• २०८१ भाद्र २४ सोमबार

मृत्युको मजा

मणि लोहनी

मणि लोहनी

वि.सं. २०७३ वैशाख १२ गते । महाविनाशकारी भूकम्पगएको ठ्याक्कै एक वर्ष पूरा भएको दिन । यसपालिको वैशाख १२ गते शनिवार थिएन । अपरान्हमा कफी पिएर म निक्लिएँ । काठमाडौँको सुन्धारातिर । वसन्तपुरमा ठुलो -याली थियो । भूकम्पमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न शोकसभा पनि थियो ।
धरहरा ढलेको एक वर्ष भैसकेको थियो । त्यसो त धरहरा मात्रै होइन कैयौँ मानिसका जिन्दगी र घर ढलेको पनि एक वर्ष भैसकेको थियो । उनीहरूको नाममा मैले केही मैन बत्ती बालेँ । केही बेर आँखा चिम्लिएर मौन धारण गरे । मनमा एकपटक गत वर्षको कम्पन महसुस भयो ।
आँखा खोल्दा एक युवती मेरो नजिकै उभिएकी थिइन् ।
‘सिर्जना … सिर्जना प्रधान हो मेरो नाम । म तपाईंलाई चिन्छु । यसरी मृतकहरूको सम्झनामा मनैबाट मैनबत्ती बाल्ने मानिस निकै कम छन् ।’ उनी मेरो नजिक आइन् ।
‘मलाई ती मानिसहरूको मृत्युले सताइरहन्छ ।’ मैले उनीतिर हेर्दै थपेँ ।
‘हो नि ! त्यो दुखद घटनाले मलाई अपूर्ण बनाएको छ ।’ उनले भनिन् । मलाई लाग्यो सम्भवतः उनका आफन्त पनि त्यही भूकम्पको सिकार भएका छन् ।
‘साँच्चै कति बुच्चो देखिएको धरहराविनाको काठमाडौँ ।’ मैले फेदको एक टुक्रा धरहरा देखाउँदै भनेँ ।
‘धरहरा ढलेर काठमाडौँ बुच्चो देखियो होला । तर धरहरा ढलेकै कारण धेरैले मृत्युको मजा लिन पाएका छैनन् त्यसलाई के भन्नु हुन्छ ?’ उनले भनिन् ।
‘के कुरा गर्नु भएको ? धरहरा र मृत्युको मजा !’
‘धरहारा ढल्दा धरहरासँगै च्यापिएर मर्नेहरूको कुरा गरेकी ।’
‘कसरी लिन दिएन धरहराले मत्युको मजा ??’ मलाई आश्चर्य लाग्यो ।
‘कति त जिउँदै च्यापिए होलान् ।’
‘भूकम्पमा मर्नेहरू सबै जिउदै च्यापिएका हुन् ।’
‘ती जिउँदै च्यापिएकाहरूको मृत्यु, मृत्यु मात्रै होइन । मर्दै नमरी च्यापिएर सकिनु भनेको मृत्युको भयावहलाई पलपल बाँच्नु पनि हो ।’ भोगेरै फर्केजस्तो गरी सुनाएको उनका कुराले म छक्क पर्छु ।
‘यसरी पूर्ण मृत्यु नपाउनु अन्याय हो । यस्तो अपूर्ण मृत्युले कसैले भोग्न नपरोस् ।’ उनले भनिन् ।
कुरा गर्दै हामी कफी सपमा पुग्यौँ । मैले दुईवटा कफी अर्डर गरेँ ।
‘म राम्रोसँग मर्न चाहन्छु ।’ उनले कुराको सिलसिला पुनः जोडिन् ।
‘के हो राम्रोसँग मर्नु ?’ म उनको मृत्यु–प्रसङ्गले हैरान हुन्छु ।
‘सहज मृत्यु, सम्भवतः कालगति भनिन्छ ।’ उनले सहजरूपमा भनिन् ।
‘अकाल त्यो पनि होइन जो पिल्सिएर मर्छन् ।’ मलाई कताकता रिस उठ्छ ।
‘फेरि पनि मृत्यु सहज होस्, यो मेरो चाहना हो ।’ उनले त्यही कुरामा जोड दिइरहिन् ।
‘वाइह्यात ! मृत्युको के मोह राख्नु जो निश्चित छ । म त राम्रोसँग जिउन चाहन्छु । मृत्युसँग मेरो कुनै मोह छैन ।’ मैले भनेँ ।
‘मेरो पनि मृत्युसँग मोह छैन । तर मृत्यु सहज हुनुपर्छ ।’ उनले आफ्नो कुरामा कुनै परिवर्तन देखाइनन् ।
‘मृत्युको अभिलाषा नै गलत हो । यति बेला जिन्दगीको कुरा गर्नुपर्छ ।’ मलाई उनका वाइह्यात कुराहरूबाट बाहिरिन मन लाग्छ ।
‘अभिलाषा र बाध्यता फरक कुरा हुन् ।’ सडकतिर आँखा ओछ्याउदै उनी बोलिन् ।
