समाचार
स्याङ्जा ।
भीरकोट पोखरा सामीप्य सदनले स्याङ्जा घर भई विभिन्न विधामा उल्लेखनीय योगदान पुरयाएका चार जनालाई सम्मान गरेको छ । संस्थाले प्रदान गर्दै आएको मुना–कृष्ण पुरस्कार वितरण–२०८२ अन्तर्गत शिक्षा, समाजसेवा, कृषि र साहित्य विधामा योगदान पुरयाएका व्यक्तित्वलाई सम्मान गरेको हो ।
सम्मान हुनेमा कृषि क्षेत्रबाट भीरकोटका कृष्ण अधिकारी, शिक्षा क्षेत्रबाट आँधीखोला गाउँपालिकाका पीताम्बर शर्मा, छोरेडाडा कामधेनु गौशाला निर्माण गरेका भीरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाललाई समाजसेवा र पुतलीबजार नगरपालिका घर भएका विश्वप्रेम अधिकारीलाई साहित्य क्षेत्रबाट सम्मान गरिएको हो ।
सम्मानित चार जनालाई गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । सम्मानित व्यक्तित्वहरूको छनोट दिलबहादुर क्षेत्री संयोजक रहेको तीन सदस्यीय पुरस्कार छनोट समितिले गरेको हो । समितिले विभिन्न मापदण्डका आधारमा चारै विधाका व्यक्तित्व छनोट गरेको जनाएको छ ।
भीरकोट–८ तारुक घर भई पोखरा –१७, यज्ञशाला मार्गमा बसोवास गर्दै आएका कृष्णप्रसाद रेग्मीले श्रीमतीको सम्झनामा भीरकोट पोखरा सामीप्य सदनमार्फत संचालन गर्ने गरी ५० लाखको मुना–कृष्ण अक्षयकोषको स्थापना गरेका थिए ।
कार्यक्रममा सदनका अध्यक्ष श्यामप्रसाद रेग्मीले संस्थाको स्थापना उद्देश्य, गतिविधि तथा भविष्यका योजनाबारे जानकारी गराएका थिए । उनले भीरकोटसँग जोडिएका प्रतिभा र योगदानकर्तालाई पहिचान गर्दै सम्मान गर्ने अभियान निरन्तर रहने बताए ।
