हावा उसरी नै चलिरहेछ
उसरी नै खसेको छन् पिपलका पात भुइँमा
फेरि पनि
आधी खाएर बरको दाना
छेवैमा खसाएको छ लोखर्केले
ओहोरदोहोर छ बटुवाहरूको
मजस्तै दुःखको भारी विसाउनेहरू
शीतल तापिरहेछन् यही छहारीमुनि ।
शताब्दियौँदेखि सँगै देख्छु यी बरपीपल
यसपाला पनि
अलिकति लम्केछ बरको त्यो हाँगा
अलिकति तन्केछ पीपलको यो हाँगा
हेर त,
उमेर बढेसँगै हरेक साल
झन्- झन् बढिरहेको छ यिनीहरूको अङ्कमाल !
अनि
‘प्रेम बैँसको रौनकता मात्र हो’
को हो त्यो भन्ने ?
‘प्रेम जवानीको आवेग मात्र हो’
को हो त्यो गीत गाउने ?
तर,
प्रवाह छैन तिमीलाई
यी कुनै कुराको !
आफैँ चुट्टिने गरी तन्किए पनि म
आफैँलाई उछिन्ने गरी दगुरे पनि म
जति झुके पनि म आफैँ भाँचिने गरी
जति उफ्रिए पनि आफैँ लाई नाघ्ने गरी
तिमी त कहिल्यै नभेटिने गरी
टाढिएकी मान्छे !
एउटा अनन्त दूरी छोडेर
अन्तरिक्ष र धर्तीझैँ ।
वर्षौंदेखि यही बाटो भएर
तिमीले मेरा पसिना पुछेको उकालीमा
मायाले मलाई
तिमीले हम्केको देउरालीमा
यो हामी हिँडेको बाटोले बिर्सियोस्
यो हामी उभिएको माटोले भुलोस्
यस चौतारोले याद नगरोस्
हो प्रिय,
त्यो तिम्रो मुस्कानलाई पत्ता नहोस्
मैले तिम्रो चुल्ठोमा सिउरिदिएको फूल !
यसरी म बिथोलिएको
तिम्रा आँसुलाई थाहा नहोस्
थाहा नहोस् प्रिय
म अलपत्र रोकिएको यसरी
तिम्रा पाइलालाई थाहा नहोस् ।
समयलाई चुपचाप बित्नदेऊ
नरोक तिम्रा गतिहरू, यथावत छोडिदेऊ
बिहान हुन्छ नै,
रात पनिहुन्छ
हुनदेऊ
बरू मेरो बाँकी जिन्दगी म
यही अँध्यारो कुनोबाट जीवनको
तारा गनेर बिताऊँला !
र अन्तिममा-
यो त झन् पटक्कै थाहा नहोस् तिमीलाई
कि म आज यस चौतारीमा रोकिएर
फेरि अर्कोपटक उसरी नै भूल गरिरहेछु
तिमीलाई सम्झिएर ।
(अमेरिका निवासी भट्टराई विगत एकदशकभन्दा अघिदेखि सिर्जना क्षेत्रमा लागेका सक्रिय स्रष्टा हुन्)
[email protected]