‘तिम्रो मर्न चाहन्छु भन्ने कुरा नै मलाई चित्त बुझेन । म त जीवनलाई भरपूर जिउन चाहन्छु ।’
‘मानिसले बाँच्न चाहनु सामान्य कुरा हो । तर राम्रोसँग मर्न चाहनु त्यो सायदै हुन्छ । म त्यहीमध्येमा पर्छु ।’ उनले भनिन् ।
‘हो जीवनको सबैभन्दा ठूलो सत्य मृत्यु नै हो । जन्मेपछि मर्नुपर्ने यथार्थ मैले छल्न खोजेर छलिने कुरा पनि होइन । तर बाचुञ्जेल जिन्दगी नै सबथोक मान्छु म । मृत्युबोध मेरा लागि जिउनुको मज्जा विपरीत कुरा हो ।’ मैले भनेँ ।
‘मृत्युलाई नदेखी वा नसोची जीवनको महŒवबोध कसरी कल्पना गर्नुहुन्छ ?’ उनले सोधिन् ।
‘मृत्युको सम्मुख पुगेर बाँच्ने जिन्दगी कति तनावपूर्ण होला, म कल्पना गर्न पनि चाहन्नँ ।’ कफीको कप टेबुलमा आइपुग्छ ।
‘हरेकले जन्मेपछि मर्न पाउनुपर्छ ।’ वैटरले टेबुलमा कप राख्नु र उनको मुखबाट जवाफ खस्नु एकसाथ हुन्छ ।
‘मर्नलाई कसले छेकेको छ र ?’ म सोध्छु ।
‘जिन्दगी त्यति सरल छैन लेखक, जति तपाईं सोच्नु हुन्छ ।’
उनले मलाई एकाएक लेखक भनेर सम्बोधन गरिन् ? मलाई रमाइलो लाग्यो । हुन त म तपाईंलाई चिन्छु भनेर उनले अघि नै भनेकी थिइन् । सायद यिनले मेरा केही कथा र लेखहरू पढेकी होलिन् । मैले सोचेँ ।
‘जन्मने हरेकको मृत्यु अधिकार हो । तर केही मानिस त्यस्ता पनि छन् जो मृत्युबाट वञ्चित छन् । पूर्ण मृत्यु सबैको भागमा हुँदैन महोदय !’ उनले त्यही कुरा दोहो¥याइन् ।
‘मृत्यु पनि पूर्ण र अपूर्ण हुन्छ ?’ म फेरि नचाहँदानचाहँदै उनको मृत्यु मोहमा तानिएँ । तर पनि बुझ्न सक्दिन के भनिरहेकी छिन् उनी ।
मृत्युको मजा, पूर्ण र अपूर्ण मृत्यु ! कुरा अनौठो थियो । मृत्यु त मृत्यु हो, यसमा पूर्णता र अपूर्णताको के अर्थ रहन्छ ? मनमा खड्किन्छ ।
‘जसरी बाँचुञ्जेल कतिपय मानिसहरू पूर्ण जीवन बाँच्न सक्दैनन्, त्यसै गरी कति मानिसहरू अपूर्ण मृत्यु भोग्न विवश छन् । र अपूर्ण मृत्यु भोग्नेहरूले मृत्युको मजा लिन सक्दैनन ।’ उनले भनिन् । जिन्दगीको मजा त सुनेको थिएँ । कतिपय सन्दर्भमा भोगेको पनि छु जिन्दगीको मजा । तर मृत्युको मजा ? यो मेरो लागि सर्वथा नयाँ कुरा थियोे ।
मृत्युको मजा !
यो शब्द एउटा ठट्टा हुनसक्छ । एउटी रूपसी सुन्दरीले मध्य दिन काठमाडौँको सुन्धारामा मसँग गरेको ठट्टा ।
‘तपाईं जीवनलाई पूर्ण देख्ने मान्छे, के बुझ्न सक्नुहोला र मृत्युपछिको आत्माको रूपान्तरण ?’ उनले कफीको लामो सीप लिँदै भनिन् ।
‘सामान्यतया आत्मा अविनाशी छ । यो मैले पढेको कुरा हो ।’
‘त्यही अविनाशी आत्मा रूपान्तरित हुन्छ यो शरीरबाट त्यो शरीरसम्म । तर आत्माको रूपान्तरणका लागि पूर्ण मृत्यु आवश्यक छ । मृत्युको मजा नलिई मरेकाहरूको आत्मा रूपान्तरण हुन सक्दैन र मृत्युस्थल आसपास त्यो आत्मा भड्किरहन्छ ।’ उनले भनिन् ।
‘तपाईलाई कसरी थाहा भयो ?’ मैले सोधेँ ।
‘त्यो त सामान्य मानिसले पनि अनुमान गर्नसक्ने कुरा हो नी । उद्दारका क्रममा कति घाइतेहरू पुरिए होलान् । बाँच्न खोज्दाखोज्दै कतिलाई डोजरले घिसारेर टुँडिखेल पु¥यायो होला । र अपूर्ण मृत्यु भोग्न विवश भए होलान् ।’
