• २०८२ बैशाख ७ आइतबार

वसन्तकाव्य लहरी कार्यक्रम सम्पन्न

काठमाडौ, १ बैशाख २०७९

काठमाडौँ, ३० चैत्र, पशुपति क्षेत्र विकास कोषको तत्वावधानमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर तथा राष्ट्रिका साहित्य प्रतिष्ठाको संयुक्त आयोजनामा नयाँ वर्ष २०७९ विशेष शुभकामना आदानप्रदान तथा वसन्तकाव्य लहरी कार्यक्रम पाशुपत क्षेत्रको देवबाटिकामा सम्पन्न भयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका नि.वर्तमान उपकुलपति डा. बिष्णुविभू घिमिरेको प्रमुख आतिथ्यमा भएको वसन्तकाव्य लहरी कार्यक्रममा वरिष्ठ कवि अशेष मल्ल, डा. हरि प्रसाद पोखरेल(मानसाग्नी) डा. सावित्री मल्ल कक्षपति, कविहरू मातृका पोखरेल,कृष्ण प्रसाईं, किशोर पहाडी, दिव्यगिरी, सुमन थापा सङ्गम, राधिका गुरागाईं, गीता कार्की, ठाकुर वेलबासे, समिना खनाल, उमा सुवेदी ,राजेन्द्र गुरागाई, पवित्रा अधिकारी, माधव बिडारी, रामप्रसाद कोइराला, सुष्मा आचार्य अंशु, गोविन्द मरासिनी, मधु पाठक, लगायतका कविहरूले वसन्त विशेष कविता वाचन गरेका थिए ।

राष्ट्रिका साहित्यका प्रतिष्ठानका महासचिव तथा पशुपति क्षेत्र विकास कोषका कार्यकारी प्रमुख डा. घनश्याम खतिवडाले आमन्त्रित अतिथि तथा कविहरूलाई पशुपतिको चन्दन, रुद्राक्ष तथा शिवनामीले स्वागत गरेका थिए । डा. खतिवडाले यस प्रकारको कार्यक्रमलाई पर्व विशेष रुपमा निरन्तरता दिने विचार व्यक्त गरेका थिए।

बाँसुरी वादक वसन्त चामलिङ्ले बाँसुरीमा वसन्त राग सुनाए भने कवितावाचनका क्रममा पार्श्व ध्वनि प्रदान गरेका थिए ।
राष्ट्रिका साहित्य प्रतिष्ठानकी उपाध्यक्ष डा. शान्तिमाया गिरी तथा समालोचक डा. सावित्री मल्लले कविता माथि संक्षिप्त विचार व्यक्त गरेका थिए ।

राष्ट्रिका साहित्य प्रतिष्ठानकि सचिव कवि रञ्जना निरौलाद्वारा संचालित कार्यक्रममा प्रमुख अतिथि घिमिरेले यस्ता कार्यक्रमले कविहरूमा उर्जा थपिने र नयाँ र पुराना पुस्ताबिचको सम्बन्ध प्रगाढ हुने धारणा राखेका थिए ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेको अध्यक्षतामा भएको थियो ।