गीत
ललितपुर ।
नेपाल बालसाहित्य समाज, ललितपुर महानगरपालिका र पाटन संग्रहालयको संयुक्त आयोजनामा तथा विभिन्न संघसंस्थाको सहआयोजनामा तेस्रो बृहत् बालसाहित्य महोत्सव यही माघ ११, १२ र १३ गते पाटन संग्रहालयमा आयोजना हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा बालसाहित्यसम्बन्धी कार्यपत्र प्रस्तुति, बालसाहित्य र बालसरोकारका विषयमा सामूहिक छलफल, बालसाहित्यिक पुस्तक विमोचन, अन्तक्र्रिया तथा संग्रहालय प्रदर्शनीलगायतका विविध कार्यक्रम समावेश गरिएका छन् ।
महोत्सवमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा साहित्यकार–कलाकारहरूको सक्रिय सहभागिता रहनेछ । बाल सहभागितालाई विशेष प्राथमिकता दिइएको महोत्सवमा नृत्य, गायन, नाटक, कवितावाचन, कथावाचनलगायत कला प्रस्तुतिका कार्यक्रमहरू हुनेछन् भने वरिष्ठ बालसाहित्यकारहरूका रचना वाचनसमेत गरिनेछ । महोत्सवको विशेष आकर्षणका रूपमा बंगलादेशबाट आमन्त्रित वरिष्ठ साहित्यकार प्रा.डा. मिजानुर रहमान कल्लोलले किनोट स्पिच दिनुहुनेछ ।
सामूहिक छलफलका विषयहरूमा ‘सामाजिक सञ्जाल र बालबालिका’, ‘स्थानीय सरकार र बालबालिका’, ‘बालसाहित्य, पाठ्यपुस्तक र पठन संस्कृति’, ‘बालसाहित्यको बदलिँदो परिस्थिति’ तथा ‘सम्पदा, संस्कृति र बालबालिका’ रहेका छन् । त्यस्तै, प्रस्तुत हुने कार्यपत्रहरूमा डा. तीर्थबहादुर श्रेष्ठको ‘बालसाहित्यमा विज्ञान’, प्रा. भिक्टर प्रधानको ‘बालसाहित्यको अबको बाटो’, प्रा.डा. मिजानुर रहमान कल्लोलको ‘फोकलोर टु फ्युचर: ब्लेन्डिङ बंगलादेशी कल्चर विथ साइन्स फिक्सन’ तथा गौरी प्रधानको ‘बालसाहित्यमा बाल अधिकार’ समावेश छन् ।
रंगकर्मी तथा बालसाहित्यकार केदार श्रेष्ठले ‘बालसाहित्यसँगै बाल रंगमञ्च र बाल चलचित्र’ विषयमा प्रस्तुति दिनुहुनेछ। यसैगरी रंगकर्मी पुष्पराज अवस्थी र कलाकार कृष्णभक्त महर्जनको संयोजनमा नाट्य तथा कला प्रस्तुति रहनेछ। साथै कलाकार प्रदीप वम्जन, रोशनसिंह क्षितिज, नरहरि प्रेमीलगायतले सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ । महोत्सवका कार्यक्रमहरू पाटन संग्रहालयको भित्रीचोक, भण्डारखाल चोक र भण्डारखाल हलमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
