काठमाडौँ, श्रावण २१ ।
‘केही समय कविताका लागि बाँचौँ’ नाराका साथ सुरु गरिएको ‘कवितामा तीन पुस्ता’ काव्यवाचन कार्यक्रम सर्वनामको प्रेक्षालयमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा स्रोता तथा दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो ।
एउटै मञ्चमा तीन पुस्तालाई उभ्याउने उद्धेश्य सहित सुरु गरिएको ‘कवितामा ३ पुस्ता’कार्यक्रममा तीन जना सर्जकलाई एउटै मञ्चमा उभ्याएर कार्यक्रमको सुरुवात गरिएको हो । अभिभावक पुस्तामा कवि दिनेश अधिकारी, अग्रज पुस्तामा कवि श्रवण मुकारुङ, अनुज पुस्ताकी कवि रञ्जना निरौलाले एउटै मञ्चमा उभिएर ५/५ वटा कविता सुनाएर करिव एक घण्टा सर्वनामको थिएटर काव्यमय बनाएका थिए । कवि तथा गीतकार दिनेश अधिकारीले जंगलमा वर्षा, आवाजको सौन्दर्य, घरबाट निस्केपछि, मरणको आनन्द र अन्तिम तयारी शीर्षकका कवितावाचन गरेका थिए । कवि श्रवण मुकारुङले म्याडम गीता, डराउँछु म मृत्युसित, स–साना शव्दहरुसित, हुमान सिंह भुजेलको भैँसी प्रेम, आवाज नआइ पुग्ने मेघको उज्यालो, शीर्षकका कवितावाचन गरेका थिए । कवि रञ्जना निरौलाले मेरो ईश्वर म नै हुँ, तिम्रा यादहरु, दशैँः सँधै मेरो विपक्षी, समयः कविताको अनुभूतिमा र परिधीको आकाँक्षा, शीर्षकका कविता वाचन गरेकी थिइन । कोभिडले शिथिल पारेको मस्तिष्क पछि सुरु गर्न लागिएका यस्ता काव्यमय कार्यक्रमले पुर्न ताजगी र उत्साह दिने आशा सहित कवि र कविताप्रति प्रेम नै मुख्यलक्ष रहेको छ । हरेक दुई महिनामा आयोजना गर्ने लक्ष्य राखिएको कार्यक्रममा कविलाई सम्मानजनक पारिश्रमिक पनि दिइएको छ । जरुवा नेपाल‘सुचना तथा प्रविधिको’ क्षेत्रमा काम गर्ने संस्था आयोजकको रूपमा रहेको छ भने अन्य केही संस्थाहरू प्रायोजकका रूपमा रहेका छन् ।
हरेक दुई दुई महिनामा सम्पन्नगरिने कार्यक्रम सर्वनाम थियटरमा दिउँसो २ बजेदेखि हुनेछ । कार्यक्रममा सहभागी हुनको प्रवेश शुल्क रू १०० लाग्ने व्यवस्था गरिएको छ ।