• २०८२ माघ ९, शुक्रबार

‘पवन आलोक नियात्रा सम्मान’ व्यासलाई प्रदान

काठमाडौं ।

नियात्रा समाज नेपालले ‘पवन आलोक नियात्रा सम्मान—२०८१’ अग्रज नियात्राकार निर्मोही व्यासलाई प्रदान गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अग्रज नियात्राकार घनश्याम राजकर्णिकारले निर्मोही व्यास (प्रा. डा. वेदव्यास उपाध्याय न्यौपाने)लाई उक्त सम्मान प्रदान गरे । सम्मानका साथ नगद राशि ५० हजार एक रुपैयाँसमेत प्रदान गरियो ।

सम्मानित व्यक्तित्व डा. व्यासले आफ्नो नियात्रा लेखनको थालनीबारे स्मरण गरे । उनले आफ्नो बानी रचना पटकपटक परिष्कार गर्दै जाने भएकोले, त्यसैले आफूलाई यहाँ उभ्याएको उल्लेख गरे । छनोट समितिका सदस्य साहित्यकार श्रीओम श्रेष्ठ रोदनले नियात्राकार व्यासको यस क्षेत्रमा योगदान अतुलनीय रहेको बताउँदै उनी आफ्नो सिर्जनामा हृदय पस्किने सर्जक भएको चर्चा गरे । नियात्राकार प्रतीक ढकालले पाँच वर्षअघि पुरस्कार स्थापना गर्दाको समय स्मरण गरे ।