानेमा छ कि धनी नभएको कारणले सम्पत्तिले मेरो नीद खाँदैन । दुर्भाग्य यस मानेमा छ कि, जीवनका कोत्रे घाउहरूले चस्स चस्स घोच्दाको पीडा खप्नुचाहिँ परेको छ ।
खासमा मलाई त्यो ५०० रूपियाँले मासिक गुजारा गर्न गाह्रो थियो । त्यसैले फेरि दाजुहरूले अमरचन्द जैनको काममा पनि लगाइदिनुभएको थियो । त्यहाँ मेरो तलब ३५० रुपियाँ थियो । म खासगरी वाणिज्य विभागमा गएर साहुको काम गराउँथेँ । काम गराए बापत घुस दिनुपथ्र्यो हाकिमलाई । यो पनि एउटा सिस्टम जस्तै थियो । घुस खुवाउन कुनै गाह्रो थिएन । यो काम सहजतापूर्वक चलेको थियो । यसैबीच एक हाकिमले मेरो काम गरिदिए वापत ब्लुफिल्मको माग गरेका थिए । त्यसवेला काठमाडौँको प्रतिष्ठित फोटो स्टुडियोले ब्लुफिल्म बनाएको खुब हल्ला थियो । त्यो दिन मलाई म मरेझैँ अनुभूति भएको थियो । एमए पासको सर्टिफिकेट च्यातेर आगो लगाइदिऊँझैँ लागेको थियो । त्यसै वेला हिन्दीको कुनै एउटा कथा पढेको थिएँ । कथाकारको नाम र शीर्षक अहिले बिर्सें । त्यो कथा यौनकर्मी दलालको थियो । हाकिमलाई एकजना वेश्या-यौनकर्मी पठाउनु थियो । तर त्यो दिन कुनै पनि वेश्या-यौनकर्मीले आफ्नो पारिवारिक कारण देखाएर दलालको काम गरिदिएनन् । काम धेरै पैसा आउने खालको थियो । सायद दलालको जीवन नै कायापलट हुनेथियो । अब ऊ आफ्नै श्रीमतीलाई हाकिमसँग एक रात सुत्न जान अनुरोध गर्नथाल्यो । श्रीमतीले उसलाई जुत्तैजुत्ताले हानिन् र ऊ विवश रित्तै हाकिम नजिक पुगेर आफ्नो पिछाड फर्काइदिएको कथा थियो । मैले यो कथा पढ्नु र मसँग ब्लुफिल्मको माग गरिनु एकैसमय थियो । म खासमा यसबाट वैरागिएको थिएँ । कुनै सम्मानित पेसा पाए पनि हुने भन्ने कामना गर्दैथिएँ ।
यसैबीच मेरो बिहे भएको थियो दाजुहरूकै कान्छी सालीसँग । यस बिहेको कारण पनि मनोवैज्ञानिक थियो जस्तो लाग्छ मलाई । किनभने दाजुहरूले यसैगरी मारवाडीकोमा काम गर्दागर्दै सम्पत्ति जोर्नुभएको थियो । ऋणधन के थियो हामीलाई थाहा हुने कुरा भएन तर उहाँहरू आफन्तका बीचमा निकै धनी भएको चर्चा थियो । निकै भाग्यमानी भएको सुनिन्थ्यो ।
संयोगले मैले यस वेलासम्म एमएको परीक्षा दिइसकेको थिएँ । पास पनि भएको थिएँ । अनि तिनताक गणेश, कुमार दाइकै बहिनी तर मेरी दिदी इन्दिराका श्रीमान् भिनाजु प्रदीप उपाध्याय चितवन भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गर्नुहुन्थ्यो । क्याम्पस चीफ रूद्रप्रसाद उपाध्याय हुनुहुन्थ्यो । त्यहाँ एउटा इतिहासको सहायक प्राध्यापकको पद खाली रहेछ । तुरून्त चाहिने रहेछ । यस्तैमा मेरो भाग्यको तालुमा आलु फल्यो । म काठमाडौँबाटै नियुक्ति लिएर भरतपुर पुगेँ । म कलेज प्राध्यापनमा आइपुगेँ । यसरी मैले धनी हुने व्यापारिक मार्ग परित्याग गरेको थिएँ । यो मार्ग परित्याग र प्राज्ञिक मार्ग अवलम्बन गर्दा जीवनभरि त्यसका झिल्काहरू आइरहे । आइरहेका छन् अझै । जबजब जीवनमा जोतिरहेको हलो अड्किन्छ, अनि झल्याँस्स हुन्छु कि त्यो व्यापारिक कर्म नछोडेको भए सायद मेरो हलो अड्किँदैनथ्यो होला । सायद मेरो हलो अलि दर्बिलो हुन्थ्यो होला । हात-मुख जोर्न, छोराछोरीको फि तिर्न, समाजिक सम्बन्ध कायम राख्न र समग्रमा भौतिक बाँच्नका लागि जुन तडपन खेप्नुपर्यो, त्यो सायद मारवाडीको सङ्गत छुट्नुथियो कि जस्तो लाग्छ । किनभने त्यसवेला मजस्तै मारवाडीकोमा काम गर्ने साथीहरू अहिले बिग हाउस भएर बसेका छन् काठमाडौँमा । लगानी र उठानीको उत्कर्षमा छन् । करोडको कुरा चियाको चिनीसरि फिटिरहेका छन् आफन्त संसारमा ।
तर जब म अमरचन्द जैनका कुरा सम्झन्छु, मन नै ढुक्क हुन्छ । उहाँले मलाई एकदिन भन्नुभएथ्यो- ‘हेर न खेमराज, मेरै फर्ममा काम गरेका तिम्रा भान्दाइहरू आज कारोबारको कुन स्थानमा छन्, म भने त्रिपुरेश्वरमा एउटा टायर दोकानमा खुम्चिएको छु, यो भगवानको लीला हो । आफूले चाहेर त के हुन्छ र !
र फेरि आफ्नो नियतिलाई सम्झन्छु । आखिर एकजुनी बाँच्ने रहेछ मान्छेले । आफ्नो कहरपूर्ण, सङ्घर्षपूर्ण जीवनलाई सम्झँदै गर्दा, छाक जुटाउन गाह्रो भए पनि एक छाक भोको बसेको सम्झना छैन । ब्रान्डेड लुगाका खातका खात नपाएको/नलाएको भए पनि नाङ्गो बसेको सम्झना छैन । आखिर युगपुरुषका कुरा छाड्ने हो भने आममान्छेको गति यही हो रहेछ । अलिकति धनी र अलिकति गरिब हुनुले तात्त्विक असर के नै पो पार्ने रहेछ र ! कति धनी मरे, कति गरिब मरे, आखिर लेखाजोखा त नहुने नै रहेछ । हाम्रो पनि जीवन त कटेको छ जसरी पनि । कटिरहेको छ । मर्दा सबै मान्छे पञ्चतत्त्वमा विलीन हुने हो । त्यसैले अचेल म भन्दैछु- मलाई कति जोतायौ, कति सतायौ, कति सधायौ, कति सघायौ, कति धम्क्यायौ, कति फकायौ, कति बनायौ नि काठमाडौँ ! तर म त अप्ठेरोमा फलेको फर्सीजस्तै भएँ नि काठमाडौँ !! न वरत्र सपारेँ, न परत्र ।
(हाल सान एन्टोनियो, अमेरिकानिवासी पोखरेल चर्चित साहित्यकार हुन् । उनका कविता, कथा, लघुुकथाका करिब एक दर्जन कृतिहरू प्रकाशित छन् )
[email protected]