• २०८३ असार २९, सोमबार

कवि श्रीराम पाण्डेको ‘निःशब्द शब्द’ सार्वजनिक

काठमाडौँ ।

ज्योति साहित्य प्रतिष्ठानको २२७औँ शृङ्खलामा साहित्यकार श्रीराम पाण्डेको ‘निःशब्द शब्द’ कवितासङ्ग्रहको सार्वजनिक गरिएको छ । ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शिखर कवि शैलेन्द्र शाकार प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा प्रा.डा. निमोही व्यास, गजलमाली ज्ञानुवाकर पौडेल, प्रा.डा. भरतकुमार भट्टराई, विमल भौकाजी, प्रा. युयुत्सु आर. डी. शर्मा, नारायण तिवारी, कवि दिनेश विक्रम थापा, रविन्द्र आशिष् शैली, कल्पना मरासिनी, प्रोल्लास सिन्धुलीय लगायत साहित्यकार, समालोचक, लेखक तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा स्वागत मन्तव्य श्याम श्रेष्ठले गरेका थिए ।

सभाध्यक्ष, प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले संयुक्त रूपमा ‘निःशब्द शब्द’ कवितासङ्ग्रहको लोकार्पण गर्दै नेपाली कविताको समकालीन प्रवृत्ति, सिर्जनात्मक जिम्मेवारी तथा साहित्यको सामाजिक भूमिकाबारे विचार व्यक्त गरेका थिए । वक्ताहरूले उक्त कृतिले मानवीय संवेदना, जीवनका विविध अनुभूति, सामाजिक यथार्थ तथा समयका मौन पीडालाई सशक्त रूपमा अभिव्यक्त गरेको धारणा राखेका थिए । इमाडोलस्थित कृष्ण मन्दिर परिसरको इन्द्रेणी फुड स्टीक क्याफेमा सम्पन्न कार्यक्रममा कृतिको समीक्षा गर्दै शिखर कवि शैलेन्द्र शाकारले कविताले समाजका मौन आवाजलाई प्रभावकारी रूपमा अभिव्यक्त गर्न सक्नुपर्ने धारणा राखेका थिए । उनले श्रीराम पाण्डेको लेखनमा जीवनप्रतिको गहिरो दृष्टि, भाषिक सौन्दर्य तथा अनुभूतिको सघनता रहेको उल्लेख गरेका थिए ।

त्यसैगरी प्राडा निमोही व्यास, ज्ञानुवाकर पौडेल, प्राडा भरतकुमार भट्टराई, विमल भौकाजी लगायतका वक्ताहरूले कृतिका विविध पक्षमाथि समीक्षा गर्दै यस सङ्ग्रहका कविताहरूले पाठकलाई सोच्न, महसुस गर्न तथा आत्मचिन्तन गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे । उनीहरूले ‘निःशब्द शब्द’ नेपाली साहित्यको समकालीन फाँटमा एक गहन र महत्त्वपूर्ण कृति भएको उल्लेख गर्दै श्रीराम पाण्डेको निरन्तर साहित्यिक साधनाको प्रशंसा गरे। साथै आगामी दिनमा उनीबाट अझ सशक्त कृतिहरू प्रकाशित हुने अपेक्षा व्यक्त गरे ।

शुभकामना मन्तव्य राख्ने वक्ताहरूले नेपाली साहित्यमा नयाँ सिर्जनाको निरन्तरता आवश्यक रहेको उल्लेख गर्दै यस्ता कृतिहरूले साहित्यिक वातावरणलाई अझ समृद्ध बनाउने धारणा व्यक्त गरे । उक्त कृतिबाट युवा कविहरू योगाज राजन कविराज, सुनिता अधिकारी, रचिता दाहाल तथा बुद्धिमान महर्जनले कविता वाचन गरेका थिए । अन्चु सुवेदीले सहजीकरण गरेको कार्यक्रममा कृतिकार श्रीराम पाण्डेले आफ्नो लेखकीय यात्राबारे चर्चा गर्दै कविता आफ्नो जीवनको अभिन्न अभिव्यक्ति भएको बताए। उनले समाज, समय, मानवीय सम्बन्ध, पीडा, आशा तथा जीवनका विविध अनुभूतिलाई कवितामार्फत अभिव्यक्त गर्ने प्रयास गरेको उल्लेख गर्दै पुस्तक प्रकाशनमा सहयोग पु¥याउने सम्पूर्ण व्यक्तिहरूप्रति आभार व्यक्त गरेका थिए ।

श्रीराम पाण्डे यसअघि कविता, निबन्ध, कथा तथा अन्य विधाका पाँच कृति प्रकाशित गरिसकेका सक्रिय साहित्यकार हुन्। उनका कृतिहरूले नेपाली साहित्यमा छुट्टै पहिचान बनाउन सफल भएको सहभागीहरूले बताएका थिए । ‘निःशब्द शब्द’ कवितासङ्ग्रहको प्रकाशन मधुकुमार थापाले गरेका हुन्। लोकार्पण समारोह साहित्यिक विमर्श, कविता वाचन, समीक्षा तथा शुभकामना मन्तव्यले भरिपूर्ण बनेको थियो। कार्यक्रममा सहभागी साहित्यकारहरूले नेपाली साहित्यमा सिर्जनात्मक लेखनलाई प्रोत्साहन गर्न यस्ता कृतिहरूको प्रकाशन तथा सार्वजनिक विमर्शलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए । अन्त्यमा सभाध्यक्ष मणिराज सिंहले कृतिकार श्रीराम पाण्डेलाई बधाई ज्ञापन गर्दै प्रमुख तथा विशिष्ट अतिथिहरूका साथै युवा कविहरू योगाज राजन कविराज, सुनिता अधिकारी र रचिता दाहाललाई ‘टोकन अफ लभ’ प्रदान गरेका थिए ।