कविता
बिर्सिएका अतीत
भविष्यमा जोड्न बाँकी
फलामका बाङ्गिएका टुक्रा र
भाँच्चिएका हात, खुट्टाहरूको मन्दिर हो
कवाडीखाना !
भट्किएका
मानव शरीर र मस्तिष्कले बिगार गरेका
बिगार परेका
आँखा लागेका
पक्षघात भएर थला परेका
पेट दुखेका
पाठेघर खसेका
क्यान्सर भएर सकिएका मान्छे जस्तै
गाडी, मोटरसाइकल, ट्रक र बसहरूको
कतै इन्जिन त
कतै साइड लाइट
कतै पाङ्गा त् कतै झ्याल र ढोकाहरूको
भण्डारण हो कवाडीखाना !
मान्छेको भत्केको मन र
भत्केका अस्वस्थ सङ्गतले
निकालेका प्रदुषणहरू
भ्रष्ट सरकार र नेताहरूले
लुकाएको सन्नुसहरू
सिंहदरबार र न्यायदरबार पनि ऐले त
कवाडी खानामै जम्मा भै रहेछन् !
कोही चाहियो भने आउँछन्
सस्तोमा खोज्न
अरुका भत्केका, टुटेका, फुटेका पाटपुर्जा
हात, आँखा र कानहरू
मुटु, कलेजो र मृगौलाहरू
यहीँबाट दामासाही रकममा
लान्छन र बाँच्छन्
नेता भएर…
कवाडीखाना बिन्ती गरिरहेछ-
मबाट लगेका टुक्रा सामानहरू जोडेर
तिमी नेता जस्तै
बच्चाहरूको रगतले रगताम्मे भएर चाहिँ नबाँच्नू
भिमसेन थापा भएर बाँच्नू
बहादुर शाह बन्नू
बरू जङ्गबहादुर बन्नू
महेन्द्र बन्नू
आधुनिक बालेन बन्नू
कवाडीखानाका सामानले
सर्जरी गरेर फेरि बाँचेपछि
देश, समाज र विश्वकै लागि प्रेरणा भएर बाँच्नू
हावा, पानी, घाम, आगो भएर सरल बाँच्नू !
कवाडीखाना आइसियु हो
बोहोसीको रङ्गमञ्च हो
नरक हो
प्रेत लोक हो
पितृ लोक हो
यहाँ टुटेका सामानहरू जस्तै
मरेका मान्छेहरूको जिजीविषा आउँछन्
र पश्चातापको अग्निमा जलेर
शुद्धीकरण भएर
फेरि धर्तीमा जान्छन्
तिमीले भन्ने गरेको मृत्युु पछिको लोक
कवाडीखाना नै त हो…
तिमीले आफु मरेपछिको संसार देख्ने भए
म कहाँ आउनु
कवाडीखाना यही भनिरहेछ-
राग, द्वेष र मोहको त्रिविष
यहाँ निर्मलीकरण भैरहेछ
यहाँ शिवको निलकण्ठ स्वरूप छ
बोधिसत्त्वहरूको करुणा छ
अष्टभैरवको हुंकार वज्र नाद छ
कालीको रक्त जिब्रो छ
जहाँ रक्तबिजहरू मुक्त हुन्छन्
कवाडीखाना विष्णुको योगनिन्द्रा पनि हो
जहाँ ब्रह्मकमल विश्राम गर्दा
महामाया आफ्नो मोहमा संसारलाई मृत्युको
तन्ना ओढाएर बिर्साइरहेछिन्
तिम्रा सबै वृत्तिहरू !
कवाडीखाना केतु हो
शनिश्चर हो
वृश्चिक राशि हो
जमेको पोखरी हो
अँध्यारो कालरात्री पूजा घर हो
कृष्णको महाभारत हो
अशोकको युद्ध मैदान हो
तिमीले कवाडीखानाको यात्रा
चौरासी लाख योनिमा
गरिरहनै पर्छ
त्यसैले कवाडीखाना
जन्म र मृत्युको दोभान हो
ट्रान्जिट पोइन्ट हो
मोक्षमा पुग्ने योगीहरू बाहेक
सबै जीव
यही योनिको गंगा नुहाएर
संसारभित्र पस्ने र निस्कने गर्छन् !
त्यसैले कवाडीखाना मन्दिर हो
तिर्थ हो
गुरु हो
चेतसिक आलयविज्ञान हो
प्रेमको रासलीला हो
चेतनाको विश्राम घर हो
चौतारी हो
र मेरा लागि
आमाको गर्भ हो…
जहाँ म सांसारिक र आध्यात्मिक पूनर्जन्म
छिन्नमस्ता भएर
लिइरहेछु….
श्रीराम स्वधर्म
काठमाडौँ