कविता

भिजाएर परेली सम्झनाको तरेलीमा
असरल्ल स्वप्न बगैंचामा रमाउदै
छटपटी लुकाउदै बैशालु अनुहारहरू
प्रबासिन्छन पछ्याउदै सपनाहरू !
खै के फुलेका थिएनन् र बगैंचामा फूलहरू
खै के झुलेका थिएनन् र मनमा सप्तरंगी भावनाहरू
माटोको सुवासले न रोक्न सक्यो
न हिमालका सुन्दरताले छेक्न सक्यो
अभाव र बाध्यताले चुडाउदै दाम्लाहरू
प्रवासिन्छन् पछ्याउदै सपनाहरू !
समाज हुनुको अर्थ हो मान्छे
समाज बन्नुको अर्थ हो संस्कृति
गुराँस फुल्ने डांडालाई न तराईले बिस्र्यो
लह लह झुल्ने धानका फाँटलाई न पहाडले नै भुल्यो
अविष्मरणीय मानसपटलमा रेखाङ्कित उच्छ्वास
समयान्तर गरूङ्गो पीडाले थिचे पनि
खै के भुल्न सक्थ्यो कोहि आफ्नै माटोको सुवास
आकाश उस्तै छ
धर्ति फरक छ
प्रकृति उस्तै छन
बेनाम बनेर
सुन्यमा झर्दै गरेका
थुप्रै समय
आफुलाई खोज्दै हिंडेका
थुप्रै थुप्रै बेनामेहरूको लाममा
आफैलाई सोध्छ
आफ्नो पहिचान
फरक परिवेस फरक जीवन
फरक मान्छेका हुलमा
कतै
भेटिए आफ्नै संस्कृति
बोलिए आफ्नै भाषा
अनि देखिए आफ्नै जस्ता चेहरा
उज्यालिन्छ अनुहार
लाग्छ मिसिएकोछ आफ्नै मूलमा
स्वदेशको आभासले
बिर्सन्छन प्रवासका पीडाहरू
धेरै समय हराएर
बनेर बेपत्ता
समुन्द्रको सतहमा
एउटा त्यान्द्रो भेटिएको झैं
जीवित रहनुको एउटा संदेश बाँचेको छ
धेरै अन्तराल पछि
आफ्नै भाषा
अनि आफ्नै संस्कृतिले
आफु चिनिएको समय सँग ।
वसन्त श्रेष्ठ, भर्जिनिया, अमेरिका