उनले लामो सास फेरिन् । टेबुल उताबाट उनले फालेको सास मेरो अनुहारमा आएर ठोकियो । उनले फालेको श्वास चीसो भएको मैले अनुभव गरे । मानिसको मुखबाट निक्लेको श्वास यति चिसो कसरी हुन्छ ? आफैलाईं सोधेँ ।
‘अपूर्ण मृत्युले आत्माको रूपान्तरणमा अवरोध पु-याउँछ । रूपान्तरण हुननसकेका आत्माहरू मृत्युस्थल आसपास भेटिन सक्छन् ।’ उनले भड्किएको आत्माको प्रसङ्ग उठाइन् । उनले भनेपछि मलाई सुन्धारापरिसरमा हिँडिरहेका सबै मानिसहरू भड्किरहेको आत्माजस्तो लाग्छ ।
‘साकार हुननसकेका सपनाहरूका बीचमा हामी अक्सर भड्किरहकै हुन्छौ ।’ उनले पुनः थपिन् ।
‘सायद तपाई एउटा रूपान्तरण हुननसकेको आत्मा र म पनि एउटा परिवर्तन हुननसकेको मानिस । हामी दुवै पूर्ण मृत्यु र पूर्ण जिन्दगी नपाएर भड्किरहेका आत्माहरू हौँ ।’ म हाँसे ।
‘जिस्किएरै पनि तपाईंले साँचो कुरा गर्नुभयो ।’ उनले मेरो हात समाइन् ।
कति चीसो हात ! वैशाखको वाफिलो मध्यान्हमा उनको स्पर्श एकदमै चिसो लाग्यो मलाई ।
‘कति चीसो तिम्रो हात ?’ मैले उनीतिर हेरेँ ।
‘जिन्दगीको चीसो र तातोभन्दा भिन्न अवस्थामा छु म ।’ उनले मतिर नहेरी भनिन् ।
‘कस्तो भिन्न स्वरूप तपाईंकोे ?’
‘तपाईले अघि भनेझैँ रूपान्तरण हुननसकेको आत्मा हुँ म ।’ उनले सुनाइन् ।
‘म त जिउँदो जाग्दो पूर्ण आत्मा हुँ । मेरो मृत्यु भएको छैन ।’ म डराएँ ।
‘मृत्यु मेरो पनि भएको छैन । मृत्युको कामनामा हिँडेकी एक उमेरदार स्वास्नीमानिस हुँ म । म राम्रोसँग मर्न चाहन्छु ।’ उनले पनि हाँस्दै भनिन् ।
उनका शब्दहरू सुनेर मलाई अनौठो अनुभव हुन्छ । यो डर भूत या भड्किएको आत्मा हो कि भनेर थिएन । मृत्युप्रतिको युवामोहले म त्रसिएँ । यौवनले धपक्क बलेको यो उमेरमा पनि किन उनी मृत्युको कामना गरिरहेकी छिन् । के यो जीवन जिउनलायक छैन ?उनको जीवनभन्दा मृत्यु मोहले मभित्र त्रास सिर्जना गर्छ । यसैगरी सबैले मृत्युको कामना गरे भने के होला यो संसार ? म आफैसँग प्रश्न गर्छु ।
‘तपार्इं डराएको ?’ मेरो अनुहारको भाव पढेझै गरेर उनले भन्नि ।
‘हो, मलाई डर लाग्यो, तपार्इंको मृत्युमोहले ।’
‘नडराउनू । म भूत या किचकन्नी होइन । तपाईंको कथामा जस्तो भड्किएको तिब्बती युवतीको आत्मा पनि होइन म ।’ उनी मुस्कुराइन् ।
साँझ परेपछि हामीले छुट्टिने तरखर ग¥यौं ।
सम्पर्कका लागि उनले मेरो फेसबुक आईडी मागिन् । हातको मोबाइल केही बेर चलाइन् र भनिन्, ‘मैले फ्रेन्ड रिक्वेस्ट पठाएको छु । एक्सेप्ट गर्नु होला । एसएचआरआई छ है सिर्जनाको । प्रधानको पीचाहिँ स्मल छ ।’
उनीसँग छुटिएपछि म सरासर घर फर्किएँ । साँझको खानाखाएँ र फेसबुक खोलँे ।
सिर्जना प्रधानको प्रोफाइलमा गएँ ।
उनको प्रोफाइलभरि ‘दुःखद निधनको एक वर्ष’ भन्दै समवेदनाहरू भरिएका थिए । म चकित भएँ । कताकता दुखेको अनुभव भयो । मलाई मृत्युको मजा सिकाउने युवती एक वर्षअघि नै मरिसकेकी रहिछिन् ।
‘नपत्याउँदो गरी तिमीले हामीलाई छाडेर गएको पनि एक वर्ष बितिसकेछ । अघिभर्खर भेटेजस्तो लाग्थ्यो । तिम्रो आत्माले शान्तिपाओस् सिर्जना ।’
मैले उठेर पुनः एक जोर मैनबत्ती बालेँ ।

[email protected]