• २०८३ आश्विन २०, मंगलवार

नम्रता गुरागाईँको ‘भूगोलका सपनाहरू’ निबन्धसङ्ग्रह लोकार्पण

काठमाडौं ।

अमेरिकामा रहेर नेपाली साहित्यमा सक्रिय स्रष्टा नम्रता गुरागाईँको निबन्धसङ्ग्रह ‘भूगोलका सपनाहरू’ लोकार्पण गरिएको छ । युद्धप्रसाद मिश्र प्रतिष्ठानले पद्मकन्या बहुमुखी क्याम्पसस्थित डेनिस हलमा आयोजना गरेको विशेष समारोहमा कृति लोकार्पणसँगै परिचर्चा तथा दसैँ, तिहार, छठ र इदुलफित्रलगायत नेपाली चाडपर्वको शुभकामना आदानप्रदान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष प्रा.डा. लेखप्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भाषाविद्, निबन्धकार तथा समालोचक प्रा.डा. माधवप्रसाद पोखरेल प्रमुख अतिथि थिए। पूर्वमन्त्री तथा साहित्यकार शान्ता मानवी, प्रतिष्ठानका पूर्वअध्यक्षद्वय प्रा.डा. जीवेन्द्र देव गिरी र डा. फणीन्द्रराज निरौला, नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने, समालोचक डा. गीता त्रिपाठीलगायत साहित्यिक क्षेत्रका स्रष्टा तथा व्यक्तित्वहरूको उपस्थिति थियो ।

कार्यक्रममा डा. गीता त्रिपाठी र डा. फणीन्द्रराज निरौलाले ‘भूगोलका सपनाहरू’ माथि परिचर्चा गरेका थिए। डा. त्रिपाठीले सङ्ग्रहका निबन्धमा कोमल अनुभूति, नम्र प्रतिरोधी चेतना र सरल भाषामा व्यक्त गहिरा विचार पाइने बताइन्। आत्मपरक, आख्यानात्मक तथा संस्मरणात्मक शैलीमा लेखिएका निबन्धले नारी जीवन, वियोग, स्वास्थ्यचेतना, विद्यालयीय जीवन तथा सामाजिक यथार्थका विविध पक्षलाई समेटेको उनको भनाइ थियो । डा. फणीन्द्रराज निरौलाले सात समुद्रपारिको व्यस्त जीवनबाट समय निकालेर नेपाली भाषा–साहित्यमा गुरागाईँले निरन्तर योगदान दिइरहेको बताए । उनका अनुसार २६ निबन्ध समेटिएको १९७ पृष्ठको यस कृतिमा नेपाल र अमेरिकाको परिवेश, बाल्यकालका स्मृति, पारिवारिक सम्बन्ध, प्रवासका अनुभव, आमाको सम्झना, सन्तानसँग जोडिएका अनुभूति, पशुप्रतिको संवेदना, विज्ञान तथा प्रविधिलगायत विविध विषय समेटिएका छन् ।

निरौलाले निबन्धमा घटना विवरण मात्र नभई मानवीय संवेदना, जीवनदर्शन र यथार्थ भोगाइसमेत कलात्मक रूपमा प्रस्तुत भएको बताए। स्वदेशका स्मृति र माटोसँग जोडिएका अनुभूतिदेखि प्रवासको व्यवहारिक जीवनसम्मका विषय निबन्धमा आएको उल्लेख गर्दै उनले लेखनमा अझ निरन्तरता र ऊर्जाको सदुपयोगका लागि शुभकामना दिए । समारोहमा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, प्रकाशक केशव पराजुली, साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेल, अनिल पौडेल, प्रा.डा. यादवप्रकाश लामिछाने, मा. गुरु बराल, पूर्वमन्त्री शान्ता मानवी र प्रा.डा. जीवेन्द्र देव गिरीलगायतले कृतिकारलाई बधाई तथा शुभकामना दिएका थिए। वक्ताहरूले प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य र देशसँगको सम्बन्धलाई सिर्जनामार्फत निरन्तरता दिएकोमा गुरागाईँको प्रशंसा गरे।

प्रमुख अतिथि प्रा.डा. माधवप्रसाद पोखरेलले ‘भूगोलका सपनाहरू’ ले नेपाली अस्मिता भूगोलभन्दा बाहिर पुगे पनि नछुट्ने प्रमाण प्रस्तुत गरेको बताए। प्रवासमा भोगेका चोट, अनुभव र जीवनका विविध पक्ष निबन्धमा अभिव्यक्त भएको उल्लेख गर्दै उनले नेपाली भाषाको शुद्ध प्रयोगप्रति लेखकले देखाएको सचेतनाको प्रशंसा गरे। उनले नेपाली भाषामा प्रकाशित पुस्तकहरूको व्यापक डिजिटाइजेसन आवश्यक रहेको धारणा पनि राखे ।कृतिकार नम्रता गुरागाईँले परदेशबाट घर फर्कनु परिवारसँगको भेटसँगै नयाँ ऊर्जा लिएर फर्किनुजस्तो हुने बताइन्। आफ्ना निबन्धमार्फत पाठकको मनसम्म पुग्न सकेँ कि सकिनँ भन्ने आफूमा रहेको जिज्ञासा व्यक्त गर्दै उनले कृति पढेर प्रतिक्रिया दिन आग्रह गरिन् । उनले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथि तथा साहित्यकारहरूप्रति आभार व्यक्त गरिन् ।

सभाध्यक्ष प्रा.डा. लेखप्रसाद निरौलाले गुरागाईँ मूलतः कवि भएकाले त्यसको प्रभाव निबन्धमा पनि देखिएको बताए। विचारको सघनता, स्मृति, अनुभूतिको तरलता, छोटा–लामा निबन्ध तथा विधागत विविधताका कारण कृति पठनीय बनेको उनको भनाइ थियो ।कार्यक्रमको प्रारम्भ राष्ट्रगानबाट गरिएको थियो। त्यसपछि कविवर युद्धप्रसाद मिश्रको तस्बिरमा माल्यार्पण तथा पुष्पार्पण गरिएको थियो। कविवर मिश्रको कविता उहाँकै नातिले प्रस्तुत गरेका थिए। प्रतिष्ठानका उपाध्यक्ष नन्दु उप्रेतीले स्वागत गर्दै कृति लोकार्पणसँगै नेपाली चाडपर्वमा संस्थागत रूपमा शुभकामना आदानप्रदान गर्ने परम्पराको सुरुआत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।