• २०८२ माघ २, शुक्रबार

देवघाटमा परमानन्द काव्यसरिताको १७ औँ शृङ्खला भव्य रूपमा सम्पन्न

देवघाट ।

तनहुँको देवघाटस्थित परमानन्द गुरुकुलद्वारा प्रत्येक वर्ष आयोजना हुँदै आएको साहित्यिक उत्सव ‘परमानन्द काव्यसरिता’ को १७ औँ शृङ्खला यस वर्ष पनि भव्यताका साथ सम्पन्न भएको छ । ब्रह्मलीन स्वामी परमानन्द गुरुको २९ औँ स्मृति दिवसको पूर्वसन्ध्यामा आयोजित उक्त काव्यसरिता गुरुकुलका प्राचार्य सचिदानन्द सरस्वतीको सभाध्यक्षता तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य, कवि तथा समालोचक प्रा.डा. देवी नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

साँझ आठ बजेदेखि रातको साढे एक बजेसम्म सञ्चालित कार्यक्रममा स्वामी ज्ञानानन्द सरस्वती, विवेकानन्द सरस्वतीलगायत विशिष्ट सन्त, महन्त र स्वामीज्यूहरूका साथै देशभरका ख्यातिप्राप्त कवि तथा नवकविहरूको उल्लेख्य उपस्थिति रहेको थियो । काव्यसरिताको शुभारम्भ स्वामी स्वरूपानन्द सरस्वतीको कविता वाचनबाट भएको थियो ।

कार्यक्रममा भरतपुर प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलिया, ललितकला क्याम्पस काठमाडौँका सहायक क्याम्पस प्रमुख कृष्णकुमार खरेल, चर्चित युवाकविहरू पुरुषोत्तम आचार्य, केशव भट्टराई, उत्तम विचार भेटवाल र मनोज भण्डारीलगायत ३६ जना कविहरूले नेपाली तथा संस्कृत भाषामा आफ्ना सशक्त कविता, गीत र गजल प्रस्तुत गर्नुभएको थियो । चार घण्टासम्म निरन्तर बगेको काव्यसरिताले देवघाटको आध्यात्मिक वातावरणलाई साहित्यिक ऊर्जाले भरिदिएको सहभागीहरूको प्रतिक्रिया थियो ।

प्रमुख अतिथि प्रा.डा. देवी नेपालले मन्तव्यका क्रममा देवघाटका नवकविहरूको लेखनस्तरले आफूजस्ता अग्रज कविहरूलाई समेत चुनौती दिएको उल्लेख गर्दै नयाँ पुस्ताबाट ‘हार्न पाउँदा गर्व लागेको’ धारणा व्यक्त गर्नुभयो। उहाँले संस्कृत छन्दपरम्परा कमजोर बन्दै गएको सन्दर्भमा नेपाली भाषाले चार सयभन्दा बढी शास्त्रीय छन्दलाई जोगाइराख्न सफल भएको उल्लेख गर्दै अब ती छन्दको संरक्षण, विकास र मानकीकरण गर्ने ऐतिहासिक जिम्मेवारी नेपाली भाषाकै काँधमा आएको बताउनुभयो ।

काव्यसरिताको सञ्चालन प्रखर युवाकवि गोविन्दगोपाल खतिवडाले गर्नुभएको थियो भने छात्र कल्याण परिषद्का अध्यक्ष कृष्णप्रसाद भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको उत्तरार्धमा गुरुकुलका विद्यार्थीहरूले लेखन, निर्देशन र अभिनय गरेको समसामयिक नाटक ‘उल्टो टोपी’ पनि मञ्चन गरिएको थियो, जसले वर्तमान राजनीतिक तथा सामाजिक अवस्थालाई सशक्त रूपमा चित्रण गरेको थियो ।

अन्त्यमा गुरुकुलका प्रमुख संरक्षक ज्ञानानन्द सरस्वती र प्राचार्य सचिदानन्द सरस्वतीले समग्र कार्यक्रमको समीक्षा गर्दै यस वर्षको काव्यसरिता अझ विशेष र स्मरणीय बनेको उल्लेख गर्नुभयो । नवपुस्तालाई सिर्जनात्मक मार्गमा प्रेरित गर्न यस्ता साहित्यिक कार्यक्रमहरू गुरुकुलले निरन्तर सञ्चालन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको थियो ।