समाचार
विद्यालयबाट आउनासाथ मैले नातीलाई सोधेँ । आज बाबुले विद्यालयमा के पढ्यौ ? ट्विङ्कल ट्विङ्कल लिटल स्टार गीत गाउन मिसले सिकाउनुभयो- नातिले जवाफ दियो । गीत पनि गाएर सुनायो । त्यसो भनेको के हो ? मैले नातीसँग प्रति प्रश्न गरे । थाहा छैन नातिको सहज उत्तर । मैले मनमनै सोचेँ राति नातिलाई आकाशमा देखाएर स्टार भनेको तारा हो भन्ने बुझाउने निधो गरेँ । सुत्नुभन्दा पहिले नातिलाई घरको कौसीमा लिएर गएँ । माथि आकाश देखाएँ । चम्किरहेका लाखौं तारा हेर्न पाउँदा उसले चाख मानेर हेर्यो । आकाशमा चम्केका ती सबै तारा हुन् भने । चम्किलो धुर्बतारा पनि देखाएँ । तिम्रा मिसले सिकाएको गीत यिनै तारा झिमझिम गरेको हो । अङ्ग्रेजीमा भन्दा यिनैलाई ट्विङ्कल ट्विङ्कल लिटल स्टार भनिन्छ । अङ्ग्रेजीमा स्टार भनेको नेपालीमा तारा हुन्छ । मैले सम्झाएपछि नातिले बुझेझैँ गरेर टाउको हल्लायो । हामी गएर आ-आफ्ना ओछ्यानमा सुत्यौं ।
बिहान उठ्ने बित्तिकै नाती कौसीमा गएछ । आकाशमा हेरेछ उसले स्टार नदेखेपछि फर्केर मेरो कोठामा आएको रहेछ । उसले भनेपछि मैले थाहा पाएँ । मेरो हात समातेर मलाई कौसीमा लग्यो र सोध्यो हवा हजुरबाको छोटकरी खोइ त रातिका स्टार कता गए ? देखिँदैनन् त । उसको बाल मनोविज्ञानमा सजिलै बुझ्नेगरी ताराहरू कता गए भनौं ? म अलमल्लमा परेँ । तिमी भरे विद्यालयबाट फर्केर आउनु त्यसपछि म भन्छु । तत्कालका लागि समस्या समाधान त गरे । नाती खाना खाएर विद्यालय गयो । दिउँसो तारा कतै जाँदैनन् भनौँ उसको बाल मस्तिष्कले पत्याउँदैन । उज्यालो, अध्यारो र ताराको सम्बन्ध बुझाउने उपायका खोजीमा दिनभरि घर बाहिर निस्केँ ।
पृथ्वी घुम्ने कुरा मैले पो बुझेको छु । बाल मस्तिष्कमा उसलाई बुझाउन सकिँदैन । नयाँ जुक्ति भेटिएन । नातिले स्कुलबाट आएपछि स्टार खोइ भनेर सोध्ने डर लाग्यो । उ आउने समयमा म एउटा पुस्तक लिएर पढ्न बसेँ । उसले झोला भुइँमा फ्याँकेर सोध्यो हवा स्टार भेटिए ? अहिले दिउँसै छ । राति नभई स्टार देखिँदैन मैले भने । अहिले स्टार कहाँ छन त ? नातिले ताराबारे जिज्ञासा पोखिहाल्यो । मैले भने म यो किताबमा पढ्दैछु । स्टार दिउँसो कहाँ जान्छन पत्ता लागेपछि मेरो नातिलाई भन्छु । नाती हस् भनेर खाजा खान गयो । दिउँसो तारा कता जान्छन् भनेर नातिलाई जवाफ दिन भए पनि मैले वर्षौंदेखि उसका अगाडि पुस्तक पढेको नाटक गरिरहेको छु । दिउँसो तारा जाने ठाउँ पत्ता लगाउने नाटक चलिरहेको छ । नाती मेरो जवाफको प्रतीक्षामा छ । म भने उसैको प्रतीक्षामा छु । उ ठूलो हुन्छ । विज्ञान पढ्छ । बुझ्छ र मसँग जवाफ माग्दैन भन्ने समयको पर्खाइमा छु । नातिका अगाडि दिउँसो स्टार कहाँ जान्छन पत्ता लगाउन किताब पढेको नाटक गरिरहेको छु । जब नातिले पढेर बुझ्छ त्यसपछि मेरो नाटक पनि समाप्त हुन्छ।
गोपालकुमार मैनाली
काठमाडौँ ।